Logo

नाका खोल्न चीन सकारात्मक



काठमाडौँ, १४ असोज । तातोपानी र रसुवागढी नाका सञ्चालन गर्न चीन सकारात्मक भएको छ । हाल रसुवागढी नाकाबाट निकै कम मात्र कन्टेनर नेपाल भित्रिएकामा दुवै नाका सहज बनाउन चीन सकारात्मक भएको हो । मङ्गलबार बसेको नेपाल–चीन व्यापार संयुक्त कार्यदलको पहिलो अनलाइन बैठकमा कोरोना भाइरस कोभिड–१९को परिस्थितिमा सुरक्षात्मक रूपमा नाका सञ्चालन गर्न छलफल भएको थियो ।

छलफलमा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूूर्ति मन्त्रालयका सहसचिव प्रकाश दाहाल र चीनका तर्फबाट चिनियाँ वाणिज्य मन्त्रालयका एसिया मामिला विभागका महानिर्देशक पेङ गाङले नेतृत्व गर्नुभएको थियो । चीनको केन्द्रीय तहमै भएको यो पहिलो छलफल पनि हो । छलफलमा नाका सञ्चालनको विषयमा चीनले सुरक्षालाई मुख्य चासोको विषय बनाएको सहसचिव दाहालले जानकारी दिनुभयो । “नाकामै पीसीआर ल्याब राख्नुपर्ने, निरन्तर डिस्इन्फेक्ट गर्नुपर्ने, कामदारलाई क्वारेन्टाइनमा राख्नुपर्ने, नियमित सुरक्षाजाँच गर्नुपर्ने जस्ता विषयमा चिनियाँ पक्षको चासो थियो”, उहाँले भन्नुभयो । नेपालले यी सबै विषय पालना गर्ने तर निःसर्त नाका खोल्नुपर्ने प्रस्ताव राखेको उहाँले बताउनुभयो ।

नेपालको प्रस्तावमा चीनले तत्काल सीमित मात्रामा खोल्ने र नेपालको तयारी हेरेर आश्वस्त भएपछि सामान्य रूपमै नाका सञ्चालन गर्ने जनाएको उहाँले जानकारी दिनुभयो । त्यस्तै दुवै पक्षबीच अन्य नाका पनि पूर्वाधार निर्माण गरेर सञ्चालन गर्ने विषयमा समझदारी बनेको छ । कृषिजन्य सामग्रीको क्वारेन्टाइन परीक्षण तथा मासुसमेत निर्यातका लागि एकीकृत प्लान्ट र ‘मल्टिफङ्स्नल ल्याब’ सञ्चालन गर्ने विषयमा समेत दुई पक्षबीच छलफल भएको थियो ।

कृषि तथा पशुुपन्छी विकास मन्त्रालयमार्फत नेपालले आफ्नो धारणा दिने र त्यसमा चिनियाँ पक्षले निर्माणमा सहयोग गर्नुपर्ने प्रस्ताव नेपालले राखेको थियो । त्यस्तै ‘ड्युटी फ्री’अन्तर्गत नेपालले चीन निर्यात गर्न सक्ने आठ हजार ३० वटा सूचीमध्ये २४७ वस्तु मात्र निर्यात भएको अवस्थामा चीन तर्फको आयात सूचीमा नसमेटिएका कृषिजन्य, हर्बल र मासुलाई समेट्न चीन सकारात्मक भएको छ । यसरी चीनले आयात सूचीमा नसमेट्दा नेपालमा उत्पादित वस्तु तेस्रो देश हुँदै चीन निर्यात भइरहेको छ । नेपालले त्यस्ता १८८ वटा वस्तु आयात सूचीमा समेट्न र नेपालबाटै सीधै चीन निर्यात गर्न पाउन गरेको प्रस्तावमा चीनले तत्काल यो विषय सम्बोधन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।

वार्तामा लगानीको विषयमा पनि दुई पक्षबीच छलफल भएको थियो । चीनले खासगरी नेपालमा कर प्रक्रिया, पूर्वाधार अभाव र प्रशासनिक झमेलाजस्ता विषय लगानीको सन्दर्भमा उठाएको थियो । नेपालले पछिल्लो समय यस्ता विषयमा निकै सुधार गरेको जानकारी गराएको र त्यसकै कारण चीनको लगानी बढेको उल्लेख गरेको सहसचिव दाहालले बताउनुभयो ।

“त्यस्तो परिवेश अहिले फेरिएको छ । लगानी सहजीकरणका लागि एकद्वार नीति लागू गर्नेदेखि कानुन संशोधन गरेको जानकारी हामीले गरायौंँ”, उहाँले भन्नुभयो । नेपालको प्रतिक्रियापछि चिनियाँ पक्षले नेपालमा लगानी गर्न प्रोत्साहित गर्ने उल्लेख गरेको थियो । त्यस्तै अन्तरदेशीय आर्थिक क्षेत्र स्थापनाका लागि यसअघि भएको अध्ययनअनुसार छनोट भएका पाँचखाल, नुवाकोट र स्याफ्रुबेसीमध्ये कुनै एकको टुङ्गो लगाउन नेपालले चिनियाँ पक्षलाई आग्रह गरेको थियो । यस विषयमा छिटै निर्णय गरेर नेपाललाई बुझाउने चिनियाँ पक्षले प्रतिबद्धता व्यक्त गरेको खबर आजको गोरखापत्रले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्