काठमाडौं, असोज १६। विगत १० दिनयता काठमाडौंमा हरियो तरकारीको मूल्य अत्यधिक बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार गएको १० दिनमा हरियो तरकारीको मूल्यमा २४८ प्रतिशतसम्म वृद्धि भएको देखिन्छ । ।
असोज ५ गते थोक मूल्य प्रतिकिलो ३३ रुपैयाँ रहेको घिरौलाको मूल्य गएको १० दिनमा २४८ प्रतिशतले वृद्धि भई १ सय १५ रुपैयाँ पुगेको छ । तिते करेलाको मूल्यमा करीब १७४ प्रतिशतले वृद्धि भई प्रतिकिलो ४२ रुपैयाँबाट १ सय १५ रुपैयाँ कायम भएको छ ।
रायोको सागको मूल्य १११ प्रतिशतले बढी प्रतिकिलो ४५ बाट ९५ रुपैयाँ पुगेको छ । हरियो फर्सीको मूल्य ९४ प्रतिशतले बढ्दै प्रतिकिलो ३७ रुपैयाँबाट ७२ पुगेको छ । भिन्डीको मूल्य ७१ प्रतिशतले वृद्धि भई प्रतिकिलो ६७ बाट १ सय १५ रुपैयाँ पुगेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईका अनुसार यति बेला वर्षे तरकारीको सिजन सकिने समय भएकाले तरकारीको मूल्य आकाशिएको हो । वर्षाले गर्दा किसानको बारीमा लगाइएको तरकारी राम्रो फल्न सकेन र उत्पादन कम भएको छ । ‘दशैंसम्म तरकारीको मूल्य अझै बढ्ने देखिन्छ,’ उनले भने ।
हिउँदे तरकारी बजारमा आउन थालेपछि मात्र तरकारीको मूल्य घट्ने व्यापारीहरू बताउँछन् । यस वर्ष तरकारीको कम उत्पादन भएका कारण कालीमाटीमा तरकारी आपूर्ति हुने मुख्य जिल्लाहरू धादिङ, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, चितवनलगायत जिल्लाबाट अघिल्लो वर्षको यही अवधिको तुलनामा आधा परिमाणमा मात्र तरकारी आपूर्ति भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी संघका अध्यक्ष गीताप्रसाद आचार्यले बताए ।
नेपालको आन्तरिक बजारबाट कालीमाटीमा भित्रिने तरकारीको परिमाणमा करीब ४० प्रतिशतले घटेको छ । भारतबाट आयात हुने तरकारी पनि ८० प्रतिशत घटेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जानकारी दिएको छ । कालीमाटीमा हुने तरकारीको दैनिक आपूर्ति प्रभावित हुँदा मूल्य बढेको हो ।
यसअघि दैनिक ९ सय टनसम्म तरकारी आउने कालीमाटीमा आजभोलि दैनिक करीब ५ सय टन मात्र आउने गरेको कालीमाटी तरकारी बजार विकास समितिको दैनिक आयात विवरणले देखाएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।