Logo

विशाल ग्रुपको गोदाममा छापा, म्याद गुज्रिएका खाद्यवस्तुमा म्याद थप्दै बजारमा



काठमाडौं, १६ असोज । तत्कालीन अर्थमन्त्री युवराज खतिवडासँग सेटिङ गरेर विद्युतीय सवारी साधनमा भन्सार अचाक्ली बृद्धि र तेस्रो मुलुकबाट आयात हुने चक्लेटमा भन्सार घटाएर अर्बौ मुनाफा कमाउँदै आएका विशाल ग्रुपको गोदाममा छापा हानेर मिति सकिएका खाद्य सामग्री बरामद गरेको छ ।

विशाल ग्रुपले उड्नेमा चंगा, सुत्नेमा खाटबाहेक सबै सामग्री आयात गर्दै आएको छ । यस ग्रुपका अध्यक्ष अशोक अग्रवालको उच्च राजनीति तहमा सम्पर्क भएको हुँदा उनलाई जे गर्न पनि छुट छ । ०४८ सालभन्दा अगाडि धरानमा सानो व्यवसाय गर्दै आएको यो ग्रुप अहिले नेपालकै सबैभन्दा ठूलो नवधनाढयमा चिनिन्छ ।

बैंक, हाइड्रो, शेयर बजारदेखि लिएर गाडी समेत यस ग्रुपले आयात गर्दै आएको छ । यसै ग्रुपको दबावमा तत्कालीन पर्यटनमन्त्री हिसिला यमीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्रको ‘ड्युटी फ्रि’ पसल बन्द गराएर विशाल गु्रपको एकलौटी व्यापारलाई सघाएको थियो । जुनसुकै पार्टीको सरकार आएपनि यस ग्रुपलाई सहयोग गर्दै आएका छन् । हरेक पार्टीलाई करोडौँ चन्दा दिएकै कारण यस गु्रप छोटो समयमै नवधनाढय बन्न सफल भएको हो ।

उनै नवधनाढयको विशाल ग्रुपले आयात गर्ने चकलेट, बिस्कुट, आलु चिप्स जस्ता खाद्य वस्तु म्याद सकिएपनि पुनः नयाँ म्याद राखेर बजारमा पठाउने गरेको भेटिएको छ । बिहीबार महानगरीय प्रहरी अपराध महाशाखा नयाँ बानेश्वर र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरेको संयुक्त अप्रेशनमा यस्तो अपराध खुलेको हो । म्याद सकिएको खाद्य वस्तुमा पुनः उपभोग्य मिति राख्दै गरेको अवस्थामा मेशिनसहित बिहीबार विभागले ९ जनालाई रंगेहात पक्राउ गरेको थियो । पक्राउ परेकाहरुमा आयन इन्टरनेश्नल नामक वितरक समूहका प्रमुख बताउने रोशन बात्रासहित नयाँ म्याद टाँस्ने काममा संलग्न कर्मचारीहरु छन् ।

स्नेकर्स चकलेट, ओरियो बिस्कुट, प्रिङ्गल्स चिप्ससहित बजारमा नियमित प्रयोगमा रहेका आधा दर्जन खाद्य वस्तुमा म्याद सकिएपछि पनि पुनः नयाँ म्याद राखेर बजार पठाउने गरेको भेटिएको वाणिज्य विभागले जनाएको छ ।

छापा मार्नेक्रममा आयन इन्टरनेशनलका सञ्चालक पुष्पादेवी अग्रवाल रहेको र उनका दुई जना छोराहरुले व्यापार सम्हालिरहेको पाइएको जनाइएको छ । पक्राउ परेकालाई महानगरीय प्रहरी प्रभाग दरबारमार्गमा राखेर अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका ९ जनामध्ये बात्रा भारत राजस्थानका नागरिक हुन् भने अन्य नेपाली कामदारहरु रहेको विभागले जनाएको छ ।

यस्तै, बजारमा छ्यापछ्याप्ती पाइने स्नेकर्स चकलेट, प्रिङ्गल्स चिप्स र ट्याङ जुसमा धमाधम नयाँ म्याद टाँस्दै गरेको भेटिएको थियो । खाद्य कानुन अनुसार म्याद सकिएको वस्तु आयातकर्ताले बजारबाट फिर्ता मगाएर नष्ट गर्नुपर्छ । ठूलो परिमाणमा खान अयोग्य यस्ता वस्तु भेटिएपछि बजारमा गएका स्नेकर्स चकलेट, प्रिङ्गल्स चिप्स र ट्याङ जुसको गुणस्तरमा पनि प्रश्न उठेको भन्दै विभागले चिन्ता व्यक्त गरेको छ ।

आयन डिष्ट्रिब्युटर लोकल वितरक रहेको र उसले सबैखाले खाद्य वस्तु तथा सामाग्री विशाल समूहको युनाइटेड डिष्ट्रिब्युटर र अर्को एक वितरक लाइफ केयर इन्टरनेशनलबाट खरिद गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको विभागले जनाएको छ ।

स्नेकर्स, ओरियो बिस्कुट, हर्लिक्स, मार्स चकलेट, किल्डे, बण्टी तथा मिल्की र प्रिङ्गल्सको नेपाल आयातकर्ता विशाल समूह रहेको र यसको भगिनी संस्था युनाइटेड डिष्ट्रिब्यूटरले बजारमा यी सामान फैलाउने काम गर्ने गरेको अनुसन्धानमा देखिएको स्रोतले बतायो । ‘म्याद गुज्रेर नष्ट गर्नु पर्ने वस्तु आयानले रि–लेबलिङ गरेको र आयनले उक्त वस्तु युनाइटेडमार्फत किनेको देखिएकाले अनुसन्धानको सुई विशाल समूहतर्फ घुमेको छ,’ विभागका उच्च एक अधिकारीले भने ।

करिब एक करोड रुपैयाँभन्दा धेरै मूल्यका त्यस्ता वस्तुहरुसहितको गोदाम सिल गरिएको र थप अनुसन्धान अघि बढाइएको विभागले जनाएको छ । गोदाममा युनिलिभरका उत्पादनहरु रिलेबलिङ गरेको भेटिएको विभागले जनाएको छ ।-दृष्टिबाट



प्रतिक्रिया दिनुहोस्