काठमाडौं, २ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता, पूर्व प्रधानमन्त्री तथा प्रतिनिधिसभाका सदस्य माधवकुमार नेपालले संसदको दोस्रो अधिवेशन समापन अवसर (७९औं बैठक) मा २०७५ असोज ११ गते बिहीबार राखेको धारणा सर्वाधिक चर्चामा थियो । नेता नेपालले मुलुकमा व्याप्त रहेको भ्रषटाचार अन्त्यको लागि सरकारले के÷कति पहल गरेको छ ? लगायत सुशासन कायम गर्न के के काम गरेको छ ? भन्ने प्रश्न गरेका थिए ।
उनले सम्बोधनको क्रममा भनेका थिए,‘मुलुकमा भ्रष्टाचार व्याप्त छ । रोक्ने र नियन्त्रण गर्ने कुनै अङ्ग छ कि छैन ? कोही अहिलेसम्म गिरफ्तार भएका छन् कि छैनन् ? मुद्दा चलिरहेको छ कि छैन ? मान्छे हेर्न चाहन्छन्– काम । मान्छे हेर्न चाहन्छन्– परिणाम । परिणाम दिइसकेपछि बल्ल हाम्रो पनि शिर ठाडो हुने थियो । यो कानले सुन्नुपर्ने थिएन– ‘जुन जोगी आए पनि कानै चिरेको !’ यो स्थितिलाई कसरी परिवर्तन गर्ने ? म माननीय मन्त्रीज्यूहरू, सरकार र राज्यका सबै निकायहरूको ध्यानाकर्षण गर्न चाहन्छु ।’
(प्रस्तुत छ नेकपाका बरिष्ठ नेता, पूर्वप्रधानमन्त्री तथा प्रतिनिधिसभाका सदस्य माननीय माधवकुमार नेपालले प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापनका अवसर (७९ औँ बैठक) मा २०७५ असोज ११ गते बिहीबार राखेको धारणा)
सम्माननीय सभामुखज्यू,
संसदको यस अधिवेशनको बैठकमा सम्भवतः म पहिलोचोटि यहाँ उभिएर बोल्ने जमर्को गर्दैछु । आज अधिवेशन समापन हुने अवसरमा यसअघि मैले यस रोस्टममा उभिएर बोलेको कुरालाई सम्झिरहेको छु । मैले एउटा कुरा भनेको थिएँ– ‘मेरो देश डुब्न लाग्यो, किनारा लगाइदेउ ! माझी छौ कि कोही, किनारा लगाइदेउ !’ आज पनि विभिन्न ठाउँमा घटिरहेका घटनाहरूप्रति म सम्बन्धित सबै निकायको ध्यानाकर्षण गर्न चाहन्छु । प्रत्येक ठाउँबाट प्रश्न उठिरहेको छ– कञ्चनपुरमा निर्मला पन्तको बलात्कार र हत्या भएको छ, रौतहटको चन्द्रपुरमा एसिडले एउटा नानी– सम्झनाको मृत्यु भएको छ । बलात्कार, एसिड प्रहार, हत्याका यस्तै–यस्तै अनेकौँ घटनाहरू भइरहेका छन् ।
मुलुकमा भ्रष्टाचार व्याप्त छ । रोक्ने र नियन्त्रण गर्ने कुनै अङ्ग छ कि छैन ? कोही अहिलेसम्म गिरफ्तार भएका छन् कि छैनन् ? मुद्दा चलिरहेको छ कि छैन ? मान्छे हेर्न चाहन्छन्– काम । मान्छे हेर्न चाहन्छन्– परिणाम । परिणाम दिइसकेपछि बल्ल हाम्रो पनि शिर ठाडो हुने थियो । यो कानले सुन्नुपर्ने थिएन– ‘जुन जोगी आए पनि कानै चिरेको !’ यो स्थितिलाई कसरी परिवर्तन गर्ने ? म माननीय मन्त्रीज्यूहरू, सरकार र राज्यका सबै निकायहरूको ध्यानाकर्षण गर्न चाहन्छु ।
सम्माननीय सभामुखज्यू,
