Logo

नेकपा स्थायी कमिटी बैठक, प्रचण्डको कुर्सी ‘सेन्टरमा’



काठमाडौं, २६ भदौ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक जारी छ । बैठकमा आज अध्यक्षद्ध केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेको प्रतिवेदनमा केन्द्रित रहेर छलफल चलिरहेको छ। झण्डै डेढ महिनापछि सुरु भएको बैठकमा अध्यक्ष  दाहाल बस्ने कुर्सी सेन्टरमा राखिएको छ। दाहाल बीचमा देखिन्छन् । र, दाहालको दाया प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र बायाँ वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल देखिएका छन् । र, छेउ-छेउमा झलनाथ खनाल र वामदेव गौतम बसेका छन् ।

नेकपा स्थायी कमिटी बैठकमा केही बेर बोलेर अध्यक्ष ओली निस्किए

संसदको यो कार्यकालभरि ओली नै प्रधानमन्त्री रहने र दाहालले कार्यकारी अध्यक्षको हैसियतले पार्टी सञ्चालन गर्ने भन्ने सहमति भएपछि नेकपाभित्रको आन्तरिक विवाद साम्य भएको छ। आजको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओली एकछिन बसेर बाहिरिएका छन् । बैठकको अध्यक्षता गरेका दाहालले नै बैठक सञ्चालन गरिरहेका छन् । बैठक धेरै नलम्ब्याउने अध्यक्षद्धय ओली–दाहालबीच सहमति छ ।

बैठकमा अध्यक्षद्वयले पार्टीको समस्या समाधान सुझाव कार्यदलले प्रस्तुत गरेको सुझाव प्रतिवेदनलाई सुधार गरी प्रस्तुत गरेका छन् । १३ साउनमा स्थगित भई आजका लागि डाकिएको बैठकमा १५ वटा बुँदागत एजेन्डामा छलफल हुने भएको छ । जसमा पार्टीमा कार्यविभाजन देखि एमसीसीसम्मका विषय छन् ।

बैठकमा पार्टीको पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट गर्ने, पार्टी एकताको बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा संगठनात्मक क्षेत्र, एकताको राष्ट्रिय अधिवेशन, सरकारको कामका सम्बन्धमा, संसदीय दलको भुमिकालाई प्रभावकारी बनाउने, प्रदेश सरकार र स्थानीय निकायको भूमिका प्रभावकारी बनाउने, नेपालको सीमा समस्या र समाधान, कोभिड-१९ को महामारीको राकथाम, प्राकृतिक प्रकोप, शान्ति प्रक्रियाको बाँकी काम, प्रतिष्ठानहरुको व्यवस्थापन र एमसीसीबारे छलफल हुने भएको छ । तस्विर : सूर्य थापा/प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार

 



प्रतिक्रिया दिनुहोस्