Logo

पत्रकार वीरेन्द्र साहको अपहरण तथा हत्यामा संलग्न १३ वर्षपछि पक्राउ



बारा, २६ भाद्र । अपहरण तथा हत्यामा संलग्न अभियुक्त हरेराम प्रसाद कुर्मी १३ वर्षपछि पक्राउ परेका छन् । अपहरण तथा हत्यामा संलग्न रही १३ वर्षदेखि फरार अभियुक्त महागढीमाई नगरपालिकाका कुर्मीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

२०६४ असोज १८ गते बारा साबिक उम्जन गाविस अन्तर्गत पिप्रा बसतपुरबाट साबिक इनर्वासिरा गाबिसका पत्रकार बीरेन्द्र साहलाई निज कुर्मी, कुन्दन फौजदार भन्ने नरेन्द्र कुमार फौजदार, राम एकवाल सहनी र मनेजर गिरी समेतका ५ जनाले अपरहण गरी गोली हानी हत्या गरेपछि साबिक डुमरवाना गाविस स्थित जंगलमा खाल्डो खनेर गाडेको शव २०६४ कात्तिक २२ गते फेला परेको कर्तव्य ज्यान मुद्दाको घटनामा संलग्न रहेका कुर्मी हालसम्म फरार रहेका थिए ।

पत्रकार साहको अपहरण तथा हत्यामा संलग्न मुख्य अभियुक्त कुर्मी विभिन्न स्थानमा लुकिछिपी बसेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले कुर्मीलाई कोल्हवी नगरपालिका सपही टोलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ ।

जिल्ला अदालत बाराको २०६८ जेठ १६ गते, पुनरावेदन अदालत हेटौंडाको २०६९ साउन १६ गते र सर्वोच्च अदालतको २०७३ पुस २० गतेको फैसलाले अभियुक्त हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मीको हकमा फरार करार गरी मुद्दा मुल्तबिमा रहेको थियो । कुर्मीलाई आवश्यक अनुसन्धान प्रकृया पु¥याई बारा जिल्ला अदालतमा पेश गरिने जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

साथै घटनामा संलग्न बारा साबिक ईनर्वासिरा गाबिस बस्ने प्रतिवादी मनेजर गिरीलाई २०६५ असोज १९ गते र साबिक खोपवा गाबिस प्रतिवादी राम एकवाल सहनीलाई २०६५ पुस २१ गते पक्राउ गरी अनुसन्धान पश्चात अदालतमा पेश गरिएकोमा उनीहरूलाई सर्वस्वसहित जन्म कैद फैसला भएको थियो ।

यसैगरी बारा साबिक गडहल गाबिस बस्ने कुन्दन कुमार फौजदार भन्ने नरेन्द्र फौजदार २०७६ फागुन २५ गते पक्राउ गरी जिल्ला अदालत बारामा पेश गरिएकोमा फागुन २९ गते पुर्पक्षको लागि कारागार चलान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्