काठमाडौं, १ असोज । पशुपति क्षेत्र विकास कोषका पूर्व पदाधिकारीहरूले पशुपतिक्षेत्र विकास कोष, सञ्चालक परिषदले स्वीकृत गरेको चौथो चरणको पशुपतिनाथको गुरुयोजनालाई लिएर आफूहरुको ध्यानाकार्षण भएको जनाएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर कोषका पूर्व पदाधिकारीहरुले कोषले अघि सारेको गुरुयोजनालाई अवधारणापत्र मात्रै भएको टिप्पणी गरेका छन् । उनीहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘ अवधारणापत्र गुरुयोजना होइन, हुन सक्तैन ।’
विज्ञप्तीमा भनिएको छ,‘ विश्वसम्पदा सूचीमा सूचीकृत विश्वका सम्पूर्ण हिन्दूहरूका आराध्यदेव भगवान् श्रीपशुपतिनाथको मन्दिरले चर्चेको पशुपतिक्षेत्रको पहिलो दश वर्षीय गुरुयोजना वि.स. २०५६ सालमा शुरू भई त्यसको समयावधि वि.स. २०६६ सालमा समाप्त भएको सन्दर्भमा त्यस अवधिमा गुरुयोजनाको अवधारणाले दिशानिर्देश गरेको तेस्रो चरणसम्मका केही कार्यहरू सम्पन्न भए । चौथो चरणाको कार्य भूउपयोग तथा संरचनागत गुरुयोजनाको काम हुन नसकी बाँकी रहेको अवस्थामा हालै पशुपतिक्षेत्र विकास कोषले चौथो चरणको गुरुयोजनालाई सञ्चालक परिषद्ले मिति २०७६।१०।१९ मा स्वीकृति प्रदान गरिसकेको र नेपाल सरकारबाट स्वीकृत हुन मात्र बाँकी रहेको भन्ने कुरा मिडियामार्फत जानकारीमा आएको तथा स्थानीयस्तरमा यसको विरोध भएको सम्बन्धमा हामी पशुपति क्षेत्र विकास कोषका पूर्व पदाधिकारीहरूको गम्भीर ध्यानाकर्षण भएकोले सो गुरुयोजना भनिएको दस्तावेजलाई गुरुयोजना भन्न नसकिने बरू गुरुयोजनाको अवधारणासम्म भन्न सकिने भएकोले सो दस्तावेजलाई गुरुयोजना भनेर स्वीकृत गर्न नहुने र स्थानीयस्तरमा उठेका सवालहरूलाई समावेश र सम्वोधन गरेर गुरुयोजना तयार र स्वीकृत गर्नु पर्ने समेत देहायका विषयतर्फ सम्बन्धित पक्षको ध्यानाकृष्ट गराउन चाहान्छौं ।’
उनीहरुले पशुपतिक्षेत्रको मूलतत्त्व भनेको त्यहाँको धर्म–संस्कृति भएकोले धर्म–संस्कृतिको सम्वर्धन र वर्चस्वलाई ध्यान पु¥याइएको नदेखिएको बताएका छन् । त्यस्तै, स्थानीय जनप्रतिनिधिहरू, सरोकारवालाहरू, विभिन्न सरोकारवाला निकायहरू तथा विषयगत धर्म, संस्कृतिविद्हरूसँग गुरुयोजनाका बारेमा छलफल परामर्श पनि नभएको उनीहरुको अर्को गुनासो छ ।
दश वर्षीय गुरुयोजनाको समीक्षा नभईकन अगाडी बढ्दा विगतका कमीकमजोरीहरू यथावत रही रहने अवस्था देखिएको उनीहरुको भनाई छ । र, अबको गुरुयोजनाको चरण भू–उपयोगसहितको संरचनागत गुरुयोजना भएकोले त्यहाँ के–के निर्माण हुने हुन् त्यसको विस्तृत नाप/नक्सासहित एकीकृत योजना हुनुपर्नेमा सोको अभाव देखिएको पनि उनीहरुको भनाई छ ।
कार्यक्तममा कोषका पूर्व सदस्य सचिव सुशिलकुमार नाहटाले पुशपति क्षेत्र विकास कोषले अघि सारेको गुरुयोजनालाई अवधारणापत्र भनिनुपर्ने बताए । र, उक्त अवधारणापत्र क–कसले बनाएको हो ? भन्ने कुराको सन्दर्भमा कसैको पनि नाम उल्लेख नगरिएको उनको गुनासो छ । अवधारणापत्रभित्र कतिपय कुराहरु एक–आपसमै विरोधाभाष रहेको उनको टिप्पणी छ ।नाहटाले अवधारणपत्र बनाउने बेलामा सरोकारवाला पक्षसँग छलफल तथा परामर्श नै नगरिएको पनि गुनासो पोखे । उनले भने,‘अवधारणापत्रमा भूमी उपयोगबारे प्रष्ट रुपमा केही उल्लेख गरिएको छैन् । खाली गराईएका जग्गाहरु के गर्ने ?’ उनले अवधारणापत्र पारित नभईकन टेण्डर आह्वान गरिनु पनि आपत्तिजनक रहेको बताए ।
कार्यक्रममा कोषका पूर्व सदस्य सचिव निर्मल कुईंकेलले प्रेस विज्ञप्ती वाचन गरेका थिए । उनले पशुपतिक्षेत्रको मूलतत्त्व भनेको त्यहाँको धर्म–संस्कृति भएकोले धर्म–संस्कृतिको सम्वर्धन र वर्चस्वलाई ध्यान पु¥याइएको नदेखिएको बताए । उनले स्थानीय जनप्रतिनिधिहरू, सरोकारवालाहरू, विभिन्न सरोकारवाला निकायहरू तथा विषयगत धर्म, संस्कृतिविद्हरूसँग गुरुयोजनाका बारेमा छलफल परामर्श पनि नभएको गुनासो पोखे ।
कार्यक्रममा पशुपतिक्षेत्र विकास कोषका पूर्व पदाधिकारीहरूको तर्फबाट डा. जगदीश शर्मा, देवीप्रसाद चापागाई, डा. गोविन्द टण्डन, बसन्तकुमार चौधरी, निर्मल कुइकेल, परमानन्द शाक्य, सुशीलकुमार नाहटा, प्रो. शङ्करराज पाठक, म्भुशरण कायस्थ, ज्ञानबहादुर हमाल, गणेशप्रसाद अधिकारी, नरोत्तम बैद्य र तारानाथ सुवेदीको नाम विज्ञप्तीमा उल्लेख गरिएको छ ।