Logo

निषेधाज्ञा खुलेसँगै सर्वोच्चको सेवाप्रवाह सुरु



काठमाडौं, भदौ २९ । सर्वोच्च अदालतले एक महिनापछि सेवाप्रवाह सुरु गरेको छ । एक महिनादेखिको निषेधाज्ञाका कारण कटौती गर्दै आएको नियमित सुनुवाइ आइतबारबाट सुरु गरेको छ ।

यसअघि निषेधाज्ञामा बन्दीप्रत्यक्षीकरण रिटमा मात्रै सुनुवाइ हुँदै आएकामा आइतबारबाट सबै प्रकृतिका मुद्दाको सुनुवाइ सुरु भएको हो ।

सर्वोच्चले सेवाप्रवाह सुरु गरेसँगै आइतबार ११ वटा न्यायाधीशका लागि ६ वटा इजलास तोकेर सुनुवाइ सुरु गरेको छ । १ सय २ वटा पेसी तोकेकामा १३ वटा मुद्दामा फैसला गरेको छ भने २३ वटा मुद्दा हेर्न नभ्याउने र २३ वटा स्थगित सूचीमा राखेको छ ।

सर्वोच्चले १५ साउन २०७७ मा अदालतको बृहत् पूर्ण इजलासबाट भएको आदेशले प्रदान गरेको सुविधामा अन्यथा असर नपर्ने गरी आइतबारदेखि अदालतमा सबै प्रकृतिका रिट निवेदन, पुनरावेदन, निवेदनको दर्ता, रिट निवेदन तथा अन्य निवेदनको प्रारम्भिक सुनुवाइ सुरु भएको हो ।

अन्तरिम आदेशसम्बन्धी छलफल, थुनुवा तथा नेपाल सरकारका तर्फबाट पर्न आएका पुनरावेदनको सुनुवाइ, मुलुकी फौजदारी ९कार्यविधि० संहिता, २०७४ को दफा ७३ नं।अन्तर्गत परेका निवेदन पनि सुनुवाइ सुरु गरेको छ ।

गत २ भदौदेखि उपत्यकाका तीन वटा जिल्ला प्रशासनले निषेधाज्ञा लगाएपछि अदालतले बन्दी प्रत्यक्षीकरण रिट र थुनछेक आदेशबाहेक अन्य नियमित सुुनुवाइ स्थगन गरेको थियो ।

कोरोना भाइरसको जोखिम बढेसँगै सर्वोच्चले ७ चैत २०७६ देखि नै नियमित सेवाप्रवाह कटौती गर्दै आएको थियो । लकडाउनसँगै सर्वोच्चसहित देशभरका अदालतको सेवाप्रवाहमा संकुचन आएको आजको राजधानी दैनिकले खवर छापेको छ ।



प्रतिक्रिया दिनुहोस्