Logo

रिपोर्ट थाहा पाउन सोर्सफोर्स,रिपोर्ट ढिलो आउँदा झनै जोखिम बढ्यो



विराटनगर, भदौ २६ ।
घटना १

भदौ १३ मा विराटनगरको न्युरो अस्पतालले उपचारका क्रममा मृत्यु भएका पुरुषको शव परिवार र आफन्तलाई बुझाइसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आयो। मोरङको पथरी शनिश्चरे नगरपालिका–२ का ६२ वर्षीय वृद्धको शव आफन्तले दाहसंस्कार गर्न लैजाँदै गर्दा रिपोर्ट आएको हो।

त्यतिबेला आफन्तले शव मोरङको कानेपोखरी पुर्‍याइसकेका थिए। तर, रिपोर्ट पोजेटिभ आएपछि प्रहरीले शवलाई कानेपोखरीमै रोकेर नेपाली सेनाको ‘बडी’ व्यवस्थापन टोलीलाई जिम्मा लगायो।

घटना २

यही भदौ ६ मा मोरङको विराटनगर महानगरपालिका–६ सरोचियाका ४५ वर्षीय एक पुरुषको राति मृत्यु भयो।

एम्बुलेन्सबाट ओराल्दै गर्दा चिकित्सकले मृत घोषणा गरेका थिए। आफन्तले ती पुरुषको शव घरमा ल्याए। तर, उनमा कोरोना संक्रमण भएको दाहसंस्कार गर्न घाट लैजाने बेलामा मात्रै थाहा भयो। त्यसपछि नेपाली सेनाको टोली आएर शव लिएर गयो।

घटना ३

भदौ २० मा मोरङका एक पुरुषको दाहसंस्कार गरिसकेपछि कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आयो।

माथि उल्लेख गरिएका प्रतिनिधि घटना मात्रै हुन्। कोरोना भाइरसको पीसीआर परीक्षणको रिपोर्ट ढिला आउँदा प्रदेश १ मा समस्या झनै जटिल बन्न थालेको छ। कोरोना संक्रमण बढ्दै गर्दा लक्षण देखिएका वा सम्पर्कमा भएकाको मात्रै होइन मृत्यु भएकाहरूको पनि समयमा पीसीआर रिपोर्ट आउँदैन। जसले संक्रमणको जोखिम झनै बढाएको छ।

परीक्षणको रिपोर्ट व्यक्तिले समयमा पाउँदैनन्। ‘परीक्षण गराएको पाँच दिनमा पनि रिपोर्ट आएन, छैटौं दिनमा सोर्स फोर्स लगाएर मात्रै बल्ल रिपोर्ट थाहा भयो’ विराटनगर १ की सुनम लिम्बूले भनिन् ‘धन्न रिपोर्ट नेगेटिभ आएछ, पोजेटिभ आएको भए कतिलाई सरिसक्ने थियो।’ प्रदेश १ का तीन स्थानमा कोरोनाको पीसीआर परीक्षण हुन्छ। कोसी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र झापाको मेची अस्पतालमा पीसीआर परीक्षण भए पनि यसको जानकारी सामाजिक विकास मन्त्रालय हुँदै स्थानीय तह र सम्बन्धित स्वास्थ्य कार्यालयलाई दिने गरिन्छ। अन्नपूर्ण पोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्