Logo

सर्वोच्चद्वारा पूजाआजा रोक गरिनुको कारण माग



काठमाडौं, असोज १४ । सर्वोच्च अदालतले पूजाआजाका लागि पशुपतिनाथलगायतका मन्दिर हालसम्म पनि खुला नगरिनुको कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतका निकायसँग माग गरेको छ ।

न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पशुपतिनाथलगायतका मन्दिर पूजाआजाका लागि हालसम्म पनि खुला नगरिनुको कारण पेस गर्न आदेश दिएको हो । इजलासले त्यस्तो कारण १५ दिनभित्र पठाउन पनि आदेशमा भनेको छ ।

मुलुकमा लगाइएको लकडाउनको अवधि सकिएको भए पनि हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरलगायतका मठमन्दिर हालसम्म पनि खुला नगरिएको हुनाले त्यसलाई खुलाई पाउन माग गर्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेललगायतले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।

रिट निवेदनमा नेपालमा झन्डै ९० प्रतिशत हिन्दू धर्म मान्ने व्यक्ति रहेका उल्लेख गर्दै लकडाउन खुलिसकेपछि पनि उनीहरूको आराध्य देव पशुपतिनाथको मन्दिरलगायतका मठमन्दिर खुला नहुने कार्यले संवैधानिक हक हनन भएको जनाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले गत भदौ ३१ गते आदेश जारी गरी मठ, मन्दिर, मस्जिद, चर्चलगायतका परम्परागत धार्मिक तथा सांस्कृतिक स्थलहरूमा दैनिक नित्य पूजाबाहेक भीडभाडजन्य गतिविधि सञ्चालन गर्न रोक लगाएको थियो ।नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot