Logo

वीरगञ्ज नाकामा रोकिएको ५० कन्टेनर छोकडा कुहिन थाल्यो



वीरगञ्ज, असोज ५ । सरकारी प्रतिबन्धका कारण विभिन्न बन्दरगाहमा रोकिएका केराउ, मरीच र सुपारीलाई आयात अनुमति दिइए पनि सँगै रोक लगाइएको छोकडा भित्र्याउने विषय अझै अन्योलमा छ ।

बन्दरगाहमा ल्याइएका छोकडा के गर्ने भन्नेमा सरकारले निर्णय नलिँदा करीब ५० कन्टेनर छोकडा वीरगञ्ज सुक्खा बन्दरगाहमा अलपत्र परेको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब बढेको भन्दै सरकारले गत चैत १६ गते यस्ता वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । निर्णयअघि सिपमेन्ट भए पनि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको पूर्वस्वीकृति नलिएका १ हजार कन्टेनर सामान बन्दरगाहमा रोकिएका थिए ।

गत भदौ १४ गतेको मन्त्रिपरिषद् बैठकले चैत १६ अघि सिपमेन्ट भइसकेका केराउ र मरीच एकपटकका लागि भित्र्याउन दिने निर्णय गरेको थियो । त्यसअघि नाकाका रोकिएको सुपारी छोड्ने निर्णय भइसकेको थियो ।

सरकारी निर्णयपछि केराउ, मरीच र सुपारी भित्रिए पनि छोकडा भने ५ महीनाभन्दा लामो समयदेखि बन्दरगाहमा रोकिएको आयातकर्ता नवनीत अग्रवालले बताए । एउटै निर्णयबाट रोकिएको वस्तु छोड्ने बेलामा सरकारले विभेदपूर्ण व्यवहार देखाएको आरोप अग्रवालको छ ।

‘सरकारले चैत १६ गते केराउ, मरीच, सुपारी, छोकडालगायत वस्तुको आयात रोक्यो । तर, छोड्ने निर्णय गर्ने बेलामा छोकडाको विषय छुटाउनु विभेद हो,’ उनले भने । बन्दरगाहमा रोकिएको छोकडा कुहिन थालेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्