म यसपटक एउटा किताब पढ्दै थिएँ– ‘रजगज’ । त्यो पढ्दापढ्दै मलाई त देशको कहालीलाग्दो अवस्थाबाट डर लाग्यो । हुन त त्यसमा सबै नै तथ्यहरू सही छन् जस्तो पनि लाग्दैन । तर, अधिकांश खोज–अध्ययन गरेर ल्याए जस्तो लाग्यो । त्यसमा राज्यका विभिन्न निकायहरूको भ्रष्ट स्वरूप उदाङ्गो छ । अरु पनि किताब होलान् । मैले पढेको हुनाले म हाम्रा माननीय मन्त्रीज्यूहरूलाई एक पटक त्यो पुस्तक पढिदिन आग्रह गर्दछु ।
विभिन्न फैसलाहरूमा जहिले पनि भ्रष्टलाई जिताउने व्यक्तिहरू नै माथि–माथि पुग्ने गरेका छन् । जिल्लामा छन् भने पुनरावेदनमा, पुनरावेदनमा छन् भने सर्वोच्चमा जाने गरेका छन् । गलत काममा लाग्ने मानिसहरु हिजो शाखा अधिकृत थिए भने उपसचिव, सहसचिव हुँदै सचिव बन्ने जुन सिलसिला छ, त्यो कहिले बन्द हुने ? दुनियाँले भ्रष्टाचारी भनेर औँलो ठड्याइरहेका व्यक्ति पुरस्कृत हुँदा हाम्रो शिर निहुरिन्छ । यो कहिले रोकिने ? यो अधिवेशनमा यस्ता धेरै कुराहरू उठेका छन् । माननीय सांसदज्यूहरूले धेरै कुरा उठाउनुभएको छ । झन् बसमा यात्रा गर्नेहरूलाई त कस्तो होला ! पैदल हिड्नेहरूलाई त झन् कस्तो हुँदो होला ! कानै थुनेर हिडौँ कि जस्तो पनि लाग्दो होला । कुनै पसलमा पस्दाखेरि पनि के भन्दा होलान् ? त्यसैले कम्तीमा जनताले के भन्छन् भन्ने कुरा प्रतिवाद गर्न र जवाफ दिनका लागि होइन, महसुस गर्नुपर्छ । त्रुटि र समस्याहरू कहाँ रहे, खोजेर समाधान गर्ने सङ्कल्प र आँट गर्नुपर्छ । राम्रो काम गर्नुहोस्, मलाई लाग्छ– नेकपाको मात्रै होइन, सिङ्गो सदनको समर्थन रहनेछ, सम्पूर्ण नेपाली जनताको समर्थन रहनेछ ।
नेपाललाई सुशासन चाहिएको छ, भ्रष्टाचारमुक्त प्रशासन चाहिएको छ, छिटो–छरितो काम चाहिएको छ र गुणस्तरयुक्त काम चाहिएको छ । जनतालाई अनेकौँ समस्याहरूको समाधान चाहिएको छ । जनताले भनिरहेका छन्– गास, बास, आवास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा चाहियो । र, भनिरहेका छन्– हाम्रो समस्याप्रति संवेदनशील भइदिनुप¥यो । आज त्यो संवेदनशिलता चाहिएको छ ।
आज देश र राष्ट्रियतामाथि प्रश्न उठिरहेको छ । हाम्रो भौगोलिक अखण्डतामाथि खुलेआम चुनौती दिने काम भइरहेको छ । हिजो मैले एउटा भिडियो देखेँ र अचम्मित भएँ । त्यो भिडिओ हाम्रा मन्त्रीज्यूले देख्नुभएको छ कि छैन ? गृहमन्त्रीज्यू कहाँ हुनुहुन्छ ? उहाँहरूलाई जानकारी हुन्छ ? गृह प्रशासन नामको चीज छ कि छैन ? थाहा छैन । खुलेआम देशलाई टुक्राउने अभिव्यक्ति दिने व्यक्तिहरूलाई जोगाउने नेपालका विभिन्न निकायहरू छन् । ती निकायमा बस्ने व्यक्तिहरू कस्ता होलान्, जुन राष्ट्रद्रोहीहरूलाई पनि त्यत्तिकै छोडिदिन्छन्, कुनै कडाइ गर्दैनन् । तिनीहरूमा देशभक्ति र नेपाली भावना देखिँदैन । जसमा नेपाली भावना छैन, देशभक्तिको भावना छैन, त्यो व्यक्तिले नेपाली भएर गौरव गर्नुुको कुनै अर्थ रहँदैन । त्यसैले चाहे राष्ट्रियतासँग जोडिएको विषय होस् वा जनजीविकासँग जोडिएको विषय होस् वा जनअधिकारको कुरा होस्, यसमा सरकार गम्भीर बन्नैपर्छ, हामी सबै गम्भीर बन्नैपर्छ ।
