Logo

कसको पीसीआर गर्नुपर्छ र कसको पर्दैन ? पढ्नुहोस् १० बुँदा



काठमाडौं, १० असोज । सरकारले अब निश्चित व्यक्तिहरुको मात्र पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार लक्षण बिनाका व्यक्तिको पीसीआर परीक्षण आवश्यक छैन।

कसको पीसीआर परीक्षण गर्ने र कसको नगर्ने भनेर मन्त्रालले जानकारी सार्वजनिक गरेको छ। प्रवक्ता गौतमका अनुसार कोभिडको लक्षण भएका सबै व्यक्तिको पीसीआर आवश्यक पर्छ। मन्त्रालयले ज्वरो, सुख्खा खोकी, सास फेर्न गाह्रो हुने, स्वाद गन्ध थाहा नपाउने, पखाला लाग्नु कोरोनाका लक्षण भएको बताएको छ।

मन्त्रालयका अनुसार कोरोना संक्रमितको सम्पर्कमा आएका व्यक्तिको पाँच दिनपछि पीसीआर परीक्षण गर्नुपर्छ। कसैलाई अकस्मात स्वासप्रश्वासमा समस्या भए पीसीआर गर्नुपर्छ।

त्यसैगरी विदेशबाट फर्किएर र कम्तिमा पाँचदेखि सात दिन क्वारेन्टाइनमा बसेका व्यक्ति, अग्रपंक्तिमा रहेर काम गर्ने, आईसीयूमा राख्नुपर्ने व्यक्तिको अनिवार्य रुपमा पीसीआर गर्नुपर्छ।

सँगै मन्त्रालयले दीर्घ रोगी र ६० वर्ष नाघेका व्यक्तिको पीसीआर परीक्षण गर्नुपर्ने बताएको छ। त्यसैगरी चिकित्सकको सल्लाह अनुसार शल्यक्रिया गर्नुपर्ने व्यक्तिको पीसीआर गर्नुपर्छ तर पीसीआर नतिजा नआएकै कारण शल्यक्रिया रोक्न भने पाइने छैन।

सँगै मन्त्रालयले आफ्नै खर्चमा कूटनीतिक नियोग वा भिसाका लागि पीसीआर गर्न सकिने बताएको छ। यसबाहेक अरुले भने पीसीआर गर्नु आवश्यक नभएको मन्त्रालयका प्रवक्ता गौतमको भनाइ रहेको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्