Logo

भूपरिवेष्टित राष्ट्रलाई वित्तीय सहयोग गर्न प्रधानमन्‍त्रीको आह्‍वान



काठमाडौं, १४ असोज । प्रधानमन्त्री केपी ओलीले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई महामारीबाट पार लगाउन र ऋणको अतिसंवेदनीलता सम्बोधन गर्न वित्तीय तथा प्राविधिक सहयोगका लागि आह्वान गरेका छन्।

संयुक्त राष्ट्र सङ्घको ७५ औं महासभाका अवसरमा न्युयोर्कमा मंगलबार भएको ‘दिगो विकास कार्यसूची २०३० मा लगानी, कोभिड-१९ र त्यसपछिको समय’ विषयको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

उनले घट्दो व्यापार तथा पर्यटकीय आय, वैदेशिक मुद्राको आप्रवाह र प्रत्यक्ष वैदेशिक लगानी, बाह्य ऋण भुक्तानीको चापका बीचमा पनि वर्तमान सङ्कटका कारण उत्पन्न चुनौतीलाई प्रभावकारी रुपमा सम्बोधन गर्न भूपरिवेष्टित विकासोन्मुख राष्ट्र सङ्घर्षरत रहेको उनले बताए।

भूपरिवेष्टित विकासोन्मुख राष्ट्रका विशेष आवश्यकतालाई पहिचान गरी संयुक्त व्यापार तथा लगानी प्रवद्र्धनका साथै सङ्कटमोचनका निम्ति विश्वव्यापी सहयोग र समन्वय संयन्त्र अपरिहार्य भएको उनको भनाइ छ।

भूपरिवेष्टित विकासोन्मुख राष्ट्रको व्यापार र संरचनागत आर्थिक रुपान्तरणका लागि क्षमता अभिवृद्धि महत्वपूर्ण हुनेमा उनले जोड दिएका छन्। दिगो विकासका लक्ष्य हासिलका कार्यक्रम कार्यान्वयन गर्न उनीहरुको वित्तीय अभाव अन्य मुलुकभन्दा अधिक रहेको यथार्थलाई प्रधानमन्त्रीले प्रस्तुत गरेका समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्