यस अधिवेशनबाट प्रतिनिधिसभामा उत्पत्ति भएका १२ र राष्ट्रियसभामा उत्पत्ति भएका ४ गरी हामीले मौलिक अधिकारसम्बन्धी १६ वटा विधेयकहरू पारित गरको छौँ । म यस मामिलामा सरकारलाई धन्यवाद दिन चाहन्छु । साथै, सिङ्गो संसद्, सबै विषयगत समिति र प्रतिपक्ष पनि धन्यवादका पात्र छन् ।
यस अधिवेशनमा अवश्य पनि राम्रा कामहरू पनि भएका छन् । बेला–बेलामा तदारुकता देखाउने पनि गरिएको छ । आशा छ, मरिसकेको छैन । जनताले अझै भनिरहेका छन्– अहिलेसम्मका अनुभवका आधारमा, अरूसँगका अनुभव पनि लिएर, छलफल–परामर्श गर्ने बानी विकास गरेर र सुन्ने बानी विकास गरेर अघि बढ्नुपर्छ । हामीलाई प्रकृतिले दुईवटा कान दिएको छ, बढी सुन्ने बानी हुर्काएर धेरैभन्दा धेरैका अनुभवहरू लिएर राम्रो काम गर्नका लागि अगाडि बढ्दा अवश्य पनि साथ–सहयोग प्राप्त हुन्छ । अपेक्षा हुन्छ, साथ पनि दिनुपर्दछ । तब नै अघि बढ्ने मान्छेलाई हौसला हुन्छ, सरकारमा काम गर्ने मान्छेलाई हौसला पनि हुन्छ । अगाडि बढ्नुहोस्– हाम्रो पूरा साथ रहन्छ, राम्रो काम गर्नु भएन भने रहँदैन । जता गयो, खाली आलोचना, बिरोध र खिसीटियुरी बाहेक केही छैन । यो स्थितिले त हामी सबैलाई पोल्नुपर्ने हो । त्यो कति भइरहेको छ, थाहा छैन ।
बजेट निर्माणदेखि अहिलेसम्मका समग्र कुराहरूको सरकारले राम्ररी समीक्षा गरोस् । अर्कोचोटि अधिवेशनमा आउँदाखेरि एउटा नयाँ ऊर्जाका साथ नयाँ सन्देश दिने, आशा जगाउने, सबैको अनुहार प्रफुल्ल पार्ने र शिर ठाडो हुने हिसाबले राम्रा विषयवस्तुहरू अगाडि सारोस् ।
काम गर्ने तरिका हेर्ने हो भने मैले आफैँ देखिरहेको छु । एउटा गीत निस्केको छ साँखुदेखि चाबहिलको बाटोका बारेमा । तपाईलाई थाहा छ माननीय सदस्यज्यूहरू, म त्यही क्षेत्रबाट निर्वाचित सांसद हुँ । त्यो बाटोको बेहालका बारेमा भिडिओसहित गीतै निकालेकिएको छ– हिलाम्य छ, धुलाम्य छ, मान्छेको बिजोग छ, गाडीको बेहाल छ । त्यहाँ म आफैँ चार चोटि अनुगमन गर्न गएँ । ठेकेदारहरूले अहिलेसम्म काम गरेका छैनन् । जुन दिन म जाने कुरा हुन्छ, राती पाँच ट्रक गिट्टी झार्छन्, त्यसपछि बेपत्ता हुन्छन् । हेर्ने कुनै निकाय हुँदैन । मन्त्री, सचिव, डिजी, इन्जिनियर– सबै हराउँछन् । त्यस्तो बेवास्ता गरेबापत दण्डित पनि नहुने, सजाय पनि नदिने, स्पष्टीकरण पनि नसोध्ने र कालोसूचीमा पनि नपर्ने भइरहेको छ । अझ कालोसूचीमा परेकाहरू झन् ज्यादा पुरस्कृत हुने अवस्था छ । जति कालोसूचीमा पर्नुहोस्, त्यति धेरै तपाईं पुरस्कृत हुनुहोस् ! जति अपराध गर्नुहोस्, त्यति तपाईं पुरस्कृत हुँदै जानुहोस् । यस्तो खालको स्थिति देख्दा दिक्क लागेर आउँछ । सम्भवतः त्यही कारणले हाम्रा गीतकार योगीले यो गीत बनाउनुभएको होला । यस्तो गीत बनाएर हामी सबैलाई झक्झक्याउनु भएकोमा धन्यवाद छ !
