Logo

मोरङका दुई संक्रमितको बीपी प्रतिष्ठानमा मृत्यु



विराटनगर, २९ भाद्र । कोरोना भाइरस संक्रमित एक वृद्धसहित मोरङका दुई जना पुरुषको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ। मृतकमध्ये वृद्ध विराटनगर र अर्का पुरुष धनपालथानका हुन्।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार मोरङको धनपालथान गाउँपालिका–६ का ४० वर्षीय पुरुषको आइतबार राति ८:४५ बजे मृत्यु भएको हो। मृतकमा दीर्घ रोगको कुनै समस्या नदेखिएको जानकारी उनले दिए। उपचारका लागि प्रतिष्ठान लगिएका मृतकको स्वाब संकलन गरेर प्रतिष्ठानकै ल्याबमा परीक्षण गराउँदा भदौ २६ गते संक्रमण पुष्टि भएको थियो। अर्थो अवजरवेसन वार्डमा राखेर उपचार गराइरहेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि त्यही रात प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।

त्यस्तै विराटनगर महानगरपालिका–१२ का ७० वर्षीय वृद्ध पुरुषको पनि उपचारका क्रममा प्रतिष्ठानमै आइतबार दिउँसो २ बजे मृत्यु भएको छ। प्रदेश १ को प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गराउँदा भदौ १६ गते वृद्धको रिपोर्ट पोजिटिभ आएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि विराटनगरको म्याक्स अस्पतालमा उपचाररत उनलाई थप उपचारका लागि धरानस्थित प्रतिष्ठान पठाइएको थियो। ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासमा गाह्रो हुने लगायतका समस्या देखिएपछि उनलाई सुरुमा उपचारका लागि म्याक्स अस्पतालमा भर्ना गरिएको थियो।

वृद्धको मृत्युसँगै विराटनगर महानगरपालिका ठेगाना भएका १८ जना कोरोना संक्रमितले ज्यान गुमाइसकेका छन्। प्रदेश १ मा हालसम्म ४९ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा १३ जना महिला र ३६ जना पुरुष रहेका समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्