Logo

उपत्यकाको अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास



काठमाडौँ, ५ असोज। काठमाडौँ उपत्यकामा अनलाइन शिक्षा शुःल्कमा एकरुपता बनाउने प्रयास थालिएको छ । सरकारले जारी गरेको निर्देशिकाले स्थानीय तहलाई दिएको जिम्मेवारीअनुसार उपत्यका नगरपालिका फोरमले शुःल्कको एकरुपता बनाउन छलफल थालेको हो । फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शिक्षा शुःल्कको विषयमा विभिन्न नगर र महानगरपालिकाका प्रमुख एवं उपप्रमुखसँग छलफल शुरु गरेको जानकारी दिनुभयो ।

केही दिन अनलाइनमाध्याम वा भौतिक दूरी कायम गरेर प्रत्यक्ष भेटघाट गरी छलफल शुरु गरिएको र सबैको रायका आधारमा फोरमले शुःल्क निर्धारणका लागि आवश्यक निर्णय गरेर सरकारलाई सिफारिस गर्ने उहाँले जानकारी दिनुभयो । दिनदिनै बढ्दो क्रममा रहेको कोभिड–१९ ले उपत्यकालाई नराम्ररी प्रभावित बनाइरहेको सन्दर्भमा त्यसको नियन्त्रणका उपाएबारे समेत छलफल जारी रहेको फोरमले जनाएको छ । सार्वजनिक सवारी साधानलाई तत्कालै सञ्चालन गर्न नहुने पक्षमा फोरम रहेको थियो । उपत्यकाका नगरपालिकाले तत्काल खुलाउन नहुने भन्दै सरकारलाई सुझाव समेत दिएको तर सरकारले असोज १ गतेबाटै सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय भएपछि उपत्यकामा थप जोखिम बढेको फोरमले जनाएको छ ।

पछिल्लो समयमा मुलुकभर देखिएको सङ्क्रमितमध्ये आधा उपत्यकाका छन् । यसअघि फोरमको सक्रियतामा उपत्यकाको समुदायमा सङ्क्रमण दर कस्तो छ भनेर अध्ययन भएको थियो । झण्डै ४० हजारको परीक्षण गर्दा करिब ७ हजार मानिस पोजेटिभ देखिएकाले अझै समुदायमा भने पुगिनसकेको निष्कर्ष निकालिएको थियो । फोरमले २८ हजार परीक्षण गर्ने लक्ष्य राखेको थियो । त्यसमा १० हजार सङ्क्रमित देखिएमा समुदायमा प्रवेश गरेको निष्कर्ष निकाली नियन्त्रणका आवश्यक योजना निर्माण गर्ने तयारीका साथ गरिएको परीक्षणको नतिजाले अनुमान गरिए भन्दा न्युन सङ्क्रमित भेटिएका थिए । अहिले सार्वजनिक सवारी सञ्चालन भएपछि भने जोखिम बढेको समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्