जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि सबैले जनस्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्नेमा जोड दिएका छन् । उनले सरकारले आजबाट जनजीवन सहज बनाउनेगरि चालेको कदमको उनले स्वागत गरे । हिजो बुधबार विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. पाण्डेले यस्तो बताएका हुन् । उनले लक्षण नदेखिएकाहरुलाई पिसिआर परीक्षण नगर्ने सरकारको निर्णयको भने विरोध जनाएका छन् । उनले भनेका छन्,त्यो प्रोटोकल एकदम अव्यवहारिक छ । त्यस्तो खालको प्रोटोकलले झनै संक्रमण बढाउँछ । स्वास्थ्यकर्मी धेरैले जनतालाई सेवा दिईरहेका छन् । संक्रमण उनीहरूबाटै हुने सम्भावना छ । अर्को कुरा के छ भने लक्षणसहितको संक्रमण हो कि संक्रमणको कुन अवस्था हो भन्ने हिसाबले गर्दाखेरि स्वास्थ्यकर्मीलाई अनिवार्य रूपमा पि.सि.आर टेस्ट गर्नुपर्दछ । प्रस्तुत छ डा. पाण्डेसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
अब सबै क्षेत्र खुल्ला हुँदैछ ? हामीले कसरी साबधानी अपनाउने ? कोरोनाको संक्रमणको उच्च जोखिम छ, कसरी जाने ठ्याक्कै भन्नुहोस् ?
यो कोरोना महामारी नामाकरण मात्र भएको हुनाले आम नागरिकलाई रोजीरोटीको ठुलो समस्या छ । यस्तो बेलामा सार्वजनिक यातायात खोल्नु एक हिसाबले राम्रै्र कुरा हो । किनभने यहाँ जसलाई खान, बस्न कठिन छ, धेरै मान्छेहरू गाउँमा जानुभएको छ । गाउँमा खेतीपाती गरेर जिविकोपार्जन गर्दै हुनुहुन्छ । यस्तो बेलामा यो राम्रै कदम हो ।
सार्वजनिक यातायात मात्र होइन आन्तरिक उडान पनि सुरु हुँदैछ । होटेल, रेष्टुरेन्ट सबै चल्ने भएका छन् नि ?
हामीले बाहिर देशहरूमा उनीहरुले जसरी मेन्टेन गरिरहेका छन्, त्यसैगरी मेन्टेन गर्नुपर्छ । हामीले हरेक क्षेत्रमा स्वास्थ्यका मापदण्डहरू कडाइका साथ पालना गर्नुको अरू विकल्प छैन । खास गरेर सरकारले जुन सीमाक्षेत्र निर्धारण गरेको छ, त्यसलाई पालना गरेर बसहरूमा पनि त्यति भीडभाड पनि हुँदैन । सीमाक्षेत्र पालना भएन भने रोगहरू बढ्ने सम्भावना बढि हुन्छ । अहिले सरकार, व्यवसायी र विज्ञहरू बसेर राम्रो प्रोटोकल बनाउन जरुरी छ । प्रोटोकल पालनाको लागि एकजना सुरक्षाकर्मी राखेर पनि पालना गराउनुपर्दछ ।
अब कात्र्तिक १ गतेदेखि पर्यटकहरूलाई पनि नेपाल आउन खुल्ला भनिएको छ नि ? यसले कस्तो असर पर्छ ?
अहिले थुप्रै विकल्पहरू कोरोना रोकथामको अगाडि छैन । लामो दूरीका यातायात र आन्तरिक उडानमा परीक्षण गरेर हेर्नुपर्ने हुन्छ । विस्तारै संक्रमण कम भएका देशहरूबाट पर्यटकहरू आउने, त्यो खालको वातावरण बनाउनुपर्छ ।
सरकारले एउटा निर्णय पनि गरिसक्यो, अब पर्यटकहरूलाई पनि आउन दिने । धैरै क्षेत्र खुल्ने इत्तिवृत्तान्त पनि म तपाईलाई दिन चाहन्छु । क्यासिनो, डान्स बारहरू पनि खुल्ने भएको छ ?
