Logo

‘जनस्वास्थ्यका मापदण्डहरू अनुशरण गर्न असफल हुँदा संक्रमण बढ्यो’–डा. पुन



शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले जनस्वास्थ्यका मापदण्ड पूरा नगर्दा पछिल्लो समय कोरोना संक्रमणको संख्या ह्वात्तै बढेको बताएका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. पुनले यस्तो बताएका हुन् । उनले भनेका छन्,‘एकदमै । यसको ठाउँमा भनेको पनि होला । यो जुन सामाजिक दूरीदेखि लिएर व्यक्तिगत दूरी भनौँ, मास्क लगाउनेदेखि लिएर विभिन्न मापदण्डहरू अनुशरण गर्न असफल पनि भएको हो ।’ प्रस्तुत छ डा. पुनसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश:

एकै दिन हिजो २७ सयभन्दा बढीलाई संक्रमण भयो । के कारणले ?

यसको नतिजा हेर्नको लागि लकडाउनपछिको परिस्थितिलाई सम्झनुपर्ने हुन्छ । जुनबेलामा मैले लगायत अरूले पनि भनेका थिए होलान्, संक्रमण हाम्रो काठमाडौँमा जुन तरिकाले आईरहेको छ, त्यसको अहिले जुन देखिरहेको छौँ, त्यसैको नतिजा हो भन्ने मलाई लाग्छ ।

के कारणले बढ्यो ? संक्रमण तीव्र हुनुको कारण तपाईँहरूले पनि व्याख्या गर्नुभयो होला ?

एकदमै । यसको ठाउँमा भनेको पनि होला । यो जुन सामाजिक दूरीदेखि लिएर व्यक्तिगत दूरी भनौँ, मास्क लगाउनेदेखि लिएर विभिन्न मापदण्डहरू अनुशरण गर्न असफल पनि भएको हो ।

त्यसो भए हामी असफल भयौँ, होईन ?

यसमा हामीले त्योखालको भन्न सक्छौँ । किनभने पहिलो लकडाउनदेखि पहिलोचोटी यो समुदायमा हरेक ठाउँमा पुग्नसक्ने मानिसहरू देखियो । त्योलगत्तै निषेधाज्ञा पनि लगायो । त्यो गर्दाखेरि मेरो अनुमानमा त्यसपछि घर–घरमा पुग्यो । अहिले तपाईँ हामीले हेर्ने हो भने मसँग जति पनि सम्पर्कमा हुनुहुन्छ, परिवारमा गोलचक्र बनाईरहेका छन् या भनोँ कार्यालयमा समकक्षीहरूसँग संक्रमणहरू फैल्याईरहेको अवस्था छ । बाहिरको जुन बजारको कुरा त अब छोडिदिऔँ । किनभने मास्क लगाए पनि सही तरिकाले नलगाएको अवस्था यहाँ देखियो नै । सँगसँगै अहिले जुन यो तरिकाले कोरोना संक्रमण यसलाई पनि अलि फरक ढंगले विश्लेषण गरिरहेको छु । त्यो भनेको कसरी भन्दाखेरि अब यो कोरोना संक्रमण हाँछ्यु गर्दा सर्ने भनेर जुन भनिएको छ, भन्छौँ, हामीले, कुरा त्यो हो पनि । अहिले त्यो प्रत्यक्ष सम्पर्कबाट भन्दा पनि अप्रत्यक्ष सम्पर्कबाट बढि सर्छ कि भन्ने मलाई लाग्छ । जस्तो उदाहरणको लागि कोही व्यक्ति सिधै आएर खोक्ने, हाँछ्यु गर्ने गर्छ भने सामान्यत ः प्रत्यक्ष भन्छन्, त्यसलाई । तर, तपाईँ, हामीले याद गरौँ, भोलि जो कोही पनि हाम्रो अगाडि खोक्ने त्यस्तो खालको मान्छेहरू देखिँदैन प्राय तर संक्रमण त सरि नै रहेको छ । सरिरहेको के हुन्छ भनेर मैले विश्लेषण गर्दा मलाई जहाँसम्म लाग्छ, केही समय अगाडिको अन्तर्वार्तामा स्वास्थ्यमन्त्रालयको सर्भे गरिएको थियो भने काठमाडौँमा नै ५० प्रतिशतको हाराहारीमा हात, साबुनपानीले सही तरिकाले नधुने भन्ने कुरा मैले तपाईँकै कार्यक्रममा सुनेको थिएँ ।

