Logo

असोजभित्रै व्यक्तिगत कर्जाको स्थिर ब्याजदर तोक्न निर्देशन



काठमाडौं, असोज ४ । बैंक तथा वित्तीय संस्थालाई घर तथा सवारी कर्जालगायत व्यक्तिगत कर्जाको स्थिर ब्याजदर असोज महीनाभित्रै निर्धारण गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

भदौको तेस्रो साता एकीकृत निर्देशिका २०७७ जारी गर्दै राष्ट्र बैंकले १ वर्षभन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरूको ब्याजदर परिवर्तन नहुने गरी स्थिर ब्याजदर कायम गर्न निर्देशन दिएको थियो ।

यस्तो ब्याजदर तत्कालै कार्यान्वयनमा ल्याउन नसकिने भन्दै बैंकरहरूले स्थिर ब्याजदर तोक्नका लागि अध्ययन, विश्लेषण गर्न थप समयको माग गरेपछि राष्ट्र बैंकले असोजमसान्तसम्म समय दिएको हो ।

दीर्घकालसम्म स्थिर ब्याजदर निर्धारण गर्नुपर्ने र यस्तो ब्याजदरमा जोखिमको व्यवस्था मिलाउन योजना आवश्यक पर्ने भएकाले बैंकहरूलाई तयारी गर्न समय दिएको राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभाग कार्यकारी निर्देशक देवकुमार ढकालले बताए ।

‘८ प्रतिशत ब्याजदरबाट कर्जा लिन शुरू गरेका ग्राहकको ब्याज बढेर १५ प्रतिशतसम्म पुग्यो । ब्याजदर बढेको बढ्यै गर्‍यो भनेर गुनासो गर्ने ग्राहक धेरै थिए,’ उनले अभियानसँग भने, ‘यसकारण बजारमा स्थिर ब्याजदर कायम गर्न अब बैंकहरूले जोखिम कसरी व्यवस्थापन गर्ने भनेर योजनासहित ब्याजदर निर्धारण गर्नुपर्ने हुन्छ ।’

प्रत्येक ३र३ महीनामा कर्जाको ब्याजदर प्रायः बैंकहरूले बढाउने गर्दा ऋणीहरूका लागि कति ब्याज बढ्छ भन्ने चिन्ता हुन्थ्यो । अधिकांश ऋणीले प्रत्येकपटक कर्जाको ब्याजदर बढ्दा मर्का परेको गुनासो गर्दै आएका थिए ।

यसलाई रोक्न स्थिर ब्याजदर नीति ल्याइएको हो । यस्तो ब्याजदर दीर्घकालीन अवधिसम्म लागू गर्नुपर्ने भएकाले यति बेला वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरू स्थिर ब्याजदर निर्धारण गर्न अध्ययन तथा विश्लेषणमा जुटेका छन् ।

राष्ट्र बैंकका अनुसार असोज ३ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपको भारित औसत ब्याजदर ६ दशमलव शून्य १ प्रतिशत छ भने कर्जाको भारित औसत ब्याजदर १० दशमलव ११ प्रतिशत रहेको छ ।

बैंकहरूमा करीब २ खर्बको हाराहारीमा अधिक तरलता भएकाले निक्षेप र कर्जाको ब्याजदर घटिरहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्