Logo

सभामुख सापकोटा पहिरो प्रभावित भेट्न सिन्धुपाल्चोकमा, गरे यस्तो प्रतिबद्धता



काठमाडौं, २८ भदौं । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिकाको वडा नं ७ स्थित नागपुजे, भीरखर्क र नेवार टोलमा गएरातीको भीषण पहिरोको स्थगलत अवलोकन गरेका छन् । पहिरोले ठूलो मानवीय एवम् भौतिक क्षति पुगेको छ । सभामुख सापकोटाले पहिरोले क्षति पुर्याएको स्थानहरुको स्थलगत रुपमा जानकारी लिनुको साथै स्थानीय पहिरो पीडितरप्रभावितहरुसँग छलफल समेत गरेको उनको सचिवालयले जनाएको छ ।

सभामुख सापकोटाले जिल्लामा पछिल्लो समय प्राकृतिक विपत्तिहरु बढिरहेको उल्लेख गर्दै जोखिमयुक्त सूचिकृत नभएका बस्तीहरुमा समेत पहिरो जानुले थप चिन्तित तुल्याएको बताए । सभामुख सापकोटाले तत्काल उद्धार, राहत, अस्थायी स्थानान्तरणमा ध्यान दिइने जानकारी दिंदै स्थायी स्थानान्तरणका लागि सिन्धुपाल्चोकका भूगोलको विस्तृत भौगर्भिक अध्ययन गरिने बताए ।

उनले जिल्लामा परेको विपत्तिका विषयमा विज्ञहरुसँग छलफल गरेर स्थानीयलाई सुरक्षित रुपमा बस्ने व्यबस्था गरिने प्रतिवद्धता व्यक्त गरे । सभामुुख सापकोटाले पहिरो पीडितरप्रभावितहरुको सुरक्षित बसोबासका लागि आफ्नो तर्फबाट सबै पहल गर्ने बताए ।

सभामुख सापकोटाले आजै बाढी पहिरोले क्षतिग्रस्त अरनिको राजमार्गको बाह्रविसे देखि चीनसँगको सीमानाका लिपिङसम्मको स्थलगत अवलोकन गरेको र सो अवसरमा उनले अरनीको राजमार्ग व्यबस्थित गर्ने र तातोपानी नाका सुचारु गर्ने विषयमा आफूले पहल गर्ने पनि विश्वास दिलाएका थिए ।

यसैबीच सभामुख सापकोटाले भीरखर्क, नागपुजे र नेवारटोलका पहिरोमा परेर ज्यान गुमाएहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पहिरोमा परि ज्यान गुमाएका शोक सन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

पहिरोमा परि घाइते भएका ६ जनाको उद्धार गरी उपचारका लागि पठाइएको छ । आज साँझ सम्म ११ जनाको शव निकालिएको छ भने २० जना अझै बेपत्ता रहेका छन् । पहिरोका कारण भीरखर्कका ४, नाकपुजेका ११ र नेवार टोलका ७ गरी २२ घर पूर्णरुपमा क्षति भएको छ । १७ घर जोखिममा रहेका छन् । तस्विर : श्रीधर न्यौपाने/प्रेस विज्ञ

 



प्रतिक्रिया दिनुहोस्