स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले लकडाउन भनेर देशभरि लकडाउनको कुरा नगरेको स्पष्ट पारेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता गौतमले यस्तो बताएका हुन् । पत्रकार धमलाले फेरि पनि के कारणले लकडाउन लगाउन खोज्नुभएको हो ? भनेर सोधेको प्रश्नमा उनले भने,‘ मैले दुईओटा कुरा भनेको थिएँ । एउटा कुरा अहिले जे–जे कुरामा प्रतिबन्ध छ, जस्तो सपिङ मलहरू, स्विमिङ पुलहरू, कलेजहरू, पार्टी प्यालेसहरू जहाँ भीडभाड हुन्छ, त्यहाँ त्यो कुरा एक महिना निरन्तर गरिदिनुस् भनेर अनुरोध गरिएको हो । नेपाल सरकारलाई भन्ने भनेर विचार गरिएको एउटा कुरा । अर्को कुरा २५००० संक्रमित भए भने हाम्रो स्वास्थ्य संस्थाले धान्न कठिन पर्छ । दुई दिन अगाडि १८००० पुगेको थियो, अहिले १७००० छ । त्यो भयो भने त्यतिबेला कहीँ कहीँ ठाउँमा केश धेरै छ, त्यो ठाउँमा लकडाउन गर्नुपर्ने हुनसक्छ ।’ प्रस्तुत छ डा. गौतमसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:
तपाईँँले फेरि पनि लकडाउनको कुरा गर्नुभयो, किन ? के कारणले ? त्यसको आधार दिनुहोस् त नेपाली जनतालाई ?
मैले दुईओटा कुरा भनेको थिएँ । एउटा कुरा अहिले जे–जे कुरामा प्रतिबन्ध छ, जस्तो सपिङ मलहरू, स्विमिङ पुलहरू, कलेजहरू, पार्टी प्यालेसहरू जहाँ भीडभाड हुन्छ, त्यहाँ त्यो कुरा एक महिना निरन्तर गरिदिनुस् भनेर अनुरोध गरिएको हो । नेपाल सरकारलाई भन्ने भनेर विचार गरिएको एउटा कुरा । अर्को कुरा २५००० संक्रमित भए भने हाम्रो स्वास्थ्य संस्थाले धान्न कठिन पर्छ । दुई दिन अगाडि १८००० पुगेको थियो, अहिले १७००० छ । त्यो भयो भने त्यतिबेला कहीँ कहीँ ठाउँमा केश धेरै छ, त्यो ठाउँमा लकडाउन गर्नुपर्ने हुनसक्छ ।
तर पनि लकडाउन आजको आवश्यकता होइन नि त ? लकडाउनको कुरा तपाईँले किन गरिरहनुभएको छ ?
लकडाउन भनेर देशभरि लकडाउनको कुरा गरेको होइन । खास÷खास ठाउँमा यदि त्यस्तो परेको छ भने, एकदमै धेरै फैलियो भने त्यस्तो अवस्थामा मात्रै गर्ने हो । त्यसमा पनि सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूले जनस्वास्थ्यका मापदण्डहरू पालना गरिदिनुभयो, मास्क लगाईदिनुभयो, दूरी कायम गरिदिनुभयो भने त्यो अवस्था आउँदैन ।
लकडाउनको कारणले गर्दाखेरि जनता आजित भईसकेको अवस्थामा तपाईँले फेरि पनि लकडाउनको कुरा गर्दै हुनुहुन्छ ? नेपाली जनतामा यसले सन्त्रास छायो नि त ?
त्यसमा सन्त्रास होइन । यदि यस्तो भयो भने गर्नुपर्छ भनिएको हो । त्यो स्वास्थ्यको दृष्टिले भनिएको हो । सन्त्रास हुने, नहुने अलग कुरा भयो । पछि व्यापार–व्यवसाय हुन्छ । हामीले नै हो त, यो लकडाउन खुकुलो हुनुपर्छ जनजिविकाको लागि, मान्छेको जनजीवनमा कठिनाई आयो, त्यसैले वातावरण मिलाईदिनुपर्छ भनेर भनेको । धेरै लामो समयसम्म लकडाउन गरेर राख्न हुन्न भनेर त्यसलाई खुकुलो बनाउनुपर्छ भन्ने पनि त स्वास्थ्य मन्त्रालय नै हो नि । त्यसो भएर त्यसो भन्न मिल्दैन ।
भन्ने त स्वास्थ्य मन्त्रालय हो तर सरकारले लकडाउन नगर्ने भनिसकेको बेला स्वास्थ्य मन्त्रालयले बोल्ने त फेरि ?
