Logo

डेढ सय क्षमताको कारागारमा ६ सय कैदी, पाँच सयमा कोरोना पुष्टि



सिरहा, २ असोज । सिरहा जिल्ला कारागारका ५ सय कैदीबन्दीमा कोरोना भाइरस कोभिड-१९ संक्रमण पुष्टि भएको छ। बुधबारमात्रै एकै पटक २ सय ५९ जनामा कोरोना संक्रमण देखिएको हो। सातजना कैदीले कोरोना जितेका छन्। क्षमताभन्दा बढी कैदीबन्दी हुँदा संक्रमण पुष्टि भएपछि पनि उनीहरू भीडभाडमा बस्न बाध्य छन्।

जिल्ला कारागारकी निमित्त जेलर बबिता महतोका अनुसार ५ सय ९९ कैदी मध्येबाट ५ सय जनामा संक्रमण पुष्टि भएको हो। उनीहरुको कारागारभित्रै उपचार सुरु गरिएको छ। गत साउन २५ र २६ गते कोरोना परीक्षण जाँचको स्वाब लिएका तर, रिर्पाट नआएका चार जनालाई पुर्पक्षका लागि कारागार पठाइएको थियो। उनीहरुबाटै कोरोना संक्रमण फैलिएको अनुमान गरिएको छ।

‘सुरुमा केही कैदीबन्दीमा समान्य ज्वरो आएको थियो। साउनरभदौमा ज्वरो आउँदा त्यति चासो लिएको थिएन,’ उनले भनिन्,‘पीसीआर जाँचपछि ठूलो संख्यामा कोरोना संक्रमण फैलिएको पुष्टि भयो।’ उपचारपछि केही कैदीबन्दीलाई ज्वरो सुधार भएको उनले सुनाइन्। उनका अनुसार रुघाखोकी र घाँटी दुख्ने लक्षण कैदीमा बढी छ।

संक्रमण पुष्टि भएपछि पनि उनीहरूलाई कोचेरै राख्नुपर्ने बाध्यता रहेको जेलर महतोको भनाइ छ। डेढ सय जनालाई राख्न सक्ने क्षमताको कारागारमा ५९९ कैदीबन्दी छन्। उनीहरू समान्य अवस्थामा जसरी खाँदिएर बसेका थिए संक्रमण पुष्टि भएपछि पनि त्यसरी नै बसेका छन्।

सानो ठाउँमा धेरै कैदीबन्दी राखिएको छ। भौतिक दूरी कायम गराउन सकेको छैन्। पर्याप्त शौचालय र खुला ठाउँ अभाव भएकाले सबै कैदीबन्दी एकअर्काको नजिकको सम्पर्कमा रहेका समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्