Logo

सरकारी र निजी बैङ्क तथा वित्तीय संस्थाले भारु साट्न छाडे



सुर्खेत, भदौ ३० । पछिल्लो समय कर्णाली प्रदेशमा भारतीय रुपियाँ (भारु) सटही नहुँदा सर्वसाधारण तथा व्यवसायीले समस्या भोग्नुपरेको छ । विगतमा भारतीय सीमा नाका नजिक हुँदा सटही गरेर आउने र बजारमा व्यापारीले पनि सहजै साट्दा यस्तो समस्या हुँदैनथ्यो ।

अहिले भने भारतीय एक सय रुपियाँ पनि व्यक्ति, व्यवसायी तथा वित्तीय संस्थाले नसाट्दा समस्या बढेको छ । सरकारी र निजी दुवै बैङ्क र वित्तीय संस्थाले भारु साट्न छाडेका छन् ।

भारतीय रुपियाँ बजारमा प्रशस्त भए पनि सटही नहुँदा व्यवसाय गर्न कठिन भएको छ । वीरेन्द्रनगरका व्यवसायी लक्ष्मी भुसालले कारोबार गर्दा भारु धेरै जम्मा भएको तर बैङ्कले नसाटिदिँदा समस्या भएको बताए ।

उनले भारु बैङ्कले नसाट्ने, सामान खरिद गर्दा साहूले पनि लिन नमान्ने भन्दै पहिले त १००, ५० को नोट बैङ्कमा जम्मा हुने गरेकामा अहिले त्यो पनि बैङ्कले बन्द गर्दा गाह्रो भएको गुनासो गरे । कामदारदेखि बैङ्कसम्म भारतीय रुपियाँको कारोबार नहुँदा नसकेपछि व्यवसाय नै बन्द गर्नुपर्ने अवस्था आउन लागेको उनको भनाइ छ ।

बैङ्क तथा वित्तीय संस्थाले सटही गर्न नमानेपछि कर्णाली प्रदेशमा व्यापारीसँग भारतीय मुद्रा थुप्रिएको छ । सर्वसाधारणले दैनिक उपभोग्य सामान खरिददेखि बजार र चलनचल्तीमा भारतीय रुपियाँको प्रयोग गर्दै आएका छन् । भारतीय रकम सटही नहुने र नेपाली नोटको कमी हुँदा आर्थिक कारोबारमा समस्या परेको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्