Logo

अनुगमनको क्रममा १२ लाख बढी असुली



काठमाडौं, असोज १५ । काठमाडौं महानगरपालिकाले विगत २२ दिनदेखि गरेको अनुगमनमा व्यापारीबाट जरिवानास्वरुप १२ लाख ८७ हजार रुपैयाँ असुल गरेको छ । कामपाले तरकारी, फलफूल र खाद्य गरी १२३ वटा पसलमा अनुगमन गरेको थियो ।

यसरी गरिएको अनुगमनका क्रममा मूल्य र गुणस्तरमा उपभोक्तालाई ठगी गर्ने कालीमाटी तरकारी तथा फुलफूल बजारका २ र बल्खु तरकारी तथा फलफूल बजारका २ गरी ४ जना व्यापारीलाई कालोबजारीको कसुरमा जिल्ला प्रशासन कार्यालयमार्फत कारवाही अघि बढाइएको छ ।

उनीहरुले रु ४६ मा खरिद गरेको प्याजको कृतिम अभाव सृजना गरेर १३० मूल्यमा बेचिरहेको थिए । उनीहरुबाट बरामद भएको १३ हजार २६८ किलो प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत सबै खर्च कटाएर अधिकतम रु ६० प्रतिकिलाको दरले प्रतिव्यक्ति ३ किलोका दरले बिक्री प्रबन्ध गरिएको छ । अनुगमन टोलीले बिक्रीका लागि राखिएका अखाद्य सामग्री बिक्री गरिरहेको अवस्थामा ११ वटा पसलबाट करीब रु १० लाख मूल्य बराबरका सामान बरामदपछि नष्ट गरिएको छ ।

यसरी नष्ट गरिएका सामानमा दाल मैदा, खाने तेल, बट्टा वा प्याकेटमा राखिएका खानेकुरा, चकलेट, मिठाइ, बिस्कुट, मसला, फलफूल, जुस, चाउचाउ, चाउमिन, पानीलगायत खानेकुरा तथा पेय पदार्थ छन् । खुद्रा व्यापार गर्ने ७६ वटा पसललार्ई ७ दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिइएको छ ।

बाँकी पसललाई सुधारका लागि सचेत गराइएको छ । उपभोक्ता अधिकारका लागि नेपालको संविधानको अनुसूची ८ ले र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरेर महानगरले नियमित तरकारी, फलफूल र माछामासुको अनुगमन गर्नुपर्ने छ । रासस



प्रतिक्रिया दिनुहोस्