Logo

कोरोना संक्रमित ६ वर्षीय बालकको मृत्यु



विराटनगर, १६ असोज । मोरङको बूढीगंगा गाउँपालिका-२ टंकीसिनवारीमा रहेको विराट शिक्षण अस्पतालको आइसोलेशनमा उपचाररत कोरोना भाइरस संक्रमित ६ वर्षीय नाबालकको मृत्यु भएको छ। प्रदेश १ मा उपचाररत संक्रमितमध्ये नाबालकको मृत्यु भएको यो नै पहिलो घटना हो। धनुषाको जनकपुर उपमहानगरपालिका(२ घर भएका पासवान थरका नाबालकको उपचारका क्रममा बिहीबार दिउँसो ४ बजे मृत्यु भएको अस्पतालका आइसोलेश न इन्चार्ज सुनिल देवले जानकारी दिए।

उनका अनुसार नाबालकमा संक्रमण पुष्टि हुनुअघि मेनेन्जाइटिसको समस्या थियो। लामखुट्टेको टोकाइबाट हुने मेनेन्जाइटिसका कारण बेहोस भएका उनलाई असोज ६ गते विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा भर्ना गरिएको उनले बताए। ज्वरो आउने, बेहोस हुने र शरीर काप्ने समस्यासँगै अस्पताल भर्ना गरिएका उनको स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा ८ गते रिपोर्ट पोजेटिभ आएको देवले जानकारी दिए।

कोरोना पुष्टि भएपछि भोलिपल्ट ९ गते नाबालकलाई टंकीसिनवारीको विराट शिक्षण अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो। आइसोलेशनमा पुर्‍याउँदासम्म अत्याधिक ज्वरो र शरीर काप्ने समस्यासँगै नाबालक बेहोस अवस्थामै रहेको उनको भनाइ छ।

‘मेनेन्जाइटिससँगै कलिलो उमेरमा कोरोनाको संक्रमण पनि थपियो,’ देवले भने, ‘आइसोलेसनमा भर्ना गरेर उपचार थाल्दै बचाउन धेरै प्रयास गरिए पनि सम्भव भएन।’ उनका अनुसार कलिलो उमेरमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले एकै पटक दुईवटा जटिल रोगको संक्रमण भएका कारण ज्यान गएको हुन सक्छ। उनले लगभग १० दिनअघि बेहोस बनेका नाबालकको बेहोस अवस्थामै ज्यान गएको बताए।

मृतक नाबालको अभिभावकको आर्थिक अवस्था कमजोर रहेको अस्पतालले जनाएको छ। उनको उपचारमा आइसोलेशनकोबाहेक तीन लाख रुपैयाँ खर्च भएको थियो। आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा लागेको सबै खर्च छुट गर्दै शव व्यवस्थापनका लागि पठाइएको अस्पतालका प्रशासन प्रमुख सुधीरसिंह राठौरले जानकारी दिए।

नाबालकको मृत्युसँगै पछिल्लो २४ घण्टामा प्रदेश १ मा थप पाँच जना कोरोना भाइरसका संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा नाबालकबाहेक सुनसरीका दुई पुरुष, मोरङकी एक महिला र सप्तरीका एक पुरुष छन्। कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ का विभिन्न कोभिड अस्पतालमा उपचाररतमध्ये मृत्यु हुनेको संख्या हालसम्म ७६ पुगेको खबर आजको अन्नपुर्ण पोस्टले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्