नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले महाधिवेशन समयमै हुनुपर्नेमा जोड दिएका छन् । त्यसको लागि आफूहरुले पार्टीभित्र दबाब सिर्जना गर्ने, महाधिवेशनका निम्ति समझदारी कायम गर्नेतर्फ नेतृत्वलाई ध्यानाकार्षण गर्ने कोशिस गरिरहेको उनले स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले दबाब सिर्जना नगरिकन महाधिवेशन समयमै हुने स्थिति आफूहरुले नदेखेको पनि स्पष्ट पारे । प्रस्तुत छ नेता पौडेलसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
तपाईको हस्ताक्षर अभियान कहाँ पुग्यो ? के गर्दै हुनुुहुन्छ ?
महाधिवेशन समयमा नै हुनुुपर्र्छ । बेमेलमा पर्नुहुँदैन भनेर हामीले पार्टीभित्र दबाब सिर्जना गर्ने, महाधिवेशनका निम्ति समझदारी कायम गर्नेतर्फ नेतृत्वलाई ध्यानाकर्षण गर्ने कोशिस गरिरहेका छौँ । त्यसलाई कसरी अगाडि बढाउने भन्ने बारेमा हामी छलफलकै क्रममा छौँ ।
होइन तपाईहरू छलफलमा हुनुहुन्छ तर हस्ताक्षर त सुरु भईसक्यो नि ? रामचन्द्र पौडेलले मलाई भनिसक्नुभयो त ?
होइन त्यो प्रक्रियामा पनि कुराकानी भईरहेको छ । मैले भनेँ नि यो दबाब सिर्जना नगरिकन महाधिवेशन समयमा हुने स्थिति देखिएन । त्यसकारण महाधिवेशनको विषय नेतृत्वको तहमा देखिएन । हामीले तयारीका निम्ति जे कामहरू गर्नुपर्ने हो ती केही कामहरू भईरहेको स्थिति छैन, अन्यौल छ । नेपाली कांग्रेसका साथीहरूले महाधिवेशन हुन्छ या हुँदैन, जेठमा हुन्छ, भदौमा हुन्छ, यो फागुनमा त हुँदै नहुने भयो, अब यो पहिलो कार्यतालिका कार्यान्वयन भएन, दोस्रो कार्यतालिका पनि कार्यान्वयन हुने स्थितिमा छैन । पार्टीभित्र अरू विषयमा आन्तरिक विवादहरू बढेर गईरहेको छ । यो एकदमै धेरै अन्यौलको स्थिति भयो । कोभिड नै देखाएर अन्यौल कायम गरिरहने हो भने त महाधिवेशन अनिश्चित हुन्छ । फेरि महाधिवेशन अनिश्चित हुने कुरा भईरहँदा कसरी सुनिश्चित गर्न सकिन्छ भनेर पार्टीमा समझदारी कायम गराउने मुख्य भूमिका भनेको सभापतिको हुन्छ । हाम्रो आग्रह यो महाधिवेशन झगडा गरेर हुने होइन ।
महाधिवेशन हुन्छ, तपाईलाई लाग्छ, फागुनमा ?