वास्तवमा यो देशको भ्रष्टाचार उन्मुलन गर्न अरू कसैले पनि सक्दैन, अरूले सक्ने मैले देखिराखेको छैन । जनताको आशा यही सरकारमाथि छ, यही नेपाल कम्युनिष्ट पार्टीको सरकारमाथि छ । यो सरकारले राम्रो काम गरोस् । भ्रष्टाचार गर्दिनँ भनेर होइन, नगरेर गरेको छैन भनेर विश्वास दिलाउन सकोस् । भ्रष्टाचार गर्नेलाई दण्डित गर्न सकोस् । सुशासनको प्रत्याभूति दिलाउन सकोस् । छोराछोरी, श्रीमती, पीए, नातेदार, विभिन्न ‘च्यानल’ र ‘लिंक’ मिलाएर, घुमाएर, दशथरीको नाक समातेर काम गर्ने तरिकाहरू कतै कहीँ–कहीँ छन् भने त्यो कुरा अन्त्य गर्ने काम गरोस् ।
म फेरि पनि भन्न चाहन्छु– राष्ट्रहितको प्रतिष्ठा स्थापित गर्ने, हाम्रो सार्वभौमसत्ताको रक्षा गर्ने, भौगोलिक अखण्डतालाई जोगाउने र देशको संवेदनशीलता बुझ्ने कुरामा हामी सबै गम्भीर बनौँ । हामीले लोकतन्त्र स्थापित गरेका छौँ, गणतन्त्र आएको छ । जनतालाई त्यस हिसाबले अधिकार सम्पन्न बनाउने काम गरौँ र समाजमा रहेका जति पनि समस्या, विकृति र बिसङ्गतिहरू छन्, ती सबैलाई हटाउनका लागि सरोकारवाला निकायहरूलाई क्रियाशील गराउने काम गरौँ । यस अर्थमा बेरोजगारी, निरक्षरता अन्त्यदेखि यी अनेक कामहरूमा लाग्नु जरुरी छ ।
सम्माननीय सभामुखज्यू,
सुन्नमा आइरहेको छ– ब्रिटिस सेनामा नेपाली महिलाहरूलाई भर्ना गर्ने क्रम चल्यो । यो रोकिसकिएको छ भने त ठीकै छ । होइन भने यसभन्दा लाज–शरमको कुरा अरू केही पनि हुँदैन । भोलि गएर त्यहाँ नेपाली महिलाको सम्मान हुने विश्वास हामीलाई छैन । त्यसकारण त्यस्तो भएको छ भने बन्द गरौँ । नत्र भोलि सिलसिला सुरु हुन्छ– खाडी क्षेत्रले पनि भर्ना सुरु गर्छ, त्यसपछि भारतीय सेनामा नेपाली महिलाहरूलाई भर्ना गरेर भोलि हामी सबैको शिर निहुरिने स्थिति बन्न सक्छ । नेपालीहरु विदेशी सेनामा जाने कुराको उहिलेदेखि विरोध हुँदै आएको छ । त्यस्तो कुरामा ध्यान जाओस्, रोक्ने काम होस्् ।
भूपू ब्रिटिस गोर्खाहरूका समस्याहरूलाई हल गर्ने कुरामा पनि सरकारको ध्यानाकर्षण गरिएको छ । त्यहाँ अझै पनि गर्नुपर्ने कुराहरू के छन्, त्यसमा पनि ध्यान जाओस् । गैरआवासीय नेपालीहरूको समस्याका बारेमा पनि कुराहरू उठेका छन्, त्यसमा पनि सरोकारवालाहरूको ध्यान जाओस् । त्यति मात्रै होइन, अहिले समाजका विभिन्न क्षेत्रबाट उठिरहेका कुराहरूलाई पनि तदनुरूपले सम्बोधन होस् ।
