Logo

मृतक डा.सापकोटा उच्च रक्तचाप र मधुमेहका बिरामी हुनुहुन्थ्यो



काठमाडौं, १६ असोज । कोरोना संक्रमणबाट ज्यान गुमाउनु भएका कर्णाली प्रादेशिक अस्पताल, कालागाउँ सुर्खेतमा कार्यरत प्रमुख कन्सल्टेन्ट अर्थोपेडिक्स सर्जन डा.हरिप्रसाद सापकोटा उच्च रक्तचाप र मधुमेहका बिरामी हुनुहुन्थ्यो । कर्णाली प्रादेशिक अस्पतालले आज उहाँको स्वास्थ्य अवस्थाबारे विज्ञप्तिमार्फत् सो जानकारी गराएको हो । ५९ वर्षीय डा. सापकोटा यही भदौ २९ गतेदेखि सोही अस्पतालमा उपचाररत रहेकोमा श्वासप्रश्वासमा समस्या देखापरेपछि असोज १ गते अस्पतालको कोभिड विशेष आइसोलेसन वार्डमा भर्ना गरेर उपचार सुरु गरिएको थियो ।
उहाँले मधुमेह र उच्च रक्तचापको नियमित औषधि लिइरहनुभएता पनि अस्पतालमा भर्ना हुँदा उहाँको मधुमेह नियन्त्रणमा नरहेको अस्पतालले जनाएको छ ।

डा.सापकोटालाई सुरुमा अक्सिजन मात्रा सामान्य बनाउन तथा ब्लड सुगर नियन्त्रणको निम्ति विभिन्न किसिमका इन्सुलिन र एन्टिबायोटिक दिइएको अस्पतालले जनाएको छ । साथै, अक्सिजनस्तर सामान्यभन्दा कम रहेकाले कन्टिनियुस पोजेटिभ एअरवे प्रेसर सीपीआर मा राखेर उपचार गरिएको अस्पतालले जानकारी दिएको छ । सीपीएपीमा पर्याप्त अक्सिजनस्तर कायम नभएकाले विलिभल पोजेटिभ एअवे प्रेसर तथा पछि हाइ फ्लो नसल क्यानुलामा समेत राखी उपचार गरिएको थियो । यस बीचमा वहाँलाई रिम्डिसिभिरका साथै प्लाज्मा थेरापी प्रयोग गरिएको थियो ।

उपचारको क्रममा उहाँको स्वास्थ्यमा आशातित सुधार नभएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकोप्टरमार्फत् थप सुविधासम्पन्न ठाउँमा पठाउने हरसम्भव प्रयास गरिएको भए पनि अक्सिजन स्याचूरेसन निकै कम भएको हुँदा अन्यत्र पठाउँदा बाटोमा दुर्घटना हुने सम्भावना देखिएपछि उहाँलाई अन्यत्र लान नसकिएको अस्पतालले उल्लेख गरेको छ ।

सबै प्रयासका बावजुद पनि वहाँको फोक्सोमा सुरुमा निमोनिया गम्भीर भएर अक्सिजन स्याचुरेसन घट्दो अवस्थामा रहेकाले बिहीबार विहान ६ बजे र कृत्रिम श्वासप्रश्वास प्रणाली मेकानिकल भेन्टिलेटरमा मा राखिएको करिब १२ बजे मुटुको चाल बन्द हुँदा सीपिआर गरि ब्युताउन सफल भएता पनि दिउँसो ३ः३० मृत्यु भएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्