महाधिवेशन जानाजान फागुनमा नहुने बनाईयो । त्यसैले अहिलेसम्म समायोजन सकिएको छैन । क्रियाशील सदस्यताको वितरण कार्य पनि बीचमा नै रोकिएको छ । कतिपयले क्रियाशील सदस्यता प्राप्त नगरेको पनि हामीले सुनिरहेका छौँ । त्यसैले अरू विभिन्न खाल विवादहरू यो बीचमा उभिएको देखिएको छ । कोभिडले अगाडि बढाउन सक्ने कुराहरूलाई पनि कोभिड देखाएर ठप्प भएको स्थिति छ । त्यसकारण महाधिवेशन फागुनमा त नहुने नै भयो । अब महाधिवेशन जेठमा गर्ने अथवा भदौमा गर्ने, त्यसको लागि तत्काल कार्यतालिका तयार पार्ने निर्देशन गर्नुपर्छ । प्रविधिको प्रयोग गरेर अगाडि हुन सक्ने कामहरूलाई बढाउने र महाधिवेशन बाहेक अहिले कुनै पनि काम नगर्ने, किनभने यो कामचलाउ समिति जस्तो हो । यो समितिले अरू कुरा अहिले गर्न सक्ने स्थिति छैन । त्यसैले महाधिवेशनलाई नै अर्जुनदृष्टि दिएर कुनै पनि हालतमा महाधिवेशन सम्पन्न गर्ने गरी अगाडि जान जरुरी छ । त्यसको लागि फेरि केन्द्रिय समितिले निर्णय गर्नुपर्छ । महाधिवेशनकै लागि काम अगाडि बढाउने गरी सुरुवात गर्नुपर्छ ।
पार्टी सभापति शेरबहादुर देउवा महाधिवेशनको पक्षमा हुँदाहुँदै पनि अहिलेको परिस्थितिको उहाँले आँकलन गर्नुभएको छ । किनभने कोरोनाको संक्रमण प्रत्येक दिन बढेको बढेकै छ । त्यसले उहाँले भन्नुभएको छ, भदौमा महाधिवेशन गरौँ भनेर ?
अहिले छलफल गरिएको छैन । अब भदौमा नै महाधिवेशन गर्ने हो भने पनि केन्द्रिय समितिको बैठक तत्काल गर्नुपर्छ । महाधिवेशनको नयाँ कार्यतालिका प्रकाशित गर्नुपर्छ । महाधिवेशनका लागि अपनाउनुपर्ने प्रक्रियाहरू कसरी सुरु गर्ने हो, त्यो हुनुपर्छ । अझ भदौ भनेको त अन्तिम समय हो । त्यहाँ जाँदा पनि भएन भने पार्टी अप्ठ्यारोमा पर्छ, संवैधानिक संकटमा पर्छ । त्यसैले भदौमा होइन जेठमा नै महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका प्रकाशित गर्नुपर्छ । कामहरूलाई अगाडि बढाउनुपर्छ । यो कुरा केन्द्रिय सभापतिले मात्र गर्ने कुरा होइन, यो वडाको सभापतिले पनि गर्नुपर्छ । हामी सबैले जिम्मेवार भएर प्रस्तुत हुन जरुरी छ ।
नेपाली कांग्रेसमा अहिले विचारको पनि लडाँइ हो अब तपाईहरूको ?
लडाँइ हुनुपर्छ भन्ने हाम्रो भनाई हो । विधि र विधानमा काम गर्ने त्यस्तो कमिटमेन्ट भएको नेतृत्व चाहियो । ते¥हौँ अधिवेशनमा पनि यस्तै मुद्दाहरू थिए । संस्थापनले गरेका कमजोरीहरू उठाईन्छ, तर ती कमजोरीहरू उठाएर पदमा गईसकेपछि पहिले जस्तो थियो, त्यो भन्दा बढी विधि, विधान विपरीत कामहरू गरिन्छ । कांग्रेस पार्टीले पार्टीभित्र नै लोकतन्त्र खोज्नुपर्ने विषय आयो भने त्यो लाजमर्दो विषय हो ।
तर युवापुस्ता गफ, भाषण गर्छ, काम गर्दैन ? नेतृत्वको कुरा गर्दाखेरि तपाईहरू पनि सम्झौताप्रस्ट हुनुहुन्छ ? तपाईहरूलाई पनि पद चाहिएको छ । तपाईले सहमहामन्त्री, उपमहामन्त्री पाउनुभयो भने तपाईहरू त्यसकै पछि लाग्नुहुन्छ । पदकै लागि तपाईहरूको बार्गेनिङ्ग हो भन्नेहरू पनि धेरै छन् नि ?
