काठमाडौं, भदौ २७ । सङ्घीय संसदको शिक्षा तथा स्वास्थ्य उपसमितिले कोरोना अस्पतालको अनुगमन गरेको छ ।
संसदीय उपसमितिका संयोजक जीवनराम श्रेष्ठ नेतृत्वको टोलीले शुक्रबार साँझ चन्द्रागिरि नगरपालिकामा रहेको मनमोहन अस्पताल दहचोक र सशस्त्र प्रहरी अस्पताल सतुङ्गलको अनुगमन गरेको हो ।
उक्त उपसमितिले कोभिड उपचार केन्द्रको अवस्था, आइसोलेसन सेन्टर, बिरामीको स्वास्थ्य अवस्था, खानपान, सरसफाईको बारेमा जानकारी लिएको नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए।
मनमोहनमा १४० र सशस्त्रमा २०० सङ्क्रमितको उपचार भइरहेको नगरपालिकाले जनाएको छ जसमध्ये आठजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । अनुगमनका क्रममा उपसमितिका संयोजक श्रेष्ठले कोरोना सङ्क्रमित बिरामीको हेरचाह तथा सेवा सरकारले तोकेको मापदण्डअनुसार हुनुपर्ने बताए।
चन्द्रागिरीमा शुक्रबारसम्म २२७ जना कोरोना सङ्क्रमित भेटिएकामा ८८ जना डिस्चार्ज भएर घर गईसकेका छन् । यस्तै, ५२ जनाको विभिन्न अस्पतालको आइसोलेसनमा उपचार भइरहेको र ८५ जनाको होम आइसोलेसनमा उपचार भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख डा सुदा महर्जनले बताए । चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमणका कारण दुईजनाको ज्यान गएको छ । रासस