Logo

कोरोनाले कसैलाई छोडेन : यि हुन् संक्रमित ठूला मान्छे



असोज १७, एजेन्सी । कोरोनाले न ठुलो न सानो व्यक्ति भन्छ । वा न धनी न गरिब । स्वास्थ्य सतर्कतामा हेलचेक्र्याई गरियो भने जोकोहीलाई संक्रमण हुन सक्छ । विश्वभर ३ करोडभन्दा धेरै मानिसमा संक्रमण भइसकेको छ । तिमध्ये केही व्यक्तिहरु विभिन्न देशका सरकार वा राष्ट्रप्रमुख पनि छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनकी श्रीमती कोरोना भाइरसबाट सङ्क्रमित भए । योसँगै कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेताहरूको सूचीमा ट्रम्प पनि परेका छन् । यसअघि अन्य केही देशका राष्ट्र तथा सरकार प्रमुखहरू पनि कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसन कोरोना भाइरसबाट सङ्क्रमित हुने विश्व नेताहरूमध्ये पहिलो हुन् । उनलाई गत अप्रिलमा सङ्क्रमित भएपछि आइसियुमै राख्नुपरेको थियो । उनलाई अस्पतालमा भर्ना गरेर आक्सिजन नै दिनुपरेको थियो । अहिले उनी निको भइसके ।

ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलाई गत जुलाईमा कोरोना भाइरसको सङ्क्रमण भएको थियो । उनले सामाजिक दुरी काम गर्ने, माक्सको प्रयोग गर्नेलगायत मान्यतालाई बेवास्ता गर्ने गरेका थिए । उनी लकडाउन विरोधी नेताका रुपमा पनि चिनिन्छन् । उनीको श्रीमती पनि सङ्क्रमित भएकी थिइन् । होन्डुरसका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेजलाई गत जुन महिनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । राष्ट्रपति हर्नान्डेजसँगै उनकी आफ्नी श्रीमती र दुई जना सहयोगीमा पनि संक्रमण देखिएको थियो ।

कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व नेताहरूको सूचीमा गुटेमालाका राष्ट्रपति एजेन्ड्रो गियामाते पनि हुन् । उनीलाई गत सेप्टेम्बरमा सङ्क्रमण पुष्टि भएको थियो । बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन अनेज पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । उनीलाई गत जुलाईमा सङ्क्रमण भएको हो । सङ्क्रमित भएपछि उनी आइसोलेशनमा बस्नुपरेको थियो ।

गणतन्त्र मोमिनिकाका नवनिर्वाचित राष्ट्रपति लुइस अबिनाडेर जुलाईमा कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । कोरोना भाइरसको महामारीको मध्यपूर्वको केन्द्रविन्दु बनेको इरानका पनि उपराष्ट्रपति र मन्त्रीहरू कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए । देशका बरिष्ठ उपराष्ट्रपति इशाक जाहानगिरि र उपराष्ट्रपति मस्सौमेह इब्तेकरमा कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको थियो । त्यस बाहेक मन्त्रिपरिषद्का अन्य सदस्यहरू पनि सङ्क्रमित भएका थिए ।

यीबाहेक रूसका प्रधानमन्त्री मिखाइल मिसुस्तिन, आर्मिनियाका प्रधानमन्त्री निकोल पसिनयान, बेलायतका राजकुमार चाल्र्सलाई पनि कोरोनाको सङ्क्रमण पुष्टि भएको थियो । त्यसैगरी धेरै देशका सरकार तथा राष्ट्र प्रमुखका श्रीमती तथा परिवारजन र धेरै देशका मन्त्रीसहितका उच्च अधिकारीहरू पनि कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्