हुन त सबैका आफ्ना–आफ्ना स्वार्थ हुँदा रहेछन् । ती कुराहरू कतिसम्म जायज छन्, जायजलाई जायज भन्ने, नाजायज छन् भने नाजायज भन्ने काम गर्नुपर्दछ । एक्लै सरकारले मात्रै गर्न सक्दैन । अरूको पनि साथ–सहयोग चाहिन्छ, सिङ्गो पार्टीको साथ चाहिन्छ, संसद्को साथ चाहिन्छ र त्यस्तो राम्रो कुराको पक्षमा हामी सबैले संकीर्ण घेराभन्दा माथि उठेर चल्नुपर्दछ ।
अहिले भर्खरै मैले सुनेँ– निजगढ विमानस्थलका बारेमा निकै ठूलो चर्चा–परिचर्चा चलिराखेको छ । हुन त मैले सुनको थिएँ, ‘नेपाल कम्युनिष्ट पार्टीभित्रैबाट त विरोध भएको छ, विरोधीले त विरोध गर्ने भइहाले, काम राम्रो गर्न नदिनका लागि गर्नेछन् ।’ सोध्दाखेरि ‘त्यस्तो भन्न खोजेको होइन’ भनिएको छ । यहाँ त राम्रो काम गर्ने आडमा आफ्नो स्वार्थ पूर्ति गर्न खोजेको हो कि भन्ने मात्रै कुरा पो उठाएको हो । त्यो पनि सम्भावना छ । राम्रो काम गर्दाखेरि बात नलाग्ने गरी गरियोस् ।
दशकौँदेखि खालि वैकल्पिक विमानस्थल कहाँ बनाउने भनेर हामीले बहस ग¥याँै । आयोग–समितिहरू बनायौँ, प्रतिवेदनहरू तयार ग¥यौँ, मोटा ठेलीहरू तयार भए । तर, कहिले पनि निर्णय भएन । २०६७ सालमा म प्रधानमन्त्री हुँदाखेरि बहुत राम्रो सोच–विचार गरेर त्यो निर्णय भएको छ । निजगढ सबभन्दा उपयुक्त ठाउँ छ । तर, जम्मै रुख काट्ने कि नकाट्ने ? विचार गर्नुपर्छ । हाम्रो बानी के छ भने देशमा कुनै राम्रो निर्माण गर्नुप¥यो भने दाह्री खौरे जस्तै जम्मै रुख जति सिध्याइदिन्छौँ । त्यो गलत हो । जति चाहिन्छ, त्यसभन्दा एउटा पनि रुख पनि बढी काट्नु जरुरी छैन । घरै बनाइन्छ भने घरको बीचमा रुख राख्नुपर्छ । तपार्ई भारतको हिमाञ्चल प्रदेशको सिम्ला जानुभयो भने पाउनुहुन्छ– सारा शहर छ, शहरका घर–घरभित्र पर्खालमा पनि रुख छन् । हामीले त्यस्तो संस्कार किन नहुर्काउने ? ठूला आयोजना बनाउँदा रुख काट्नैपर्छ । तर, त्यसको विकल्प कहाँ लगाउने हो, त्यो गर्नुपर्छ । मैले बुझ्दाखेरि बाहिर प्रचार भए जस्तो त्यति रुख काट्ने कुरा होइन । कुनै पनि बाहनामा त्यहाँ काम रोक्नु हुँदैन ।
नेपालमा कुनै पनि काम गर्न नदिने– उद्योग–धन्दा खोल्न, नदी–नालाको उपयोग गर्न, बिजुली उत्पादन गर्न, विमानस्थल बन्न र देशलाई आत्मनिर्भर हुन नदिने खराब प्रवृत्ति छ । यी जम्मै संयन्त्रभित्र हामी फस्ने खतरा छ । त्यसैले म सम्बन्धित मन्त्रालयका मन्त्रीज्यूलाई भन्न चाहन्छु– जुन कुरामा निर्णय भइसक्यो, त्यसबाट पछाडि फर्किनुहुन्न । नेपाली कांग्रेसका नेता सुशील कोइराला प्रधानमन्त्री भएको बेला मैले मन्त्री आनन्द पोखरेलजीलाई सोध्दा उहाँले ‘प्रधानमन्त्रीसँग मैले विश्वास लिइसकेको छु, विमानस्थल बन्छ, अगाडि बढ्छ’ भन्नुभएको थियो । त्यसलाई फेरि घुमाइ–फिराई रोक्ने, षड्यन्त्रमा फस्ने काम सरकारले नगरोस् । यसमा सरकारलाई हाम्रो पूरा साथ, सहयोग र समर्थन रहनेछ ।
