Logo

१५ वर्षको उमेरमा पहिलो र २२ वर्षमा चार सन्तान



विराटनगर, भदौ ३० । मोरङ जहदाकी मञ्झा रिसिदेवको १४ वर्षको उमेरमा विवाह भयो। १५ वर्षको उमेरमा जन्मिएको पहिलो छोरा अहिले ८ वर्षको भयो। विवाह के हो भन्ने नबुझी घरजम गरेकी मञ्झाको २२ वर्षकै उमेरमा चार सन्तान भए।

सोही स्थानकी २० वर्षीया मिनिया रिसिदेवका पनि तीन छोराछोरी छन्। ७ वर्षअघि मोरङको लक्ष्मीना माइती भएकी उनको जाहदा–३ का वसन्ता रिसिदेवसँग १३ वर्षको उमेरमा मागी विवाह भएको थियो।

किशोरी उमेरमै विवाह गरेर आमा भएका मञ्झा र मिनिया प्रतिनिधि उदाहरण मात्रै हुन्। मोरङको ग्रामीण क्षेत्रमा बस्ने दलित समुदायसँगै अन्य सीमान्तकृत समुदायका बालिकाको अझै पनि कलिलै उमेरमा विवाह हुन्छ। कानुनतः विवाह गर्ने उमेरमा उनीहरू आमा बनिसकेका हुन्छन्।

आफ्नो विवाह किशोरी अवस्थामै भएको मञ्झालाई भर्खरै मात्र थाहा हुँदैछ। ‘पढ्दापढ्दै विवाह भयो, पढ्ने रहर त थियो तर, पाइएन’, उनले भनिन् ‘अहिले मात्रै थाहा हुँदैछ, सानैमा विवाह गर्नु बालविवाह हो, यस्तो गर्न पाइँदैन भनेर।’ उनका श्रीमान् मिस्त्री काम गर्छन्, उनी घरव्यवहार समाल्छिन्।

छोराछोरी हुर्काउने र घरको कामबाहेक मञ्झालाई अन्य विषयको जानकारी छैन। कुन उमेरमा विवाह गर्ने, विवाह गरेपछि आफ्नो भूमिका के हुन्छ, कहिले बच्चा जन्माउने भन्ने जानकारी नहुँदा बालविवाह अझै रोकिएको छैन। बाबुआमाले जे भन्यो त्यही मान्नुपर्ने, जहिले भन्यो त्यही बेला विवाह गर्नुपर्ने समस्या अझै छ।अन्नपूर्णपोस्ट् दैनिकबाट



प्रतिक्रिया दिनुहोस्