दमौली, ३० भदौ: तनहुँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेकस्थित लालध्वज मार्ग ट्रयाक खुलेको २५ वर्षपछि कालोपत्र हुँदैछ ।
विसं २०५२ सालमा ट्रयाक खोलिएको उक्त मार्गमा कालोपत्रको काम अगाडी बढाइएको हो । सदरमुकाम दमौलीलाई पोखरासँग जोड्ने वैकल्पिक सडक लालध्वज मार्ग कालोपत्रका लागि गण्डकी प्रदेश सरकारले रु एक करोड ५० लाख विनियोजन गरेको प्रदेश सभा सदस्य आशा कोइरालाले जानकारी दिए । वर्षामा हिलो र हिउँदमा धुलाम्य हुने उक्त सडक कालोपत्रका लागि अन्तिम तयारी भएको उनको भनाइ छ ।
शुक्लागण्डकी नगरपालिका–१ गुबे खोलादेखि एक हजार तीन सय मिटर सडक कालोपत्र गर्न लागिएको हो । उहाँका अनुसार साढे ५ मिटर चौडाइमा सडक कालोपत्र हुनेछ । उक्त सडकलाई गण्डकी प्रदेश सरकारले रणनीतिक महत्वको योजनामा समावेश गरेको छ । थप्रेकवासीको समृद्धिका आधार भएकाले प्रदेश सरकारले यो सडक स्तरोन्नतिका लागि प्राथमिकतामा राखिएको प्रदेश सभा सदस्य कोइरालाको भनाइ छ । उनले भने, “वडा केन्द्रलाई नगरको केन्द्रसम्म जोड्ने यो सडक कालोपत्र भएपछि थप्रेकबाट बसाई सर्ने क्रम रोकिन्छ,”
लालध्वज मार्गका लागि आर्थिक वर्ष २०७५-०७६ मा प्रदेश सरकारले सडकको कटिङ, पक्की नाला निर्माणसँगै स्तरोन्नतिका लागि रु एक करोड विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा पनि रु डेढ करोड विनियोजन गरिएको प्रदेश सभा सदस्य कोइरालाको भनाइ छ । उक्त सडक कालोपत्रका लागि मिर नेपाल कन्स्ट्रक्सनले रु ९९ लाख ९२ हजार २ सय ४६ मा ठेक्का पाएको छ । गत वर्षको बजेट भएपनि आगामी असोज मसान्तभित्र काम सम्पन्न गर्न प्रदेश सरकारले म्याद थप गरेको छ ।
विगतका दुई आर्थिक वर्षमा शुक्लागण्डकी नगरपालिकाले रु एक करोड ४० लाख सडक स्तरोन्नतिमा खर्च गरेको शुक्लागण्डकी नगरपालिका–१ का वडाध्यक्ष रविचन्द्र पौडेलले जानकारी दिए । पृथ्वीराजमार्गको कोत्रेदेखि थप्रेकसम्म १८ किलोमिटर दूरी रहेको सो सडकको ट्रयाक २०५२ सालमा खोलिएको हो ।-रासस/File Photo