Logo

विनाधितो सहुलियतपूर्ण कर्जा



खस्यौली, २ असोज: रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवालाई उत्पादनसँग जोडेर स्वरोजगार बनाउन विना धितोमा सहुलियतपूर्ण कर्जा दिन शुरु गरेको छ ।

स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिव्यक्ति बढीमा रु चार लाख सहुलियतपूर्ण कर्जा लगानी गर्न थालेको हो । पहिलो चरणमा रु दुई करोड कर्जा प्रवाह गर्ने गरी नगरपालिकाले युवाहरुसँग गत वैशाख २४ गते उद्यम प्रस्ताव आह्वान गरेको थियो । प्रस्ताव पेश गरेका झण्डै ७०० मध्ये पहिलो चरणमा छनौट भएका ८७ लाई कर्जा दिन थालिएको हो ।

आज आयोजित कार्यक्रममा नगरप्रमुख वासुदेव घिमिरेले १५ लाभग्राहीलाई कर्जा प्रस्ताव–पत्र हस्तान्तरण गरी सहुलियत कर्जा वितरणको शुभारम्भ गरे । नगरप्रमुख घिमिरेले कर्जाको सदुपयोग गरी दिगो रुपमा व्यवसाय गर्न लाभग्राहीहरुलाई आग्रह गरे । नगरपालिकाले आगामी दिनमा सहुलियत कर्जा वितरणलाई विस्तार गर्दै जाने जानकारी दिँदै उनले धितो राख्न नसक्ने निम्न आय भएकाहरुलाई लक्षित गरी यो कार्यक्रम शुरु गरिएको बताए ।

कोरोना महामारीको कारण रोजगारीका अवसर सङ्कुचित भैरहँदा नगरपालिकाले गत वैशाख २४ गते सहुलियतपूर्ण कर्जाको लागि प्रस्ताव आह्वान गरेको थियो । प्रस्ताव पेश गरेकामध्ये नगरपालिका र बैंकका प्रतिनिधि सहभागी छनौट समितिले कर्जाका लागि नाम सिफारिस गरेअनुरुप कर्जा वितरण थालिएको नेपाल बैंक लिमिटेड प्रदेश ५ का प्रमुख पासाङ दोर्जे शेर्पाले जानकारी दिए । उनका अनुसार तिलोत्तमामा चालू आवमा नगरपालिकासँगको सहकार्यमा थप रु आठ करोड सहुलियत कर्जा प्रवाह गर्ने योजना छ ।

नगरपालिकाले सम्पन्न तिलोत्तमा लगानी सम्मेलनमा नेपाल बैंकसँग सहुलियतपूर्ण कर्जाको लागि सम्झौता गरेको थियो । सोही सम्झौताअनुसार नगरपालिकाले बैंकको रिर्जव कोषमा कर्जा प्रवाहको लागि रकम जम्मा गरेपछि बैंकले सहुलियत कर्जा दिएको हो ।

मूलतः विदेशबाट फर्किएका बेरोजगार युवालाई लक्षित गरी सानोतिनो रकमबाट केही काम गर्न चाहने यो कर्जाबाट लाभान्वित हुने नगरपालिकाको विश्वास छ । हालका लागि कर्जाको ब्याजदर पुरुषको हकमा वार्षिक ३.९९ प्रतिशत, महिलाको हकमा वार्षिक २.९९ प्रतिशत छ । कर्जा प्राप्त गर्ने युवा १८ देखि ५० वर्ष उमेर समूहको हुनुपर्ने र कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिएको हुनुपर्ने नगरपालिकाले जनाएको छ । महिला, दलित, पछाडि पारिएको वर्ग—समुदाय, वैदेशिक रोजगारबाट फर्किएकालाई कर्जामा प्राथमिकता दिइएको उपप्रमुख जगेश्वरदेवी चौधरीले बताए ।-रासस/File photo



प्रतिक्रिया दिनुहोस्