यही कार्यक्रममा डा. खेम कार्कीले अन्तर्वार्तामा भन्नुभएको थियो, नेपाली बहसमा ।

मेरो तलदेखिको विश्लेषण थियो । हाम्रो अगाडि अहिले कोही ठुलो ठुलो स्वरले खोकेको अवस्था छैन । किनभने अहिले त्यो देख्नेबित्तिकै सबैले ठुलो ठुलो आँखाले तर्छन् नै । कहाँ, यो कोरोना नै लागेको छ कि भनेर भन्छन् । त्यो नभएपछि कसरी सर्छ भन्ने छ । मेरो एउटा विश्लेषण के छ भने अब म सिधै तोकेर त भन्दिनँ । विश्लेषण त स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन अनुसार प्रत्यक्ष खोकिरहेको अवस्थामा हामीहरूको अगाडि, पछाडि नहुने अथवा कम हुने भएको हुनाले यो कतै हाम्रो हात नधुने बानी अथवा हातले कतै छोएपछि नाक, मुख, आँखामा लगेर हो कि ? किनभने घरभित्र पनि कसैले खोकेर सारेको भन्ने थाहा छैन, त्यहाँ पनि । यसरी एउटा साईलेन्ट रूपमा अदृश्य अवस्थामा एक अर्कामा सरिरहेको जस्तो मलाई लाग्छ । त्यसैकारणले जनस्वास्थ्यको मापदण्ड अनुसार एउटा हात धुने पनि पर्दछ । मास्क अझै पनि सही तरिकाले लगाएको देखिँदैन तर कही कतै नाक, मुखतिर झुण्ड्याउने कोशिस गरिएको हो कि जस्तो मलाई लाग्छ । त्यो सही तरिकाले नलगाउँदाखेरि लगाउनु र नलगाउनुको कुनै अर्थ रहँदैन । दूरीको त पक्कै पनि तपाईँ, हामीले देखेका छौँ । अस्पतालमा नै लाईन बस्दाखेरि हामीले देखेका छौँ, दूरी त कता हो कता ? त्यो पनि पालना भएको देखिँदैन । बाध्यताले या थाहा पाएर या थाहा नपाएर, यो विभिन्न कारणले गर्दा हामी धेरै पछाडि परेका छौँ ।

अब कसरी जाने त ? संक्रमण त बढेको बढेकै छ । अब रेकर्ड तोड्यो हिजो । अब देशभरि फैलिन सक्ने सम्भावना छ कि छैन ?

एकदमै छ । मैले अब हाम्रो प्राथमिकता भनेको वृद्धवृद्धा जुन तरिकाले घरसम्म पुगिरहेको छ, त्यो एउटा चुनौती छ जस्तो लाग्छ । अब यसमा दुईमत रहेन । यो अझ निरन्तर चलिराख्छ । यो मलाई अलिकति चिन्ता लागेको भनेको पहिला हाम्रो भारत खुल्ला सिमाना छेउछाउमा हाम्रो जुन जिल्लाहरू थिए, त्यहाँ आयो । त्यसपछि लकडाउन खुल्नेबित्तिकै त्यहाँबाट यता आए । त्यो बेलाको नतिजा निरन्तर चलिरहेको छ । अहिले तपाईँ, हामीले पहिले अलि कम सुनेको ठाउँ भनेको गाउँ, घर, पहाडतिर हो । अब यो नजिकिँदै गरेको चाडपर्व छ, दशैँमा धेरैजना जम्मा भएर रमाइलो गर्ने र तास खेल्ने गरिन्छ । यो भनेको झन् मानिसहरू जम्मा हुने ठाउँ हो । यो टिका लगाउनेदेखि होस् कि सँगै बस्ने होस् । अब अहिले यो जुन संक्रमण काठमाडौँमा फैलिएको छ, मलाई लाग्छ अहिले पनि ५० प्रतिशतको हाराहारीमा लक्षण विभिन्न अवस्थामा छन् । लक्षण भएकाहरूलाई त डराएर पहिला यो ठिक होस्, त्यसपछि उता जाऔला भन्ने होला तर हेर्दाखेरि सामान्य देखिन्छ, ठिकै देखिन्छ, ती व्यक्तिहरू गाउँगाउँ, पहाड, पहाड जाने भए । पहिला नदेखिएको तर अहिले देखिने सम्भावना हुने जरुरी त छैन । कस्तो मान्छे जान्छ भन्दाखेरि लक्षणविहीन भएका मान्छेहरू जानसक्ने भए भने अर्को बाटोमा बसहरूमा जाँदाजाँदै एक अर्कासँग कुराकानी गर्ने, किनभने हाम्रो नेपालको चलन कहाँ हो ? के हो ? भनेर कुराकानी गर्ने खालको पनि छ । या त यतैबाट लक्षणविहीन अवस्थामा बाटोमा संक्रमण हुन जनस्वास्थ्यका मापदण्डहरू अपनाउने धेरै कम हुन्छ जस्तो मलाई लाग्छ । यसरी बाटोमा जाँदा र लक्षण नभएको अवस्थामा त्यहाँ पुग्न सक्ने सम्भावना र गाउँघरको विशेष गरेर पूजापाठहरू हुने, धेरैपछि घर आएको भनेर भेटघाट हुने, यस्तो कुराहरूले गर्दा जोखिम त्यहाँ देखिन्छ । त्यसैले त्यतातिर कतै देखियो भने म कुनै अचम्मित हुने कुरा छैन ।



प्रतिक्रिया दिनुहोस्