सरकार भनेको के ? सरकारले रोगको बारे्मा, यसको फैलावटको बारेमा, व्यवस्थापनको बारेमा धृरै कन्सर्न त स्वास्थ्य मन्त्रालयलाई छ नि । नेपाल सरकारको सबै यन्त्रहरू सञ्चालित हुनुपर्छ । उपचारको काम स्वास्थ्य मन्त्रालयले गरिरहेको छ । स्वास्थ्य मन्त्रालयको कुरा सुन्नुपरेको हुन्छ, नेपाल सरकारले । त्यसरी एकांकी रूपले भन्न खोजिएको होइन ।
अब त समाज नयाँ सहजीकरणतिर बढाउने बेला भएन र ?
यस्तो कुरा हो, मैले त्यहाँ भनेकै थिएँ । पच्चीस हजार संक्रमित संख्या भए भने त्यहाँ सिस्टमले धान्न कठिन हुने हुनाले लकडाउन भनिएको हो । हामी सबैले मास्क लगाऔँ, दूरी कायम गरौँ ।
अब त हामीले कोरोनासँग खेल्नुपर्छ । तपाईंको सुझाव के छ ?
त्यसलाई हामीले महशुस गरेकै छौँ । अबको हाम्रो लाइफ भ्याक्सिन नआएसम्म एक÷दुई वर्ष जति लाग्छ, भ्याक्सिन आउनको लागि, त्यो बेलासम्मको लागि हामीले कोरोनासँग जुध्दै, कोरोनासँगै दोस्ती गर्दै पनि हामीले हाम्रो लाइफलाई बिताउनुपर्छ । हाम्रो कामहरू गर्नुपर्ने हुन्छ । हाम्रो क्रियाकलापहरू पनि सञ्चालन गर्नुपर्ने हुन्छ । त्यो कुरामा हामी प्रतिबद्ध छौँ ।
कोरोनाबाट हामीले धेरै कुरा पनि सिक्यौँ । धेरै शिक्षा पनि प्राप्त गरेका छौँ । अब कोरोना रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम केही छन् ? तपाईँहरूले काम गर्न सक्नुभएको छ ? समीक्षा गर्न सक्नुहुन्छ ?
हामीले रातदिन राम्रोसँग काम गरेका छौँ । हामीले ठिकसँग काम गरेको हुनाले जुन स्तरमा बाहिर विदेशको अवस्था हेर्दाखेरि नेपालको पनि अन्यत्र ठाउँहरूको जुन किसिमको रेट थियो, त्यो रेट अहिले घट्दै छ । सरकारले राम्रो काम गरेको छ । स्वास्थ्य मन्त्रालयले त्यसलाई प्राथमिकतामा राखेर पाँच महिनादेखि काम गरिरहेको छ । भलै कामहरू गर्दाखेरि कहीँकतै कमजोरीहरू भएका होलान्, त्यो कुरा म मान्छु । तर ओभरल हामीले राम्रोसँग काम गरेको हुनाले नै आजको यो राम्रो अवस्था आएको छ ।
संक्रमितको घर सफाईमा समस्या देखियो । धेरै मान्छेहरू यतिखेर होम क्वारेन्टाइनमा नै बसिरहेका छन् नि ?
होम क्वारेन्टाइनमा बस्ने जो विरामीहरू हुनुहुन्छ, उहाँहरूले प्रयोग गरेको सामान एक ठाउँमा स्टोर गर्नुहोस् । त्यो सामान अरू मान्छेहरूलाई प्रयोग गर्न नदिनुहोस् । त्यसलाई आफैले उठाएर व्यवस्थापन गर्ने गरौँ । जति सामानहरू घरमा सड्न, गल्न सक्ने हो, एउटा कुनामा जम्मा गर्नुहोस् । यो एउटा समस्या हो । सरसामानहरू प्रयोग गरिसकेपछि ती सामानहरूलाई उचित ठाउँमा डिस्पोज गरियो भने अरूलाई सर्ने डर हुँदैन र यो कुरा गर्न म सबैलाई विनम्रतापूर्वक नेपाली दाजुभाइ र दिदीबहिनीहरूलाई म अनुरोध गर्न चाहन्छु ।