Logo

कोरोना बीमाको मापदण्ड परिवर्तन



काठमाडौं, भदौ ३० । बीमा समितिले निजी प्रयोगशालाका पीसीआर परीक्षणलाई पनि मान्यता दिने गरी ‘कोरोना बीमा मापदण्ड, २०७७’ को संशोधन गरेको छ । समितिले सोमवारदेखि लागू हुने गरी उक्त मापदण्ड संशोधन गरेको हो ।

निजी प्रयोगशालाको रिपोर्टका आधारमा कोरोना बीमाको दाबी भुक्तानी दिन नमिल्ने बीमा समितिको निर्देशनको व्यापक आलोचना भएपछि समिति मापदण्ड संशोधन गर्न बाध्य भएको हो ।

पछिल्लो समय कोरोना बीमामा विवाद उत्पन्न भएपछि समितिले मापदण्ड संशोधन गर्न गत साता कार्यकारी निर्देशक राजुरमण पौडेल संयोजकत्वको कार्यदल बनाएको थियो । सोही कार्यदलले दिएको सुझावका आधारमा नै कोरोना बीमाको मापदण्ड संशोधन गरिएको हो ।

संशोधित मापदण्डअनुसार बीमितले निजी प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भए पनि बीमा दाबी पाउने समितिको भनाइ छ । यो व्यवस्था हालसम्म बीमा गरेका र अब बीमा गर्ने सबैलाई लागू हुनेछ । आइतवारसम्मका बीमितले पुरानै मापदण्डअनुसार दाबी भुक्तानी पाउने तर सोमवारदेखि बीमा गर्नेहरूका लागि नयाँ मापदण्ड लागू हुने समितिको भनाइ छ ।

संशोधनअघिको मापदण्डमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको निकायमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएमा मात्र दाबी दिने उल्लेख गरिएको थियो । यही आधारमा बीमा समिति र बीमा कम्पनीहरूले निजी प्रयोगशाला मन्त्रालयअन्तर्गतको निकाय नभएको भन्दै दाबी भुक्तानी रोकेका थिए ।

निजी प्रयोगशालाको परीक्षणका आधारमा दाबी भुक्तानी दिने नयाँ मापदण्ड बनाए पनि दाबीबापत दिने रकम भने समितिले घटाएको छ । पहिले बीमित व्यक्ति कोरोना संक्रमित पुष्टि भए मात्र पनि बीमांक रकम बराबरको दाबी पाउने थिए । तर, अब बीमा गर्ने व्यक्तिले त्यो बराबरको दाबी रकम पाउँदैनन् । नयाँ बीमा गर्ने व्यक्ति संक्रमित प्रमाणित भए क्षतिपूर्ति स्वरूप बीमांकको २५ प्रतिशत अर्थात् २५ हजार रुपैयाँ मात्र पाउनेछन् ।

पुरानो मापदण्डमा अस्पताल भर्ना हुनु परेमा वा आइसोलेशन सेन्टरमा बस्नु परेमा भने खर्चको बिल पेश गरेपछि त्यसका आधारमा बीमांकको ७५ प्रतिशतसम्म अर्थात् ७५ हजार रुपैयाँसम्म दाबी भुक्तानी गरिनेछ । पुरानो मापदण्डमा कोरोना संक्रमण पुष्टि भए बीमांकको शतप्रतिशत दाबी भुक्तानी हुने व्यवस्था थियो । त्यसलाई संशोधन गरेर २५ र ७५ प्रतिशत बनाइएको हो ।

पहिला प्रतिव्यक्ति रू। ५० हजार र रू। १ लाखका दरले बीमा गर्न मिल्ने व्यवस्था थियो । तर, अब भने रू। १ लाखको नै बीमा गर्नुपर्ने व्यवस्था गरिएको छ । तर, आइतवारसम्म बीमा गरेको व्यक्तिलाई भने पुरानै व्यवस्थाअनुसार बीमांकको शतप्रतिशत नै भुक्तानी गरिने आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्