Logo

नेकपा कमजोर बनाउने असफलः प्रम,एकताको नयाँ ढोका खुल्योः प्रचण्ड



काठमाडौं, २७ भाद्र । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष केपी शर्मा ओलीले पार्टी असफल भएको हेर्न चाहने तत्वमाथि पार्टीले सफलता प्राप्त गरेको बताउनुभएको छ । नेकपा स्थायी कमिटी बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो । “बैठकले पार्टीको एकतालाई झन मजबुत बनाएको छ, यो सुदृढ एकताले हामीलाई असफल भएको हेर्न चाहने तत्वमाथि हामीले सफलता हासिल गरेका छौं” प्रधानमन्त्री ओलीले बैठकमा भन्नुभयो ।

पार्टीभित्र विगतमा केही असमझदारी र असहमति भएपनि अब पार्टीको कामलाई सुदृढ एकतासाथ अगाडि बढाउने उहाँले संकल्प गर्नुभयो । “देशी विदेशी शक्तिले हाम्रो पार्टी कमजोर भएको हेर्न चाहेका थिए, हाम्रो एकता र संगठित प्रयासले त्यसलाई असफल बनाउन सफल भएका छौं” प्रधानमन्त्री ओलीले बैठकमा भन्नुभएको पार्टी प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिनुभयो । पार्टीको एकता नयाँ उचाइमा पुगेको भन्दै उहाँले बाँकी एकता प्रक्रियालाई चाँडै टुङ्ग्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यसैगरी अर्का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्रको आन्तरिक असहमतिलाई सहमतिमा बदलेर ठूलो दुर्घटनाबाट पार्टी जोगिएको बताउनुभयो । ठूलो पार्टीभित्र आन्तरिक वैचारिक वहस हुनु सकारात्मक रहेको भन्दै अध्यक्ष प्रचण्डले त्यही वैचारिक वहसबाटै पार्टीलाई नयाँ शिरामा रुपान्तरण गर्न सघाउ पुगेको बताउनुभयो । “अध्यक्षद्वयको प्रस्तावलाई स्थायी कमिटी बैठकले सर्वसम्मत पारित गरेर एकताको नयाँ ढोका खोलेको छ, विगतको उतारचढावबाट शिक्षा लिंदै अब अघि बढ्नुपर्छ” अध्यक्ष प्रचण्डले बैठकमा भन्नुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

पार्टीले गरेको निर्णयअनुसार आगामी एकता महाधिवेशनलाई सफल पार्ने प्रतिवद्धता उहाँले गर्नुभयो । स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले पार्टी भित्रको आन्तरिक द्वन्द्व समाप्त भएको बताउनुभयो । “दुई अध्यक्षबीच जुन विमति थियो, त्यो छलफलबाटै सर्वसहमतिले निर्णय भयो, अब पार्टीमा कुनै विमति बाँकी छैन” उहाँले भन्नुभयो । उहाँकाअनुसार मिलिनियम च्यालेन्ज कर्पोरेशन एमसीसी परिमार्जनसहित अनुमोदन गर्ने निर्णय भएको छ । प्रतिनिधिसभामा विचाराधिन रहेको सो सम्बन्धी विधेयक आगामी दिनमा पारित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनाल संयोजकत्वको कार्यदलले दिएको प्रतिवेदनलाई आधार मान्दै परिमार्जन हुने उहाँले जानकारी दिनुभयो । एमसीसी कार्यदलमा नेता खनाल, भीमबहादुर रावल र प्रदीप कुमार ज्ञवाली सदस्य रहनुभएको कार्यदलले पार्टीलाई यसअघि नै प्रतिवेदन बुझाईसकेको छ । एमसीसीलाई परिमार्जन गरी नेपालको हितमा हुनेगरी अनुमोदन गर्नुपर्ने सुझाव कार्यदलले दिएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot