Logo

बाढीपहिरोबाट क्षतिग्रस्त सडक र पुल निर्माण गर्न ३ अर्ब आवश्यक



काठमाडौं, भदौ ३१ । बाढीपहिरोका कारण क्षतिग्रस्त भएका सडक र पुलहरू बनाउन तीन अर्ब रुपैयाँभन्दा बढी लगानी आवश्यक हुने प्रारम्भिक आँकडाले देखाएको छ । असार अन्तिम सातादेखि हालसम्म मुलुकभर २२६ स्थानमा क्षतिग्रस्त भएका सडक र पुलहरू बनाउन उक्त लगानी खर्चिनुपर्ने देखिएको हो ।

कुल लगानीमध्ये सबैभन्दा बढी अरनिको राजमार्गका विभिन्न स्थानमा क्षतिग्रस्त भएका संरचना पुनर्निर्माण तथा मर्मतसम्भारका लागि डेढ अर्ब खर्चिनुपर्ने सडक विभागले बताएको छ ।

बाढीपहिरोका कारण वर्षेनि जनधनको क्षति हुनुका साथै ठूलो लगानीमा निर्माण भएका सडक र पुलमा समेत अर्बौंको क्षति हुँदै आएको छ । यसले गर्दा राज्यलाई वार्षिक ३ अर्बभन्दा बढीको अतिरिक्त दायित्व सृजना भएको विभागको भनाइ छ ।

यो वर्ष मात्रै नभई विगतका वर्षमा पनि बाढीपहिरोका कारण अर्बभन्दा बढी अतिरिक्त दायित्व बढ्दै गएको विभागले बताएको छ । मुलुकभरका २२६ स्थानमध्ये अरनिको राजमार्ग, साँफे–मार्तडी र उत्तरी–दक्षिण कोरिडोरको बेनी–जोमसोम खण्डमा अधिक क्षति पुगेको विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए ।

अरनिको राजमार्गमा अहिले कुनै खण्ड अवरुद्ध नभए पनि पहिरो, खोलाले क्षति पुगेका पुल र सडकहरू भने आंशिकरएकतर्फी रूपमा मात्रै सञ्चालन भएका छन् । उक्त राजमार्गमा पहिरो जाँदा, जमीन भासिँदा र खोलाले पुलहरू बगाउँदा विभिन्न १५ स्थानमा यातायात असहज भएको छ ।

१०–१० वर्षमा उक्त राजमार्गमा पहिरोका कारण ठूलो क्षति हुँदै आएको देखिन्छ । २०७२ को भूकम्पपछि जमीन हल्लिएकाले बाह्रबिसेदेखि तातोपानी नाकासम्म नै उच्च जोखिम रहँदै आएको पूर्वाधारविद्हरू बताउँछन् ।

राजमार्ग तथा अन्य सडक खण्डका धेरै स्थानका सडक, बेलिब्रिज, बन्दै गरेका पुल भत्किँदा ठूलो क्षति भएकाले लगानी पनि धेरै लाग्ने देखिएको सापकोटाको भनाइ छ ।

विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग बजेट माग गरेको र त्यसपछि कार्यालयहरूमा अख्तियारी दिने बताएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्