विचारको आधारमा प्रतिस्पर्धा गरेर महत्वाकांक्षा पूरा गर्ने कि अघिल्लो पुस्ताकै फेरो समाएर, अघिल्लो पुस्ताले गरेका कमी कमजोरीलाई आँखा चिम्लेर पद प्राप्त गर्ने ? मेरो विचारमा अघिल्लो पुस्ताले त्याग गरे, योगदान गरे, पुस्ताभन्दा पनि अघिल्लो नेतृत्वमा रहेका व्यक्तित्वहरूले बलिदान गर्नुभयो भने त्यसको हामी सम्मान गर्छौँ । तर उहाँहरूको कार्यशैलीहरूमा देखिएका कमी कमजोरीहरूलाई केलाउन नसक्ने हो भने हामीले पनि त्यही कार्यशैलीको निरन्तरता दिनुको विकल्प हुँदैन । त्यसैले त्यो निरन्तरताले पार्टीमा परिवर्तन ल्याउन सक्दैन ।
त्यसोभए शेरबहादुर देउवा र रामचन्द्र पौडेलको पुस्ताले परिवर्तन ल्याउन सक्दैन ?
उहाँहरूको दुईजनाको बीचमा कसले बढी भूमिका पाउनुभयो भन्ने एउटा विषय हुनसक्छ तर टेस्टेड परीक्षण भईसक्नुभएका नेताहरूले के गर्नुभयो, के गर्नुभएन भनेर हामीले भनिरहनु पर्दैन । त्यो त जाहेर नै छ । त्यसैले कार्यशैली परिवर्तनको आवश्यकता छ । सोचमा परिवर्तनको आवश्यकता छ । त्यो आवश्यकता पुरानै ढंगले चल्ने नेतृत्वबाट हुन्छ भन्ने मलाई लाग्दैन । तर म नयाँ हुँ, म कान्छो हुँ, त्यसको आधारमा पाउनुपर्छ भन्ने कुरा स्वभाविक हुन सक्दैन । त्यसैले पुस्ताको विषयभन्दा पनि टेस्टेड र अनटेस्टेडको विषय हो भन्ने मलाई लाग्छ । हामीले कन्टेन्टमा आधारित भएर प्रतिस्पर्धालाई अगाडि बढाऔँ । लोकतान्त्रिक पद्धतिबाट नेतृत्व चयन गर्ने परिस्थिति निर्माण गरौँ ।
तपाई कृष्णप्रसाद सिटौलासँग नजिक हुनुहुन्छ ? तपाई केन्द्रिय सदस्य हुनुभयो । फेरि पनि हुनुहोला ।
त्यस्तो केही बन्नका लागि म कुनै नेताहरूको नजिक भएको होइन ।
होइन तपाई पनि पदको लागि निकट हुनुभएको हो ? गुटमा तपाईहरू पनि लाग्नुभएको छ ? प्राप्तिको लागि तपाईहरू पनि लाग्नुभएको छ ?
राजनीतिमा एक्लै गर्न सकिँदैन । विचार मिल्नेहरू एकै ठाउँमा हुन्छन् र गुट बन्छ । तर गुट के को आधामा निर्माण भएको छ, विचारको आधारमा निर्माण भएको छ कि व्यक्तिलाई शक्तिशाली बनाउनेगरी निर्माण भएको छ, हामीकहाँ व्यक्तिलाई बलियो बनाउनेगरी गुटहरू निर्माण भए । कांग्रेसमा मात्र होइन, समग्र नेपाली राजनीतिमा, नेकपामा अझ स्थिति एकदम ध्वस्त छ । विचारसँग कुनै सम्बन्ध नै छैन । हामी पनि नेकपा जस्तै हुन लाग्यौँ । त्यसकारण हामीले आजको दिनमा आफुलाई वैचारिक सवालसँग जोडेर गुट निर्माण गर्ने, आफ्नो विचारसँग सापेक्षता गर्ने र त्यसको वकालत गरेर त्यसको प्रक्रियारत ढंगबाट त्यसलाई संस्थागत गर्ने सन्दर्भमा अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ र हामीले गरिरहेको प्रयास पनि त्यही हो ।