नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश नम्बर-५, प्रमुख सचेतक भूमिश्वर ढकालले राजधानी तोकिने विषयमा आफ्नो पार्टीभित्र विवाद नभएको बरु कांग्रेसमा विवाद भएको टिप्पणी गरेका छन् । आज विहा नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । यो विषयमा पार्टीका केन्द्रीय महासचिव विष्णु प्रसाद पौडेल किन मौन बस्नुभयो ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने,‘ यो विषयमा कमरेड विष्णु पौडेललाई हामी जोड्न चाहँदैनौँ । विष्णु पौडेलभन्दा पनि यो विषय प्रदेशसभाको भएको हुनाले प्रदेश सभाभित्रका हामी माननीयहरूले छलफल गरेका छौँ । यसमा पार्टीले जुन धारणा, दृष्टिकोण बनाएको छ, त्यसमा प्रदेश सभाभित्रका नेकपाका सबै माननीय सदस्यहरू हामी एक ठाउँमा उभिन्छौँ । एक ढंगले अगाडि बढ्छौँ ।’ प्रस्तुत छ प्रमुख सचेतक ढकालसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
तपाईँहरूले अप्रजातान्त्रिक प्रक्रिया अपनाउनुभयो नि, प्रदेशको नाम राख्दाखेरि, राजधानी तोक्दाखेरि ? किन लोकतान्त्रिक मूल्य र माननीयतालाई आत्मसात गर्न चाहनुभएन ? आन्तरिक छलफल गर्नुपर्दैन, संसदीय दलमा ?
यो विषयमा हिजो मात्र संसदीय दलको बैठक सम्पन्न भएको छ । संसदीय दलको बैठकमा हाम्रो संसदीय दलको ईतिहासमा सबैभन्दा धेरै समय लिएर माननीय सदस्यहरूलाई सबैभन्दा धेरै बोल्न दिएर विचार, अभिमतहरू राख्ने अवसर प्रदान गरेर हामीले छलफल गरेका छौँ ।
तपाईँहरूले त नाम, राजधानी तोकिसकेपछि बैठक राख्नुभयो नि त । तपाईँहरूले पहिल्यै कुराकानी गर्नुपर्ने थिएन, पार्टीभित्र ? आन्तरिक द्वन्द्व, विवाद छ भनेर तपाईँलाई थाहा थिएन ?
यो भन्दा पहिला पनि राजधानीको नामको विषयमा धेरैपटक हामीले छलफल गरिसकेका छौँ । धेरैचोटि यो विषयमा हामीबीच छलफल, विचार र विमर्श भएको छ । अहिले सरकारले प्रस्ताव पेश गरिसकेपछि हामीले स्वभाविक रूपमा दलको बैठक बस्नुपर्ने, छलफल गर्नुपर्ने र त्यसप्रति एउटा साझा निष्कर्ष निकाल्नुपर्ने हो, त्यस सन्दर्भमा हिजो बैठक आयोजना गरिएको हो ।
तपाईँकै पार्टीका कतिपय नेताहरूले हामी मान्दैनौँ भनेका छन्, पार्टीको ह्विप नमान्ने घोषणा गर्नुभएको छ । १४ जना सांसदहरूले लेखिसके असहमतिपत्र !
उहाँहरू पार्टीको आदरणीय नेताहरू हुनुहुन्छ । उहाँहरूको लामो ईतिहास छ । उहाँहरूले कहिल्यै पनि पार्टीको निर्णय, नीतिको विरुद्धमा जानुभएको छैन । यसको निम्ति मलाई लाग्छ, एक त उहाँहरूले यस्तो भन्नुभएको छैन ।
भनिसक्नुभयो, अहिले भर्खरै नेपाली बहसमा । उहाँहरूको असहमति आईसक्यो । तपाईले सून्नुभएन ?
पार्टी, संसदीय दलभित्र कम्युनिष्ट पार्टीमा फरक मत लेख्ने, भावना र विचार राख्न पाईन्छ । तर, अहिलेसम्मको ईतिहासमा हामीकहाँ के छ भने हाम्रो प्रदेश नम्बर–५ मा दलभित्र पार्टीको निर्णयविरुद्धमा जाने संस्कार छैन ।
होइन, यदि गए भने के हुन्छ ? किनभने अहिलेको अवस्थामा नेताहरूको बीचमा विमत्ति पनि छ । विष्णु पौडेलले कुनै प्रतिक्रिया दिनुभएको छैन । उहाँ मौन हुनुहुन्छ नि, किन ?
