Logo

बेइजिङबाट राजदूत पाण्डेले भने- भारतले हाम्रो केही भूमि कब्जा गरेको छ, चीनसँग कुनै सीमा समस्या छैन



काठमाडौं, १२ असोज । चीनका लागि राजदूत महेन्द्रबहादुर पाण्डेले भारतले नेपालको भूमि कब्जा गरेको बताएका छन् । उनले चीनसँग भने सीमा सम्बन्धि कुनै समस्या नरहेको बताए ।

भारतले हाम्रो केही भूमि कब्जा गरेको छ, चिनियाँ विदेशनीति सम्बन्धी धारणा सार्वजनिक गर्दै आएको ग्लोबल टाइम्ससँगको अन्तवार्तामा राजदूत पाण्डेले भने, ‘चीनसँग हाल नेपालको सीमा सम्बन्धी कुनै समस्या छैन ।’

नेपाल र चीनको सम्बन्ध सुमधुर रहेको र केही प्रोपोगान्डा मच्चाउने भारतीय मिडियाले सम्बन्ध बिग्रेको देखाउन खोजेको आरोप लगाए । उनले भने, यो भ्रामक प्रोपोगान्डा हो ।

बेइजिङमा रहेका राजदूत पाण्डेले भारतीय मिडियाको आलोचना समेत गरेका छन् । विगतमा चीनसँग सीमा विवाद रहेकोमा माओत्से तुङको शासनकालमा सममाधान गरिएको बताए । उनले भने, ‘हामीले सीमा समस्याबारे सम्झौता गरी विवाद समाधान गरेका थियौ ।’

भारतसँगको सीमा विवादबारे उल्लेख गर्दै उनले सन् १९६२ को युद्धमा भारत पराजित भएको समेत टिप्पणी गरेका छन् । उनले भने, ‘जब सन् १९६२ मा चीन र भारतबीच युद्ध भएको थियो भारत पराजित भयो । त्यतिबेला केही भारतीय सैनिक अल्पकालिन रुपमा हाम्रो भूमिमा बसे र पछि त्यसलाई दाबी गरे ।’ उनले समस्याको कारण नै त्यही भएको भन्दै साथ बसेर समस्याको समाधान गर्न पहल गरिने बताए ।

विगतमा आफूहरुले सीमा समस्या समाधानका लागि निकै पहल गर्दा भारतले चासो नदेखाएको र पछिल्लो समय भारत यसमा समाधानका लागि साथै बस्न चाहेको बताए ।

चीन नेपाल रेल परियोजनाको पछिल्लो प्रगतिको बारे सोधिएको प्रश्नमा राजदूत पाण्डेले दुवै पक्ष मिहेनतका साथ काममा लागेको बताए । सम्भाव्यताको अध्ययनबारे काम भइरहेको उनको भनाई थियो ।

राजदूत पाण्डेले नेपाल एक चीन नीतिको समर्थक रहेको बताए । उनले भने, ‘चाहे मकाओ, हङकङ वा ताइवान वा तिब्बत नै किन नहुन् सबै चीनको हुन् र हामी एक चीन नीतिको पक्षमा छौं ।’-तस्वीर स्रोतः ग्लोबल टाइम्स



प्रतिक्रिया दिनुहोस्