Logo

जोरबिजोरको नियम उल्लंघन गर्ने १२ सय सवारी नियन्त्रणमा



काठमाडौं, असोज १४ । स्थानीय प्रशासनले जारी गरेको आदेशको उल्लंघन गर्दै सडकमा जोरबिजोर प्रणालीमा सवारी सञ्चालन नगर्नेमाथि प्रहरी कठोर बनेको छ ।

कोरोना हटस्पट उपत्यकामा जोरबिजोरको बेवास्ता गर्दै सवारीको चाप अत्यधिक बढ्न थालेपछि ट्राफिक प्रहरीले थप कडाइ गरेको हो । महानगरीय ट्राफिक प्रहरीले मंगलबार एकैदिन करिब १ हजार १ सय मोटरसाइकल र करिब १ सय ५० को हाराहारीमा चारपाङ्ग्रे निजी सवारी साधनलाई नियन्त्रणमा लिएको छ । चारवटा सार्वजनिक सवारीसाधनलाई समेत नियन्त्रणमा लिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० भीमप्रसाद ढकालले बिहानैदेखि उपत्यकाका विभिन्न स्थानबाट सवारी साधनलाई कारबाही गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो– ‘मनपरी सवारीसाधन चलाउने १ हजार २ सय ५० सानाठूला सवारीसाधनलाई कारबाही गरेका छौं ।’

उहाँका अनुसार यो प्रक्रिया स्थानीय प्रशासनले अर्को आदेश जारी नगरेसम्म निरन्तर चल्नेछ । प्रहरीले चेकजाँचका लागि ४५ स्थानमा चेक प्वाइन्ट खडा गरेको छ । यसअघि भन्दा करिब डेढ दर्जन स्थानमा चेकप्वाइन्ट बढाएको थियो ।

ट्राफिक प्रहरीले सबैभन्दा धेरै जावलाखेल, बल्खु, थापाथली, भद्रकाली, लैनचौर, चाबहिल, बानेश्वर, कोटेश्वरलगायत रिङरोडनजिकका चेक प्वाइन्टबाट सवारी नियन्त्रणमा लिएको छ ।

करिब एकसातायता सवारी चालकले जोरबिजोर प्रणालीको बेवास्ता गर्दै मनपरीरूपमा सवारी चलाउन थालेको गुनासो आएपछि मंगलबारबाट ट्राफिक प्रहरीले थप कडाइ गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्