Logo

तीन दशकसम्म मुद्दाको झमेला



राजविराज, १२ असोज । सप्तरीको बोदे बर्साइन–७ का ५७ वर्षीय विनोदकुमार यादवलाई तीन दशकदेखिको मुद्दाले छाडेको छैन। बुवा सकलदेव र ठूलो बुवाहरू जयकृष्ण र बालेश्वरको मृत्युपछि विनोदले मुद्दा लड्न थालेका रहेछन्। ‘अदालतले फैसला गर्दा पुस्ता बित्यो’, उनले भने, ‘कार्यान्वयन गर्न अर्को पुस्ता कुनुपर्ने देखियो।’

उनले पछिल्लो पटक भदौ २४ गते आफ्नो नैसर्गिक अंश हक रहेको जमिनमा वडा कार्यालय निर्माण हुन लागेको भन्दै अदालतमा निषेधाज्ञाको रिट हालेका थिए। आफ्नो अंशभागमा परेको कित्ता नम्बर १३२१ को १ कठ्ठा ५ धुर जमिनमा खडक नगरपालिका–८ को वडा कार्यालय बनिरहेको उनको दाबी छ।  उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले नगरपालिका र वडा कार्यालयका नाममा भदौ २४ गते नै अल्पकालीन अन्तरिम आदेश जारी गर्‍यो। ‘छलफलको मितिसम्म निर्माण कार्य नगर्न(नगराउन र यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ’, आदेशमा भनिएको छ।

उक्त आदेशविपरीत नगरपालिकाले बिसनपुरस्थित विवादित जग्गामा भवन निर्माणको काम जारी राखेको छ। जिल्ला प्रशासन र नगरपालिकाकै न्यायिक समितिले वडा कार्यालयलाई भदौ ३१ गते पत्राचार गरी अदालतको आदेशबारे जानकारी गराएका थिए। अदालतको आदेश पालना गर्न न्यायिक समितिले पठाएको पत्र वडाध्यक्ष मो। इसराइलले बुझेको नगरपालिकाका कानुनी सल्लाहकार अधिवक्ता अजयकुमार चौधरीले सुनाए। अदालतको आदेश मानेर निर्माण काम तत्काल स्थगन गर्नुपर्ने उनको भनाइ छ।

वडाध्यक्ष इसराइलले तीन कठ्ठा जमिनमध्ये एक कठ्ठामा १ करोड २२ लाख रुपैयाँ लागतमा वडा कार्यालय भवन निर्माण भइरहेको जानकारी दिए। काम गरिरहेको कन्स्ट्रक्सनविरुद्ध उजुरी नहालेकाले आफूले निर्माण कार्य रोक्न नमिल्ने भन्दै उनी पन्छिए।

विनोदले दाबी गरेको जमिन साबिक कल्याणपुर गाविसले सुशील यादवबाट २०७० असार ३ गते खरिद गरेपछि वडा कार्यालयको भोगमा आएको थियो। उनका अनुसार काका कपलेश्वरको मृत्युपछि काकी अमेरिकादेवीले बुवा, ठूलो बुवाको अंश लाग्ने जमिनसमेत बिक्री गरेकाले तीन दशकदेखि मुद्दा चल्दै आएको छ। चार दाजुभाइमध्ये कान्छा कपलेश्वर खेतीपातीको काम हेर्ने गर्थे। तीन दाजु नोकरीका सिलसिलामा जिल्लाबाहिर रहने गरेकाले सगोलको १५ बिघा जमिन कपलेश्वरकै नाममा थियो।

उनको मृत्युपछि अमेरिकादेवीले मानराजा र कल्याणपुरको १५ बिघा जमिन आफ्नो नाममा ल्याई २६–२७ जनालाई टुक्रा पारेर बेचेकी थिइन्। वडा कार्यालयले भवन बनाइरहेको जमिन अमेरिकादेवीले २०४८ फागुन १२ गते कबुलम खातुनलाई बिक्री गरेकी थिइन्। कबुलनबाट फुलेश्वर साह, बिन्दीलाल साह, सुशील यादव हुँदै कल्याणपुर गाविसले खरिद गरेको थियो। त्यही जमिनमै वडा कार्यालयले भवन बनाइरहेको विनोदका भाइ वीरेन्द्रले बताए।

सप्तरी जिल्ला अदालतले २०५३ असार ११ गते सकलदेवको पक्षमा फैसला गरेको थियो। पुनरावेदन अदालतले २०५५ माघ १७ गते त्यसलाई उल्ट्याइदियो। सर्वोच्च अदालतले २०६२ जेठ २७ गते पुनः सकलदेवकै पक्षमा फैसला गरेको उनका कान्छा छोरा नागेन्द्रले कागज देखाए।

विनोदले अदालतमा परेका २६ मध्ये २५ वटा मुद्दा जितेको जानकारी दिए। १५ बिघा जमिनमध्ये साढे दुई बिघा जमिन फिर्ता आउन अझै बाँकी रहेको उनको भनाइ रहेको समाचार आजको अन्नपुर्ण पोस्टले छापेको छ ।



प्रतिक्रिया दिनुहोस्