अहिले त त्यसरी खोल्न हुँदैन । अहिले पहिलो चरणमा लामो दूरीको यातायात र आन्तरिक उडान यसको ३ देखि ४ हप्तासम्म हेरेर होटेलहरू खोल्ने विचार गर्नुपर्दछ । ईन्टरनेशनल उडान हामीले छिटोभन्दा छिटो खोल्नुपर्ने भन्दा पनि विदेशीहरूको लागि हामीले पर्ख र हेर रणनीति अपनाउनुपर्दछ ।
सैलुनहरू खोल्न मिल्छ कि मिल्दैन ?
सैलुन खोल्नको लागि एउटा सैलुनमा विभिन्न ठाउँबाट धेरै मान्छेहरू आएर कपाल काट्ने भएकोले संक्रमण बढ्नसक्ने जोखिम हुन्छ । ग्राहकहरूलाई पनि दूरी कायम गरेर सुरक्षित तबरबाट कामको ग्यारेण्टी हुन्छ भने खोल्दा हुन्छ । तर, हामीले खोल्न र बन्द गर्न जानेका छौँ । तर खोल्दाखेरि हामीले के के मापदण्ड अपनाउनुपर्दछ, अनुगमन कसले गर्ने भन्ने पक्षमा फित्तलो छ । यदि राम्रो अनुगमन गरिएमा सबै क्षेत्र खोल्दाखेरि पनि त्यस्तो ठुलो क्षति हुँदैन ।
अनुगमनको अभाव छ । समस्याको समाधान त हुनुपर्छ नि त । उनीहरूले काम गर्न पाउनुपर्छ नि त । के भन्नुहुन्छ तपाईँ ?
अहिले त हरेक सेक्टरको मान्छेहरूका लागि जुन सेक्टर खोलिदैँन, त्यो सेक्टरमा राहतको व्यवस्था सरकारले गर्नुपर्दछ । अहिले हामीले विशेष निर्माणका कामहरू अर्को साल गरौँला । अहिले महामारीको समस्या छ, त्यसमा हामीले राहत दिने, हाम्रो सबै ध्यान त्यसमा पुग्न जरुरी देखिन्छ ।
कोरोनाको संक्रमण बढिरहेको छ, यो अवस्थामा सावधानी अपनाउनका लागि सरकारले कस्तो रणनीति अपनाउनुपर्दछ ? कोरोनाको टेस्टको कुरा गर्दाखेरि पि.सि.आर टेस्टको कुरा गर्दाखेरि लक्षणरहित टेस्ट नगर्ने स्वास्थ्य मन्त्रालयको कुरा आयो नि ?
त्यो प्रोटोकल एकदम अव्यवहारिक छ । त्यस्तो खालको प्रोटोकलले झनै संक्रमण बढाउँछ । स्वास्थ्यकर्मी धेरैले जनतालाई सेवा दिईरहेका छन् । संक्रमण उनीहरूबाटै हुने सम्भावना छ । अर्को कुरा के छ भने लक्षणसहितको संक्रमण हो कि संक्रमणको कुन अवस्था हो भन्ने हिसाबले गर्दाखेरि स्वास्थ्यकर्मीलाई अनिवार्य रूपमा पि.सि.आर टेस्ट गर्नुपर्दछ ।
भारतबाट औषधीहरूको सहयोग आइरहेको छ । भारतले नेपाललाई हिजोमात्रै दुई हजार भाइल रेमडेसिभिर औषधी सहयोग गरेको छ, यसलाई कसरी हेर्नुभएको छ ?
हो, भारतले हिजो २००० भाइल रेमडेसिभर औषधी हस्तान्तरण गरेको छ । तर कुरा के छ भने यसले कोरोना ठिक गर्ने होइन । यसले जस्तो १५ दिन हस्पिटल बस्नुपर्ने मान्छेलाई बसाइलाई कम गरेर घर पठाउने मात्रै हो । यो सामान्य आई.सी.युमा प्रयोग गर्ने कुरा हो । आई.सी.युमा गएको विरामीहरूलाई प्रयोग गर्ने औषधी हो । तर यसले त्यति अचुक काम गर्दैन् । वास्तविक समाधान यसको खोप हो । जब हामीले खोप लगाउँछौँ, तबमात्र महामारीको अन्त्य हुन्छ । खोपको लागि जनस्वास्थ्यको हरेक मापदण्ड हामीले कडाइका साथ पालना गर्नुपर्दछ । सरकारले पनि पालना गरेको छ कि छैन भनेर अनुगमन गर्नुपर्छ ।