काठमाडौँ–तराई द्रूतमार्ग (फास्ट ट्रयाक) लाई तीव्र गतिका साथ सम्पन्न गर्नमा सरकारले ध्यान दिनुपर्छ । त्यसमा कही कुनै ढिलासुस्ती गर्नेहरूलाई कुनै हालतमा छुट नदिनका लागि के कानुन र नियमावली बनाउनुपर्छ, त्यो बनाउनुपर्छ । ढिलासुस्ती गर्ने निर्माण व्यवसायीहरूलाई कसरी पन्छाउनुपर्छ, पन्छाउने आँट गर्नुपर्छ । काम कुनै हिसाबले प्रभावित नहोस् । कालोसूचीमा भएका व्यक्ति र संस्थाहरूको त्यही हिसाबले मूल्याङ्कन गरियोस् । होइन भने जम्मै ठाउँमा त्यस्तै व्यक्तिहरूले प्रश्रय पाउँदा देशमा अरू कोही योग्य मान्छे हुँदै नभए जस्तो हुन्छ । तिनै व्यक्तिलाई खोजी–खोजी जिम्मेवारी सुम्पिनुको पछाडिको कारण के भन्ने प्रश्न उठ्यो भने जवाफ के दिने ? जवाफ केही पनि छैन । मान्छे भन्न थाले– कतै त्यस्तैको अब बिगबिगी हुने त होइन ? त्यसैले म भन्न चाहन्छु– सरकार यसमा सतर्क होस् ।
सरकारले मुलुकलाई एउटा विधि र थितीमा लिएर जाने काममा अग्रसरता देखाओस् । विधि कसरी स्थापित गर्ने र मुलुकलाई प्रणालीमा कसरी लिएर जाने ? व्यक्तिको मूल्याङ्कन कसरी गर्ने ? पारदर्शी तरिका कसरी अबलम्बन गर्ने ? सबै क्षेत्रमा योग्य, सक्षम, स्वच्छ छवि भएका, इमानदार, निष्ठावान, देशभक्त र पवित्र भावना भएका व्यक्तिहरूलाई हुर्किनका लागि कसरी प्रोत्साहित गर्ने ? विदेशमा गएका नेपालीहरूलाई स्वदेशमा कसरी आकर्षित गर्ने ? उनीहरूसँग भएको सीप, ज्ञान, पुँजी र सम्बन्धका माध्यमबाट नेपालमा लगानी भित्र्याउनेदेखि नेपालको विकासको काममा उपयोग कसरी गर्ने ? यी सबै कुरामा हाम्रो ध्यान जानु जरुरी छ । नेपाली समाजको विकासका निम्ति लागिपरेका त्यस्ता असल व्यक्तिहरूको योग्यता–क्षमताको पहिचान गरेर र राम्रा मान्छेहरूलाई नियुक्त गरेर अघि बढ्ने कुरामा ध्यान जानु जरुरी छ ।
अवश्य हामीलाई अहिले एउटा मौका आएको छ । जनताले विश्वास गरेका छन् । दुई तिहाई बहुमत हासिल गरेको सरकार छ । अब यो सरकारसँग अरू भन्ने कुनै पनि ठाउँ बाँकी छैन । त्यसैले यो अवस्थाभित्र राम्रो काम गर्दा सबैले ‘स्यावास्, राम्रो ग¥यो’ भन्छन् । मलाई लाग्दैन कि हाम्रो प्रतिपक्षले पनि नराम्रो भन्ला । किनभने, देशको इज्जत बढ्दाखेरि प्रतिपक्षका नेताको पनि इज्जतै बढ्छ । देशको इज्जत घट्दाखेरि प्रतिपक्षका नेताको पनि इज्जत घट्छ । मनमा त भित्रभित्रै होला– भोलि आफूले मौका