Logo

बैतडीका तीन स्थानमा सशस्त्रको बीओपी स्थापना



बैतडी,२६ भाद्र । भारतसँग सीमा जोडिएका यहाँका शिवनाथ गाउँपालिका–१ स्थित कुस्मौत घाटमा आज सशस्त्र प्रहरीको सीमा निगरानी चौकी बिओपी स्थापना गरिएको छ । सीमा क्षेत्रमा सशस्त्र प्रहरी खटाउने नेपाल सरकारको नीतिअनुसार बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५१ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक गणेश शाहले जानकारी दिनुभयो ।

योसँगै बैतडीमा भारतसँग सीमा जोडिएका तीन स्थानमा सशस्त्र प्रहरीका बीओपी स्थापना भएका छन् । पञ्चेश्वर गाउँपालिकाको रोलघाट र सीमा नाका झुलाघाटमा सशस्त्र प्रहरीको बीओपी यसअघि नै स्थापना भईसकेका छन् । कुस्मौत घाटमा आज बिओपीको उद्घाटन गर्दै सशस्त्र प्रहरी बलको ७ नम्बर बाहिनीका बाहिनीपति हरिशंकर बुढाथोकीले सीमा क्षेत्रमा सशस्त्र प्रहरीको उपस्थितले सीमा सुरक्षा, अपराध न्यूनिकरणलगायतका कुरामा सहयोग पुग्ने बताउनुभयो ।

जिल्लामा भारतसँग जोडिएको ६१ किलोमिटर सीमामा अहिले तीन ठाउँमा सशस्त्र प्रहरीको उपस्थिती भइसकेको सशस्त्र प्रहरी नायब उपरीक्षक शाहले बताउनुभयो । चालु आवभित्रै जिल्लाका अन्य तीन स्थानमा पनि बिओपी स्थापनाको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । पञ्चेश्वरको विनायक घाट र धर्मघाट तथा दशरथचन्द नगरपालिकाको बाराकोटमा सशस्त्र प्रहरीको बिओपी स्थापना गरिने उहाँले बताउनुभएको खबर आजको समाचार पत्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्