Logo

एसिड आक्रमण पीडितको उपचार, शिक्षा र जीविका सरकारले जिम्मा लिने



काठमाडौँ, २६ भाद्र। प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणबाट पीडित सम्पूर्णको उपचार, शिक्षा र जीविकाको प्रबन्ध सरकारले गर्ने घोषणा गर्नुभएको छ । एसिड आक्रमणबाट पीडितहरूसँग सरकारका विभिन्न सरोकारवाला मन्त्रालयका मन्त्री र प्रतिनिधिहरू समेतको उपस्थितिमा गरिएको परामर्शका क्रममा प्रधानमन्त्री ओलीले सम्बन्धित निकायलाई त्यसको व्यवस्थापनको निर्देशनसमेत दिनुभएको हो ।

घटना घटेको अवस्थादेखि सम्पूर्ण उपचार खर्च, नियमित औषधि खर्च, पढ्ने उमेर रहेका र पढ्न चाहने जुनसुकै उमेरकाको पढाइ खर्च तथा व्यवसाय तथा रोजगारीका लागि सरकारले जिम्मा लिने प्रधानमन्त्रीले घोषणा गर्नुभएको थियो । गृहमन्त्री रामबहादुर थापा, कानुन मन्त्री शिवमाया तुम्बाहाङफे, महान्यायाधिवक्ता अग्नि खरेल, शिक्षा, स्वास्थ्य, उद्योग र अर्थ मन्त्रालयका सचिवसमेतको उपस्थितिमा भएको उक्त अन्तरक्रियामा सम्बन्धित मन्त्रालय र निकायहरूलाई आ–आफ्नो कार्यक्षेत्रको जिम्मेवारी पूरा गर्न प्रधानमन्त्रीले निर्देशनसमेत दिनुभएको थियो ।

प्रधानमन्त्रीको घोषणा अनुसार एसिड आक्रमणबाट पीडितहरूको कानुनी उपचारका लागि अध्यादेश ल्याउने, स्वास्थ्योपचारका लागि राजधानीको त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुरस्थित बोन अस्पताललाई डेडिकेटेड युनिट स्थापना गरिने छ । प्रधानमन्त्री ओलीले एसिड प्रहार गर्नेको तत्काल सम्पत्ति रोक्का गरी क्षतिपूर्ति भराउने कानुनी प्रबन्ध गर्ने बताउनुभयो ।

अपराधीबाट क्षतिपूर्ति भराउने, जरिवाना असुल गराउने र उनीहरूलाई जेल सजाय गराउने उपयुक्त प्रबन्धको तयारी भइरहेको जानकारी प्रधानमन्त्रीले दिनुभयो । ‘एसिड आक्रमण गर्नेबाट भराइएको जरिवानालाई राजश्वमा दाखिला नगरी सीधै पीडितलाई भराउने र अपराधीलाई उम्किन नदिन तत्काल उसको सम्पत्ति रोक्का गर्ने कानुनी प्रबन्ध गर्नु आवश्यक छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एसिड आक्रमणबाट मानिसमा शारीरिक चोटपटक मात्रै लाग्दैन, यसले मनोवैज्ञानिक, सामाजिक, शारीरिकलगायत बहुपक्षीय दुष्प्रभाव पार्छ । त्यसको समेत उपचार गर्ने प्रबन्ध गर्नुपर्छ ।’

राज्यका अपराध अनुसन्धान, स्वास्थ्य, शिक्षा, रोजगारीसम्बन्धी निकायका प्रमुखहरूलाई समेत राखेर निर्देशन दिएपछि यससम्बन्धी थप व्यवस्था मन्त्रिपरिषद्को आगामी बैठकले गर्ने प्रधानमन्त्री ओलीले बताउनुभयो । उहाँले भदौ २५ लाई एसिड आक्रमणविरुद्धको जागरण दिवसका रुपमा मनाउने र सम्भव रहेसम्म सेप्टेम्बर १० लाई एसिड आक्रमणविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा प्रस्ताव अघि बढाउने समेत बताउनुभएको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्