नपाइएला भन्ने कुरा । त्यो आफ्नो ठाउँमा छ तर त्यस्तो सोच्नुहँुदैन । सानो धारमा चित्त राखेर चल्नु पनि हुँदैन । हाम्रो दृष्टिकोण फराकिलो हुनुपर्छ । प्रतिपक्षले रचनात्मक भूमिका खेल्ने हिसाबले पनि सोच्नुपदर्छ । त्यहाँबाट आएका कुराहरू उचित, जायज र उपयुक्त छन् भने तिनलाई पनि ग्रहण गर्ने काम गर्नुपर्छ । त्यसैले मैले यहाँ भन्न खोजेको कुरा के भने देशकै अवस्थाका बारेमा, जनताकै पीर–मर्काका बारेमा स्वदेशमा वा विदेशमा सुनिएका–देखिएका कुराहरू सम्मानीत सदन समक्ष राख्दा सरकारलाई नै फाइदा हुन्छ । र, त्यही कारणले अवश्य कतिपय कामहरूले अग्रसरता पनि लिएका छन् ।
अघि मैले विधेयकका बारेमा कुरा गरेँ– राम्रा कुराहरू अगाडि बढाउने काम गर्नूस् । कानुन नै भएन भने केही पनि गर्न सकिँदैन । फेरि कानुन मात्रै बनाएर पनि पुग्दैन, निर्देशिका र विनियमहरूको आवश्यकता पर्छ । ती सबै चीज फटाफट बनाउनुपर्छ । विधि–विधान भएर मात्रै पुग्दैन, राम्रो संरचना हुनुपर्दछ । संरचना भएर मात्रै हुँदैन, उपयुक्त र योग्य मान्छे पनि हुनुपर्दछ । उपयुक्त र योग्य मान्छेहरूको छनौट हुन सकेन भने सबै कामको कुनै अर्थ रहँदैन ।
म चाहन्छु– गर्ने कामहरू फटाफट होऊन् । राजदूताबासहरू खाली छन्, संवैधानिक निकायहरू रिक्त छन् । ती सबै कुराहरूका निम्ति बरु छिटो–छरितो ढङ्गले कसरी गर्न सकिन्छ, उपायहरू खोज्ने, व्यापक छलफल गर्ने, मान्छेहरूको विगतदेखि आजसम्मको पूरै इतिहासको बारेमा जानकारी प्राप्त गर्ने स्रोतहरू खोज्ने तरिकारहरू अपनाउन सकिन्छ । अब हामी अनुभवहीन छैनौँ । हामीसँग अनुभवीहरूको ठूलो पङ्क्ति छ । धेरै मान्छे मन्त्री भइसकेका छन्, उपप्रधानमन्त्री र प्रधानमन्त्री भइसकेका छन् । त्यसैले सबैसँग परामर्श गर्ने र सम्भव नभए अधिकांशसँग परामर्श गर्ने तरिका अबलम्बन गरेर मुलुकलाई अघि बढाउने काममा सरकार अगाडि बढ्न सकोस् । म सरकारको सफलताको कामना गर्दछु ।
नेपालीहरूका आउँदै गरेका महान् चाडहरू– दशैँ, तिहार, छठ, न्हुँ दया भिन्तुनालगायतका अवसरमा म यस बैठकमार्फत् सबैलाई अग्रिम हार्दिक शुभकामना दिन चाहन्छु । नेपालीहरूले मंहगी, अभाव र बिजोगमा जीवन बिताउन नपरोस् र उनीहरूले आनन्दका साथ चाडपर्वहरू मनाउन पाऊन् । सरकारले तय गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को नारा व्यवहारमा सार्थक बनाउने हेतुले काम अगाडि बढाउन सकोस् । यिनै शुभेच्छा राख्दै म आफ्नो भनाइ यही टुङ्ग्याउन चाहन्छु ।
धन्यवाद !
FILE PHOTO/REPORTERSNEPAL-Mukunda Kalikote