Logo

बाढीपहिरो पीडितलाई सहयोग



गण्डकी, २७ भदौ: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस कास्कीले रुपा गाउँपालिका– ६ बराहथोकका बाढीपहिरा प्रभावित परिवारलाई नगद सहयोग गरेको छ । पहिरोले घर पुरिएर मृत्यु भएकी २० वर्षीया सिर्जना विकको परिवारलाई २८ हजार ३ सय र पहिरोबाट विस्थापित माया सुनार र हरिराम विकको परिवारलाई दुई-दुई हजार नगद सहित खाद्यान्न सहयोग गरिएको नेका कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए । नेका कास्कीका सभापति कृष्ण केसी, पूर्वसभापति एवम् पूर्व मन्त्री यज्ञबहादुर थापसहितको टोलीले सहयोग रकम तथा खाद्यान्न बाढी प्रभावितलाई हस्तान्तरण गरे ।

यही भदौ २३ गते बिहानपख घरमाथिको पहिरोले घर पुरिदा काजि विककी छोरी सिर्जनाको मृत्यु भएको थियो भने दुई घर परिवार विस्थापित भएका थिए । कार्यक्रममा पूर्व मन्त्री थापाले प्रतिपक्षमा रहेर काँग्रेसले जनताप्रति निर्वाह गर्नुपर्ने भूमिकाबाट कहिल्यै विमुख नहुने बताए । नेका जिल्ला सभापति केसीले पीडित परिवारको सुरक्षित बसोबासको व्यवस्थापनका लागि पार्टीका तर्फबाट सरकारसँग समन्वय गर्ने जानकारी दिए ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्