Logo

सिरहा जेलमा एकै दिनमा १४८ कैदीबन्दीमा सङ्क्रमण, कुल २४८



लहान, ३१ भाद्र । सुरुमै सावधानी नअपनाउँदा सिरहा कारागार कोरोना संक्रमणको ‘हटस्पट’ को रुपमा देखिएको छ । सिरहा जिल्ला अदालतसहित विभिन्न स्थानबाट पठाइएका सिरहा कारागारका दुई आश्रितसहित ५९७ कैदीवन्दी सबैको स्वाब परीक्षण भएको थियो । स्वाब परीक्षण भएकोमध्ये मड्लबारसम्म ३४६ जनामध्ये २४८ जनामा कोरोना पुष्टि भइसकेको छ । तीमध्ये मड्लबार मात्रै १४८ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको छ ।

उक्त कारागारमा पुरुष १३५ र महिला १५ गरी १५० जनाको क्षमता भए पनि झण्डै छ सय जनाको हाराहारीमा कैदीवन्दी भएकोमा कारागारका कैदीवन्दी कोचिएर रहनुपर्ने अवस्था छ । कारागार प्रमुख बबिता महतोको अनुसार, संक्रमण देखिएकालाई कारागारको छतमाथि बनाइएको टिनको ट्रष्टमा छुट्टै राख्ने व्यवस्था गरिएको छ ।

संक्रमणको सुरुवात गत साउन २५ गते नकबजनी चोरीमा थुनुवामा पठाइएको लहान नगरपालिका–१३ का एक जना र ज्यान मार्ने उद्योगमा भगवानपुर गाउँपालिका–२ का एक जना, गत साउन २६ गते नकबजनी चोरीका लहान नगरपालिका–८ का एक जना र धनगढीमाई नगरपालिका–१२ का एक जना गरी चार जनामा कोरोना संक्रमण देखिएको थियो । लगत्तै ट्रेसिड्को आधारमा ३० जनाको पिसिआरको परीक्षण गरियो जसमध्ये तीन जनाको नतिजा पोजिटिभ आएको थियो । त्यसपछि कारागारमा सबै कैदीवन्दीको पिसिआर परीक्षण गरिएको थियो । परीक्षणको नतिजा आउने क्रममा सुरुको एक सय जनाको नतिजा आउँदा ७८ जना कैदीवन्दीमा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवले जानकारी दिनुभयो ।

सुरुमै बाहिरबाट ल्याइएका नयाँ कैदीवन्दीलाई क्वारेन्टाइनमा राखेर सावधानी नअपनाउँदा कारागारमा कोरोना सल्किएको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रका सदस्य देवकुमार यादवको धारणा छ । ‘संक्रमण भएका नयाँ कैदीवन्दीलाई अन्य कैदीवन्दीसँगै राखियो जसले अन्यलाई पनि कोरोना स¥यो’, यादवले भन्नुभयो ‘उनीहरुलाई छुट्टै राखेको भए कारागारभित्र कोरोना नियन्त्रण हुन सक्थ्यो ।’

एकैपटक एकै स्थानमा त्यति ठूलो सँख्यामा कोरोना संक्रमित देखिएपनि संक्रमितहरुलाई नियमीत उपचार गर्न खटिएका एक जना अहेव विन्देश्वर यादव मात्रै हुनुहुन्छ । अहेव यादव पहिले कारागारमै कार्यरत हुनुहुन्थ्यो, ३०६९ जेठमा अवकाश प्राप्त गरी घर फर्किसकेपछि पनि संक्रमणको बेला उपचार गर्ने व्यक्तिको अभाव भएपछि कारागार प्रशासनले यादवलाई करारमा नियुक्त गरेको हो । यादव बाहेक जिल्ला स्वास्थ्य कार्यालयले एक जना चिकित्सकको नेतृत्वमा चार जनाको टोली खटाएको छ तर उक्त टोली भने नियमित नभई कारागार प्रशासनले बोलाएको खण्डमा मात्र आउने हुन् । ‘सामान्य रुघाबाहेक संक्रमितलाई कुनै लक्षण नदेखिएकोले चिकित्सकको टोलीलाई नियमीत सेवामा नखटाइएको हो’, कारागार प्रमुख महतोले भन्नुभयो–उक्त टोलीले अन्यत्र पनि खट्नुपर्ने भएको हुनाले यहाँ नियमीत सेवा दिन नभ्याएको हो ।

कैदीवन्दीहरुमा कोरोना संक्रमण फैलिएपछि उनीहरुको स्वास्थ्यप्रति बेवास्ता गरेको भन्दै आफन्तजन आक्रोशित छन् । आफन्तजनले तत्काल वैकल्पिक आइसोलेसन व्यवस्था गरी सहज उपचार गराउन माग गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जिल्ला प्रशासन कार्यालयको पुरानो भवनमा कैदीवन्दीका लागि आइसोलेशन बनाउने तयारी गरिरहेको जानकारी दिनुभयो ।

१५० कैदीबन्दी राख्ने कारागारमा चार गुणा बढी संख्यामा कैदीबन्दी राखेकाले सङ्क्रमण तीब्र रुपमा फैलिएको हुन सक्ने भएकाले कारोना सङ्क्रमणको बेलामा आवश्यक संख्या भन्दा बढी कैदीबन्दी राख्नु उचित नभएको मानवअधिकारकर्मी राजकुमार राउतले प्रतिक्रिया दिनुभएको खबर आजको गोरखापत्रले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्