यो विषयमा कमरेड विष्णु पौडेललाई हामी जोड्न चाहँदैनौँ । विष्णु पौडेलभन्दा पनि यो विषय प्रदेशसभाको भएको हुनाले प्रदेश सभाभित्रका हामी माननीयहरूले छलफल गरेका छौँ । यसमा पार्टीले जुन धारणा, दृष्टिकोण बनाएको छ, त्यसमा प्रदेश सभाभित्रका नेकपाका सबै माननीय सदस्यहरू हामी एक ठाउँमा उभिन्छौँ । एक ढंगले अगाडि बढ्छौँ ।
होइन तपाईँहरू एक ठाउँ उभिन सक्नुहुन्छ ? छापामार शैलीमा आयो अरे ! प्रस्ताव । किन त्यस्तो गर्नुभयो ?
सक्छौँ । भोलिदेखि प्रदेशसभामा यो विषयमा छलफल हुन्छ । नेकपाका सबै सांसदहरू पार्टीले गरेको निर्णयको पक्षमा एक ढिक्का भएर हामी उभिनेछौँ, माननीयहरू उभिनुहुनेछ ।
त्यसो भए तपाईँहरूसँग दुईतिहाई मत छ अब ? कांग्रेसले साथ नदिँदा पनि पारित हुन्छ ?
एउटा कुरा त कांग्रेसभित्र पनि विवाद छ । कांग्रेसभित्र पनि एकता छैन । कांग्रेसभित्र पनि के छ भने राजधानीको सन्दर्भमा विभाजन छ । बरु नेकपाभित्र होइन, कांग्रेसभित्र यो राजधानीको सन्दर्भमा विवाद छ र भोलि क्रस हुने सम्भावना छ । यो विषयमा सर्वसम्मत छ । नेकपाका सबै सांसदहरू सरकारले प्रस्ताव गरेको पक्षमा हामी उभिन्छौँ । यसको रिजल्ट कुर्नको निम्ति धेरै समय छैन । दुई दिनपछि तपाईँले रिजल्ट देख्न सक्नुहुनेछ ।
बुटवलका मुख्य–मुख्य चोकहरूमा आन्दोलन छ । स्थिति के छ ?
आन्दोलनको नाममा यस्ता गतिविधिहरू भईरहेका छन् । माननीय सदस्यहरू चढेका गाडीहरू तोडफोड गर्ने कुरा, माननीय सदस्यहरूलाई सदनमा प्रवेश गर्न दिँदैनौँ भनेर जुन प्रचार भईरहेका छन्, ती सदस्यहरूलाई हामी बाटोबाट छेक्छौँ, रोक्छौँ, अपहरण गर्छौँ भन्ने जुन खालको शैलीहरू बाहिर आएका छन्, त्यो कामले आज बुटवलवासी आतंकित भएका छन् । त्यसैले आज बुटवलमा निषेधाज्ञा जारी गरिएको छ ।
त्यसोभए तपाईँहरू कफ्र्यु लगाएर पनि पारित गर्नुहुन्छ, प्रस्ताव ? शीर्ष नेताहरूको कुरा मान्नुहुन्छ तपाईँहरू, जनताको कुरा मान्नुहुँदैन ? प्रधानमन्त्री के.पी. शर्मा ओली र प्रचण्डको निर्णय नै तपाईँहरूको आधिकारी निर्णय हो, होइन ?
नेकपा कफ्र्यु लगाएर यो विषयलाई अगाडि लैजान चाहँदैन । नेकपा प्रजातान्त्रिक विधि र छलफलबाट यो विषयलाई टुंग्याउन चाहन्छ । आज पनि हामीले प्रदेशको सर्वदलीय बैठक आयोजना गरेका छौँ । सर्वदलीय सहमति गरेर हामीले नेकपाभित्रको सहमति होइन, हामीले प्रदेशसभाभित्रको एकता कायम गर्न चाहन्छौँ तर बाहिर जुन खालका गतिविधिहरू भईरहेका छन्, ती गतिविधिहरूले आज बुटवलवासीहरू चिन्तित छन् । उनीहरू आज दुःखित छन् । एउटा आन्दोलनको नाममा, अर्को के छ भने राजधानीलाई ईस्यु बनाएर आज जे गतिविधिहरू भईरहेका छन्, शान्ति सुरक्षामा अत्यन्तै अवरोध सिर्जना गरेका छन्, यो कारणले आज निषेधाज्ञा जारी गरिएको हो । हामीले निषेधज्ञा लगाएर यो पास गर्न खोजेको होइन ।
तपाईँहरूमाथि नेपाली कांग्रेसका नेताहरूको प्रतिक्रियाहरू पनि छन् । दम्भ देखाउनुभयो अरे ! तपाईँहरूले दुईतिहाई मतको ! छलफल गर्नुभएन रे !
