काठमाडौं, १३ असोज । काठमाडौं उपत्यकामा आज एकै दिन ९ सय ३४ जना कोरोना संक्रमित थपिएका छन् । देशभर १५ सय १३ जनामा कोरोना पुष्टि भएकोमा काठमाडौमा मात्रै ९ सय ३४ जना थपिएसँगै जोखिम बढेको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले १० हजार ८ सय ९१ जनाको पिसीआर परिक्षणमा १५ सय १३ जनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका हुन् ।
त्यसैगरी आज २४ घन्टामा ७३१ जना कोरोना संक्रमण मुक्त भई घर फर्केका छन् । आजसम्म निको भई घर फर्कनेको सख्या ५५ हजार ३ सय ७१ रहेको छ । काठमाडौं उपत्यकामा ९३४ थपिएका मध्ये काठमाडौंका ७४७ जना र ललितपुरका ११४ जना र भक्तपुरका ७३ जना रहेका छन् । देशभर कुल संक्रमितको सख्या ७६ हजार २ सय ५८ पुगेको छ ।