Logo

जनकपुर रेलः व्यवसाय फस्टाउने आस



जनकपुरधाम, १६ असोज । कुनै बेला जनकपुर आर्थिक राजधानीको रूपमा थियो। देशकै सबैभन्दा बढी राजस्व बुझाउने जनकपुर चुरोट कारखाना र नेपालको एक मात्र जनकपुर–जयनगर रेलसेवाले यहाँको अर्थतन्त्रलाई सम्हालेको थियो। जनकपुर–जयनगर रेलसेवा सञ्चालन हुँदाको बखत यहाँका स्थानीय उद्योगी व्यवसायीको दबदबा थियो। तर, यी दुवै धरोहर बन्द भएपछि यहाँ व्यापार–व्यवसाय खस्किँदै गयो।

रेलसेवा सञ्चालनले यहाँको व्यवसाय बढ्नेमा व्यापारी आशावादी देखिन्छन्। भारतको जयनगरबाट धनुषाको जनकपुरसम्म चल्ने रेलसेवा पुनः व्यापार–व्यवसायको प्रमुख करिडोर बन्नेमा आफूहरू आशावादी रहेको कपडा व्यापारी अमित पाठक बताउँछन्। अहिले भारतबाट किनेर नेपालसम्म ल्याउँदा ढुवानी महँगो हुने तथा यहाँसम्म आइपुग्न महिनौं लाग्ने समस्याबाट छुटकारा मिल्ने उनको कथन छ।

ठप्प भएको व्यापार व्यवसायमा रेलले नयाँ आशा जगाएको छ। ‘हाम्रो चौपट भएको व्यापारमा रेलले पुनः हाम्रो दिन फर्किने आशा जगाएको छ’, अमित पाठक भन्छन्, ‘यहाँबाट धेरै उद्योगी–व्यापारी व्यापार–व्यवसायमा उभो नलागेपछि भारत पलायन भए, हामी जेनतेन धानीरहेका छौंं, रेलले मालसमान ढुवानी ५० प्रतिशत सस्तो र सुलभ हुने भएपछि व्यापार फस्टाउने आशा छ’, उनले भने।

व्यवसाय खस्किँदै र भाडादर महँगो हुँदै गएपछि ऋणको दबाब थेग्न नसकेर उद्योगी–व्यवसायी पलायन हुन बाध्य भएको उद्योग वाणिज्य संघ प्रदेश २ का अध्यक्ष शिवशंकर साह .हिरा. बताउँछन्। ‘रेल आएपछि व्यवसायीमा आशा जागेको छ, यसले जनकपुरमा किनमेल गर्न आउनेको संख्यामा वृद्धि हुनेछ। रेलमार्गबाट मालसमान ढुवानी र भारतीय मानिसको चाप बढ्ने हुँदा व्यापार–व्यवसाय फस्टाउनेमा म आशावादी छु’, उनले भने।

जयनगर–जनकपुर रेलसेवाले समान्य रूपमा भइरहेको व्यापार दुई गुणाले बढ्ने चेम्बर्स अफ कमर्सका उपाध्यक्ष सरोज मिश्रको भनाइ छ। ‘मालसमान ल्याउन भइरहेको कठिनाइ र भारतीय सीमावर्ती क्षेत्रका मानिसलाई सदरमुकाम आउन भइरहेको कठिनाइलाई रेलले चिर्ने भएपछि व्यापारमा फड्को मार्नेछ’, मिश्रले भने, ‘रेल सञ्चालन हुँदा नेपाललाई महँगी नियन्त्रणसँग रोजगारी सिर्जना हुनेछ। साथै नेपालको पर्यटन क्षेत्रमा कोशेढुंगा सावित हुन्छ।’ शिक्षा, स्वास्थ्य, कृषि, औद्योगिक क्षेत्र तथा अन्य थुप्रै आधारभूत संरचनामाथि सहज र सवल पहुँचका लागि रेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने मिश्रको भनाइ रहेको खबर आजको अन्नपुर्ण पोस्टले उल्लेख गरेको छ ।



प्रतिक्रिया दिनुहोस्