हाम्रो प्रदेशभित्रको कुरा गर्ने हो भने हाम्रो प्रदेशभित्र अहिलेसम्म पक्ष, प्रतिपक्ष कुनै भएको छैन । अरू सबै प्रदेशमा भन्दा एकदमै राम्रो छ । हामीले सबै पार्टीहरूलाई साथमा लिएर, सबै पार्टीहरूसँग सरसल्लाह गरेर जाने संस्कारको विकास गरेका छौँ । यसरी संस्कार र विधिलाई अगाडि बढाउनका निम्ति हामीले सर्वदलीय बैठकको आयोजना गरेका छौँ । सहमति कायम गरेर अगाडि जानको निम्ति हामीले प्रयत्न गरेका छौँ ।
सहमति चाहिन्छ, सहमतिको विकल्प छैन तर पनि बुटवलमा बसेर तपाईँले बुटवलकै विपक्षमा निर्णय गर्न मिल्छ ? बुटवलवासीको मनमा
तपाईँहरूले किन यस्तो किसिमको सन्देश दिनुभयो ? किन विपक्षमा उभिनुभयो तपाईँहरू ?
सामान्यतया के छ भने हामीले समग्र प्रदेशको विकास, समग्र प्रदेशको जनताको भावना, ईच्छा र चाहनालाई पनि हामीले हेर्नुपर्ने हुन्छ । स्वभाविक रूपमा हामी बुटवलबाट निर्वाचित भएको जनप्रतिनिधि भएको कारणले हामीले बुटवललाई हेर्न जरुरी छ, सँगसँगै के छ भने आज प्रदेश सरकारे दायित्व बाँके, बर्दिया, रुकुम, रोल्पाका जनताको पनि भावना सरकारले बुझ्नुपर्छ । सबैको साझा मनोभावना, ईच्छा, आकांक्षालाई समेटेर नै प्रदेश सरकारले ये गरेको हो । हामीले त्यसो गर्दाखेरि बुटवललाई बिर्सेका छैनौँ । यहाँको विकास निर्माण, समृद्धिलाई हामीले बिर्सेका छैनौँ ऋषिजी ।
के कारणले बुटवल अयोग्य हो ?
बुटवल अयोग्य भनेर प्रदेश सरकारले भनेको छैन नि ।
तर आज अस्थायी राजधानी तपाईँहरूले बुटवललाई बनाउनुभयो । सबै संरचना बन्यो, अहिले आएर दाङको देउखुरी आउँदाखेरि धेरै खर्च हुन्छ, अरबौँ रूपैयाँ ।
स्वभाविक रूपमा के छ भने हाम्रो चाहना के छ भने हामीले प्रदेश नम्बर ५ मा नयाँ सिटी बसाउन खोजेको हो । आज नेपालका सातैओटा प्रदेशमध्ये हामीले नेपालकै उत्कृष्ट शहर बनाउने भनेर नदीको किनार, एउटा नदीको ईतिहास बोकेको किनार, प्रदेशका १२ ओटै जिल्लालाई पायक पर्ने, १२ ओटै जिल्लाको भावना समेट्न सकिने कारणले प्रदेश सरकारले यो प्रस्ताव ल्याएको छ । स्वभाविक रूपमा के छ भने नयाँ सिटी, बजार, संरचना बनाउँदाखेरि खर्च त भई नै हाल्छ ।
के कारणले भालुवाङलाई तपाईँहरूले ठिक भनिरहनुभएको छ ? प्रतिवेदनले पनि त भालुवाङलाई सिफारिस गरेको छैन नि ?
अध्ययन प्रतिवेदनमा के छ भने प्रदेशसभाले गठन गरेको प्रतिवेदनले सबै जनताको भावना समेट्ने सन्दर्भमा प्रदेशको साझा मनोभावना हुनेगरी प्रदेशका सबै जिल्लाहरूको सबै जनताका प्रतिनिधिहरूको सबै जनताको पायक पर्ने ठाउँमा प्रदेश राजधानी बनाईनुपर्छ भनेर सुझावहरू आएका छन् । त्यो सुझावलाई टेकेर आज प्रदेश सरकारले यो निर्णय प्रदेशसभामा प्रस्तुत गरेको छ । Photo Source: Social Media