Logo

नेकपा स्थायी कमिटी बैठक एकता महाधिवेशन चैतमा



काठमाडौँ, २८ भाद्र । नेपाल कम्युनिस्ट पार्टी नेकपा को एकता महाधिवेशन आगामी चैत २५ देखि ३० गतेसम्म काठमाडौँमा हुने निर्णय भएको छ । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी बीच दुुई वर्षअघि एकता भएपछि एकता महाधिवेशन हुन लागेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार सम्पन्न नेकपा स्थायी कमिटीको बैठकले पार्टीको एकता महाधिवेशन चैतमा गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यसैगरी बैठकले एकता महाधिवेशनका लागि आवश्यक तयारी गर्न आगामी कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक पनि बोलाएको छ । बैठकमा महाधिवेशन आयोजना गर्न दस्तावेज मस्यौदा कमिटी, मूल व्यवस्थापन कमिटी लगायत अन्य आवश्यक संरचना, प्रतिनिधि छनोट विधि र कार्यतालिका लगायत समग्र कार्ययोजना प्रस्तुत गरिनेछ ।

सदस्यता नवीकरण मङ्सिरभित्र
पार्टी सङ्गठन विभागको कार्ययोजनामा आगामी कात्तिक महिनाभित्र सम्बन्धित जिल्ला कमिटीले पार्टीको सङ्गठित सदस्यता विवरण अद्यावधिक गरी प्रदेश हुँदै केन्द्रीय सङ्गठन विभागमा पठाउने र मङ्सिर महिनाभित्र सङ्गठित सदस्यता नवीकरण सम्पन्न गर्ने पनि बैठकले निर्णय गरेको छ । महाधिवेशनको तयारी बारेमा सङ्गठन विभागको बैठक भदौ २८ गते बस्ने छ ।
पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबारको बैठकमा १५ बुँदे प्रस्ताव स्थायी कमिटीको बैठकमा प्रस्तुत गर्नुभएको थियो । सो प्रस्ताव भदौ २४ गते नै स्थायी कमिटीका सदस्यलाई अध्ययन गर्न उपलब्ध गराइएको थियो ।

बैठकको सुरुमा नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले पार्टीभित्रको समस्या र अन्तरविरोधलाई पूर्ण रूपमा समाधान गरेको र पार्टी एकतालाई नयाँ उचाइमा पु¥याएको विचार व्यक्त गर्नुभएको थियो । देशी तथा विदेशी शक्तिले पार्टीलाई कमजोर बनाउन र तोडफोड गराउन जे अपेक्षा गरेका थिए त्यो असफल भएको भनाइ प्रधानमन्त्रीले राख्नुभएको जानकारी प्रवक्ता श्रेष्ठले दिनुभयो ।

त्यस्तै अर्का अध्यक्ष प्रचण्डले पार्टीलाई दुर्घटनाबाट बचाएर एकताको रक्षा गरी विचारको बहस गर्दै वैचारिक रूपमा रूपान्तरण गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीलाई साङ्गठनिक रूपमा अझ बढी बलियो बनाउने काम यो बैठकले गरेको धारणा राख्नुभयो । पार्टीलाई अझै बढी सुदृढ गर्न एकता महाधिवेशनमा बहसको प्रक्रिया उन्नत ढङ्गले अगाडि बढाएर महाधिवेशन सफल बनाउन सबैसँग आह्वान पनि अध्यक्ष प्रचण्डले गर्नुभयो । यो समाचार आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्