काठमाडौं, असोज ९ । भारत सरकारले निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा ह्वात्तै बढेको प्याजको मूल्य सरकारको बजार अनुगमनपछि क्रमशः ओरालो लाग्दै गएको छ ।
भारत सरकारले निर्यात रोकेपछि गत भदौ २९ देखि नै कालीमाटी फलफूल तथा तरकारी बजारमा प्याज आपूर्ति बन्द भएको छ । आपूर्ति बन्द भएको दोस्रो दिनदेखि नै नेपाली बजारमा प्याजको मूल्य अकाशिएको थियो ।
व्यापारीहरूले मनपरी प्याजको मूल्य तोक्न थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौं महानगरपालिकाले निरन्तर अनुगमन गरेसँगै मूल्य घट्न थालेको हो ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार भदौ २९ गते औसत थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको प्याजको मूल्य भारतले निर्यात प्रतिबन्ध लगाएको २ दिनमै करिब ९९ प्रतिशतले वृद्धि हुँदै प्रतिकिलो १ सय १९ रुपैयाँ पुगेको थियो ।
खुद्रा बजारका व्यापारीहरूले प्रतिकिलो १ सय ६० रुपैयाँसम्म बेचेका थिए । अहिले कालीमाटी बजारमा प्याजको मूल्य १ सय २ रुपैयाँ पुगेको छ ।
बजारमा कृत्रिम अभाव र कालोबजारी सुरु भएपछि भदौ ३१ गतेदेखि नै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहित काठमाडौं महानगर र उपभोक्ताकर्मीको संयुक्त टोलीले अनुगमन सुरु गरेको थियो । अनुगमनका क्रममा प्याजको कालोबजारीमा संलग्न व्यापारीहरूलाई कारबाही गर्न थालेपछि मूल्य नियन्त्रणमा आएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।