Logo

इन्जिनियरको कमाई साढे ५ करोड



काठमाडौं, १६ असोज । जलस्रोत तथा सिंचाई विभागका सीडीई सुरेशकुमार शर्माले २५ वर्षको जागिरे जीवनमा साढे ५ करोड कमाएका छन् । उनले सार्वजनिक सेवामा रहँदा कमाएको ३ करोड ६ लाख अवैध देखिएको छ । शर्माले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानुनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति श्रीमती बबिता फुयाल शर्माको नाममा राखेको खुलेको छ ।

सीडीई शर्माले विभिन्न कार्यालय तथा आयोजनामा कार्यरत रहँदा अत्याधिक भ्रष्टाचार तथा अनियमतिता गरेको भन्दै उजूरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको थियो ।

शर्मा २०५२ माघ १८ गते देखि राप तृतीय श्रेणी इन्जिनियर सेवा सिभिल समूह, इरिगेशन उपसमूह पदमा अस्थायी नियुक्ति भएका थिए । २०५३ साउन ४ गते इन्जिनियर राप तृत्तिय पदमा स्थायी नियुक्त प्राप्त गरी निजामती सेवामा प्रवेश गरी हाल जलस्रोत तथा सिंचाई विभाग ललितपुरमा सीडीई पदमा कार्यरत रहेको देखिन आएको अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

शर्माले सार्वजनिक सेवाको पदमा प्रवेश गरेदेखि आर्थिक २०७६र०७७ सम्मको जाँच अवधिमा सिर्जित सम्पत्ति एवं खर्च तथा लगानीमा गरिएको कुल खर्च र सोही अवधिको आयव्ययको प्रवाह विवरण अनुसार जाँच अवधिमा स्रोत खुल्न आएको आर्जित वैधआय २ करोड ३५ लाख ३१ हजार मात्रै देखिएको छ ।

सोही अवधिमा निजले सिर्जना गरेका सम्पत्ति एवं खर्च तथा लगानीमा ५ करोड ४१ लाख ८६ हजार खर्च गरेको देखिएका छ। आयभन्दा बढी गरेको खर्च लगानी ३ करोड ६ लाख ५४ हजार बराबरको भागलाई वैध आयस्रोत पाइएन, आरोप पत्रमा उल्लेख छ ।

गैरकानुनी आर्जन गरेका सम्पत्ति अमिल्दो र अस्वाभाविक रुपमा, आफ्नो हैसियतभन्दा बढी रकमले आफू र श्रीमतीको नाममा जग्गा खरिद, घर निर्माण, विभिन्न बैंक तथा वित्तीय संस्थाहरु तथा कम्पनिका संस्थापक एवं साधारण शेयरहरु खरिद लगानी गरी खर्च गरेको देखिएको छ।

सीडीई शर्माविरुद्ध भ्रष्टाचार निवारण ऐन बमोजिम बिगो र सोबाट बढेबढाएको सम्पत्तिसमेत जफतरअसुल उपर गरी पाउन समेत मागदाबी लिइ विशेष अदालतमा मुद्दा दायर गरिएका छ ।

सीडीईकी पत्नी बबिताविरुद्ध जफत गर्ने प्रयोजनार्थ मात्र प्रतिवादी कायम गरी सम्पत्ति जफत गरिपाउन समेतको मागदाबी लिई विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।



प्रतिक्रिया दिनुहोस्