Logo

पहिलो पटक १२ कम्पनीलाई नेपाली चियाको ट्रेडमार्क



विराटनगर, असोज ६ । नेपाली अर्थोडक्स चियाले आफ्नै ट्रेडमार्क पाएको २ वर्षपछि नेपाली चिया कम्पनीहरूले विश्व बजारमा आफ्नो उत्पादनमा सो ट्रेडमार्क प्रयोग गर्न पाउने भएका छन् ।

‘नेपाल टी क्वालिटी फ्रम द हिमालयाज’ लेखिएको लोगोसहितको ट्रेडमार्कका लागि आवेदन दिएका ४२ चिया कम्पनीमध्ये पहिलो चरणमा १२ चिया कम्पनीले ट्रेडमार्क प्रयोग पाउँदै छन् । यी कम्पनीलाई कृषिमन्त्री घनश्याम भुसालले इलामको फिक्कलमा यसका लागि मंगलवार प्रमाणपत्र वितरण गर्दै छन् ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीले यी १२ कम्पनीले ‘नेपाल टी क्वालिटी फ्रम द हिमालयाज’ लेखिएको लोगोसहितको अर्थोडक्स नेपाली चिया अब विश्व बजारमा निर्यात गर्न पाउनेछन् । यो ट्रेडमार्क २०७४ चैतमा सार्वजनिक गरिएको थियो ।

ट्रेडमार्क कार्यान्वयनमा आएपछि विश्व बजारमा नेपाली चियाको विश्वसनीयता बढ्ने नेपाल टि प्लान्टर्स एशोसिएशनका सल्लाहकार उदय चापागाईंले बताए । १५७ वर्षअघि गजराज सिंह थापाले चीनबाट ल्याएको चिया रोपेर नेपालमा चियाको उत्पादन शुरू गरेयता पहिलोपटक नेपाली चियाले आफ्नै पहिचानसहित विश्व बजारमा प्रतिस्पर्धा गर्ने उनले बताए ।

विश्व बजारमा धारापानी चियाको नामले चिनिनुुभन्दा नेपालको चियाको नामले चिनिनुले छुट्टै अर्थ राख्ने भएकाले किसान, व्यवसायी र उद्योगीका लागि यो खुशीको अवसर भएको उनले बताए ।

ट्रेडमार्क प्रयोग गर्न चिया उत्पादकले बोर्डले तोकेको मापदण्ड पूरा गरी बोर्डमा आवेदन दिनुपर्छ । ट्रेडमार्क कार्यान्वयनका लागि ‘नेपाल अर्थोडक्स चिया सर्टिफिकेशन ट्रेडमार्क कार्यान्वयन निर्देशिका–२०७४’ मै तयार भइसकेको छ ।

नेपालमा साना र मझौला गरी १ सय चिया उद्योग रहेको र अब उनीहरूले ट्रेडमार्कका लागि निर्धारित नियम र परिधिमा रहेर चियाको उत्पादन गर्नुपर्ने चुनौती रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्