काठमाडौं, असोज १८ । अस्ट्रेलियाको एक व्यावसायिक घरानाले नेपालमा ५ सय मेगावाटको जलविद्युत् आयोजना निर्माण प्रस्ताव गरेको छ । अस्ट्रेलियाको फोर्टेस्क्यू मेटल ग्रुपले नेपालमा उक्त मेगावाटको विद्युत् उत्पादन गरेर खपत व्यवस्थापनसमेत आफैं गर्ने प्रस्ताव सरकारसमक्ष पेस गरेका हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले उक्त कम्पनीबाट ५ सय मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव आएको जानकारी दिए । यस बिषयमा दुई साताअघि मन्त्रालय र कम्पनीका प्रतिनिधिबीच भर्चुअल छलफलसमेत भइसकेको उनको भनाइ छ ।
फोर्टेस्क्यू मेटलले सकेसम्म एउटै आयोजनाको क्षमता ५ सय मेगावाटको हुने गरी निर्माण गर्ने प्रस्ताव गरेको हो । नेपालमा अन्य उद्योगहरू स्थापना गरेर उक्त विद्युत् पनि आफैंले खपत गर्ने प्रस्ताव उक्त कम्पनीले गरेको मन्त्री पुनले बताए ।
यसका लागि उक्त कम्पनीको विशेष टोली आगामी साता अर्थात् असोज २६ मा नेपाल आउन लागेको छ ।
कम्पनीका अध्यक्ष एन्ड्रीउ फरेस्ट नेतृत्वको २३ सदस्यीय टोली नेपाल आउन लागेका हो । उक्त टोली आएपछि यस बिषयमा थप छलफल तथा प्रक्रिया अगाडि बढाइने मन्त्रालयको भनाइ छ ।
‘उक्त टोली नेपाल आएपछि हामीले विभिन्न सम्भावित आयोजनाहरू अवगत गराउनेछौं । सम्बन्धित नीतिगत, कानुनी र प्रक्रियागत व्यवस्थाबारे पनि कम्पनीलाई जानकारी दिनेछौं,’ मन्त्री पुनले भने ।
३ दिनको बसाइमा आउने उक्त टोलीले आयोजना निर्माणका लागि आवश्यक कानुनी, नीतिगत र प्रक्रियागत विषयमा पनि सरकारसँग सम्झौता गर्ने आजको आर्थिक अभियान दैनिकमा खवर छ ।