काठमाडौं, असोज १८ । भारतीय राजदूतावासले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लालाई एम्बुलेन्स उपलब्ध गराएको छ।१५१औँ गान्धी जयन्तीका अवसरमा राजदूतावासले करिब रु ६८ लाख २४ हजार मूल्य बराबरको आधुनिक प्रविधियुक्त एम्बुलेन्स शिक्षण अस्पताललाई उपहार दिएको हो। राजदूतावासले नेपाल सरकारलाई अनुदानमा दिएका तीन अत्याधुनिक सेवासहितका एम्बुलेन्समध्ये एक कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रदान गरेको हो।
राजदूतावासले यो वर्ष पहिलोपटक नेपाललाई तीन प्रकारका एड्भान्स, बेसिक र कमन लाइफ सपोर्ट श्रेणीका एम्बुलेन्स प्रदान गरेको छ। दूतावासका अनुसार तीनै प्रकारका एम्बुलेन्स नेपाल सरकारको मापदण्डअनुसार निर्माण गरिएका छन्। सुविधासम्पन्न एम्बुलेन्सका लागि दूतावाससँग लामो समयदेखि भइरहेको मागपश्चात दूतावासले अत्याधुनिक सेवासहित एम्बुलेन्स प्रदान गरेको प्रतिष्ठानका अस्पताल निर्देशक डा मङ्गल रावलले बताए। एम्बुलेन्स प्राप्त भएसँगै बिरामीको उद्धारमा थप खटिन सजिलो हुने उनको भनाइ छ। रासस